१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
समाज

बन्चरेडाँडामा फोहोर फाल्न नदिने घोषणा

जिउधनको रक्षा र माग पूरा गर्ने ग्यारेन्टी भए मात्रै फोहोर फाल्न दिन्छौंः श्रीराम ढुंगाना, बञ्चरेडाँडा ल्यान्डफिल सरोकार समिति

भदौ १ बाट फोहोर फाल्न नदिने विषयमा जानकारी छैनः सुमन तामाङ, अध्यक्ष, ककनी गाउँपालिका

सरकारले आफ्ना वाचा पूरा नगरेको भन्दै नुवाकोटको सिसडोल–बञ्चरेडाँडा ल्यान्डफिल साइटमा अब काठमाडौं उपत्यकाको फोहोर फाल्न नदिने घोषणा त्यस क्षेत्रका सरोकारवालाले गरेका छन्।

काठमाडौंमा बिहीबार पत्रकार सम्मलेन गर्दै बञ्चरेडाँडा ल्यान्डफिल साइट सरोकार समितिले भदौ १ देखि सधैंका लागि उपत्यकाको फोहोर त्यहाँ फाल्ने नदिने घोषणा गरेको हो। ‘सरकार विगतमा आफूले गरेका बाचाबाट चुकेका कारण काठमाडौं र बञ्चरेडाँडबीचको फोहोरको कनेक्सन भदौ १ गतेबाट सधैंका लागि टुट्नेछ,’ सरोकार समितिका संयोजक श्रीराम ढुंगानाले भने, ‘गत जेठ २७ गते भएको सहमति पालनातर्फ सरकार अघि नबढेका कारण हामी यस्तो निर्णयमा पुग्न बाध्य भएका छौं।’

ल्यान्डफिल साइट रहेको नुवाकोटको ककनी गाउँपालिकाका अध्यक्ष सुमन तामाङ भने पत्रकार सम्मेलनमार्फत गरिएको उक्त घोषणा आफूले मिडियाबाट सुनेको बताउँछन्। ‘फोहोरमा केही राजनीति र केही महानगरको ढिलासुस्तीले समस्या त आएकै हो,’ उनले भने, ‘भदौ १ गतेदेखि फोहोर फाल्न नदिने भन्ने विषयमा मलाई केही थाहा छैन।’

ल्यान्डफिल साइटबाट प्रभावित स्थानीय बासिन्दाको आन्दोलनका कारण लामो समयसम्म काठमाडौं उपत्यकाको फोहोर उठ्न नसकेपछि गत जेठ अन्तिम साता सहरी विकास मन्त्रालय र काठमाडौं महानगरपालिकाले एक साताको अवधिमा फरक–फरक सरोकारवालासँग विभिन्न विषयमा सहमति गरेका थिए।

त्यतिबेला पहिलो सहमति सहरी विकासमन्त्री रामकुमारी झाँक्री र काठमाडौं महानगरका मेयर बालेन्द्र साह, प्रभावित क्षेत्र धुनीबेंसी नगरपालिका र ककनी गाउँपालिकाबीच भएको थियो। त्यसैगरी अर्को सहमति जेठ २७ गते बञ्चरेडाँडा ल्यान्डफिल साइट सरोकार समितिका अध्यक्ष श्रीराम ढुंगानासहितको टोलीसँग भएको थियो।

‘त्यतिबेला भएका केही सहमति तत्काल कार्यान्वयन गर्ने र केही सहमति मन्त्रिपरिषद्बाट निर्णय गराएर कार्यान्वयन गर्ने भनी सहरी विकास मन्त्रालयले भनेपछि फोहोर फाल्न दिने निर्णयमा पुगेका थियौं,’ पत्रकार सम्मेलनमा ढुंगानाले भने, ‘तर तीन महिना बितिसक्दा पनि सरकारी निकायबाट विश्वासयोग्य वातावरण बन्न सकेन।’

काठमाडौं महानगरपालिकाले सम्झौताअनुुसार काम नगरेको, उपत्यकाका अन्य स्थानमा ल्यान्डफिल साइट खोजेर बञ्चरेडाँडावासीलाई बेवास्ता गर्न खोजेको भन्दै समितिले फोहोर फाल्न नदिने घोषणा गरेको हो। समितिले यो विषय प्रधानमन्त्री कार्यालय र सहरी विकास मन्त्रालयलाई समेत जानकारी गराइसकिएको जनाएको छ।

सरकारसँग भदौ १ गतेदेखि फोहोर फाल्ने भए जम्मा दुई वटा मात्रै विकल्प रहेको ढुंगानाले बताए। ‘कि मानव बस्तीरहित ल्यान्डफिल साइट विकास क्षेत्र हुनु पर्‍यो,’ उनले भने, ‘कि फोहोरमैला र प्रदूषणरहित मानव बस्ती विकास क्षेत्र हुनु पर्‍यो।’ बञ्चरेडाँडाका मानिसको जिउधनको रक्षा र माग पूरा गर्ने ग्यारेन्टी भए मात्रै भदौ १ देखि फोहोर फाल्न पाउने उनले बताए।

काठमाडौं महानगरपालिकाले साउन १ देखि कुहिने र नकुहिने फोहोर अलगअलग संकलन गर्ने सार्वजनिक सूचना जारी गरिसकेको छ। तर ल्यान्डफिल साइट क्षेत्रमा पहिरो र बाटो मर्मतका कारण फोहोर उठ्न सकेको छैन। महानगरले बुधबार फोहोरमैला संकलन सुरू गर्ने भन्दै सूचना जारी गरेको थियो। ‘हामी बाटो निर्माण गरेर फोहोर फाल्ने तयारीमा छौं,’ काठमाडौं महानगरपालिकाका सहायक प्रवक्ता महेशकुमार काफ्लेले भने, ‘हामीलाई आन्दोलनका विषयमा जानकारी आएको छैन।’  

विगतमा के सहमति भएको थियो?

लामो समयदेखिको आन्दोलनका कारण राजधानी दुर्गन्धित भएपछि जेठ अन्तिम साता ल्यान्डफिल साइटबाट प्रभावित सरोकारवाला पक्षसँग सहमति भएको थियो। सहमतिमा जग्गा अधिग्रहणका सम्बन्धमा वातावरणीय प्रभाव मूल्याँकन प्रतिवेदन प्राप्त भएपछि प्रक्रिया थाल्ने उल्लेख छ।

त्यस्तै, प्रतिवेदनका आधारमा स्थानीयका लागि दस शड्ढयाको अस्पताल सञ्चालन गर्न स्वास्थ्य तथा जनसंख्या मन्त्रालयलाई अनुरोध गर्ने, सिसडोलको पोस्ट क्लोजरको प्रक्रिया सुरु गर्ने सहमति भएको थियो। सहमतिमा फोहोर विसर्जन रातको समयमा हुने उल्लेख छ।

त्यस्तै सिसडोल तथा बञ्चरेडाँडामा फोहोरको दुर्गन्ध नआउने गरी काठमाडौं महानगरपालिकाले एक महिनाभित्र व्यवस्थापन गर्ने, फोहोरबाट निस्कने लिच्चड खोलामा नमिसाउन दुई महिनाभित्र वैज्ञानिक व्यवस्थापन गर्ने, फोहोर बोक्ने गाडीबाट बाटोमा लिच्चड नचुहिने व्यवस्था एक महिनाभित्र मिलाउने सहमति त्यसबेला भएको थियो।

काठमाडौं महानगरपालिकाले एक साताभित्र प्रभावित धुनीबेंसी वडा १, ३ र ४ तथा ककनी गाउँपालिका वडा १, २ र ३ का बासिन्दाको स्वास्थ्य बिमा गर्ने, पूर्वाधार विकास अनुदानलाई निरन्तरता दिनेलगायत विषयमा पनि सहमति भएको थियो। 

प्रकाशित: १३ श्रावण २०७९ ०२:१५ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App