२७ वैशाख २०८१ बिहीबार
image/svg+xml
समाज

मेयर र सिडिओ ‘रोपार’ बनेपछि...

फाइल तस्बिर

ओखलढुंगा फाँटको खेत रोपाइँका लागि ठिक्क थियो। बाउसेले मेलो सम्याइसकेका थिए। पहिले प्रमुख जिल्ला अधिकारी रमेश ढकाल खेतमा छिरे। रोपार उनको पछिपछि लागे। खेतछेउ पुगेर सबै टक्क रोकिए। एकछिन खासखुस चल्यो।

प्रजिअबाटै रोपाइँ सुरु गर्ने निधोमा सबै पुगे। बीउ हातमा लिएर प्रजिअ ढकालले छुपुछुप धान रोप्न थाले। सँगै गएका रोपारले पनि लाइमेली गरे। केहीछिनमै बागलुङ नगरका प्रमुख वसन्तकुमार श्रेष्ठ पनि खेतमा पुगे।

बीचमा अरू पनि थपिंदै गए। हेर्दाहेर्दै रोपारले खेत ढाकिएझैं भयो। कोही साँच्चिकै रोपार थिए त कोही रहरले खेत पसेका थिए। रोपाइँको मेलोमा मेयरदेखि बैंकका कर्मचारीसम्म देखिन्थे। खेतको उपल्लो गरामा असारे भाकामा पञ्चेबाजा घन्किरहेको थियो। ७२ बर्से टीकाबहादुर रोकाले असारे गीत भट्टाउँदै थिए।

गीतमा कम्मर मर्काइमर्काइ रोपारहरू धान रोपिरहेका थिए। हिलो छ्यापछ्यापले पनि रोपाइँमा रौनक थपिरहेको थियो। हाँस्दैखेल्दै रोपारले छिनभरमै फाँटकै ठूलो गराको रोपाइँ सके। यो दृश्य बुधबार अपरान्हतिरको हो।

उन्नाइसौं राष्ट्रिय धान दिवसको मौकामा कृषि ज्ञान केन्द्रले बागलुङ नगरपालिका–८ सिगाना, ओखलढुंगा फाँटमा रोपाइँ उत्सवको आयोजना गरेका थियो। त्यसकै छेकोमा नगरप्रमुख र प्रजिअ लगायतले रोपारा बनेर धान रोपेका हुन्।

नगरप्रमुख श्रेष्ठ र प्रजिअ ढकालले महिला रोपारहरूको लहरमा मिसिएर धान रापेको दृश्य रमाइलो देखिन्थ्यो। अन्यत्रको कार्यक्रममा जानुपर्ने भएपछि नगरप्रमुख केही अघि निस्के पनि प्रजिअ ढकाल भने अन्तिमसम्मै रोपाइँमा सामेल भए।

‘सुरुमा पनि मैले रोप्न थालें र अन्तिमसम्म टिकें पनि, सानैदेखि खनजोत गरेकाले यस्तो काममा रुचि जाग्छ,’ प्रजिअ ढकालले भने,‘घरायसी कामकाज गर्न मलाई मन पर्छ। कुनै पनि काम महिला या पुरुषले मात्र गर्ने भनेर म सोच्दिनँ। सेलरोटी पकाउन पनि जानेको छु।’

उनले किसानको सम्मान र प्रोत्साहनका लागि आफू रोपाइँ उत्सवमा सहभागी भएको बताए। ‘कृषि पेशाप्रति आकर्षण बढाउन यस्ता कार्यक्रमले सघाउ पुग्छ। धान दिवसलाई उत्सवकै रूपमा मनाउने सकारात्मक परम्पराको सुरुआत भएको छ,’ उनले भने।

बागलुङ–३ का अगुवा किसान मतिलाल सापकोटाले पहिलेपहिले यसरी धान दिवस मनाउने चलन नभएको सुनाए। ‘पछिल्लो समय रोपाइँ उत्सव गर्ने, दिवस मनाउने चलन आयो। यसले सबैसँग भेटघाट हुने मौका पनि दिएको छ, रमाइलो पनि हुन्छ,’ ७४ वर्षीय सापकोटाले भने।

आयोजकले रोपाइँ उत्सवमा सहभागीलाई असार १५ को परिकार दहीचिउरा पनि चखाएको थियो। स्थानीय माया खड्काको खेतमा रोपाइँ उत्सवको आयोजना गरिएको हो।

रोपाइँ उत्सवका नाममा धान दिवसलाई रङ्गरमाइलो गर्ने थलो मात्र बनाउन नहुनेमा किसान समुदायबाट आवाज पनि उठ्ने गरेको छ। राज्यले किसानलाई प्रोत्साहन मिल्ने नीति र योजना ल्याउनुपर्ने किसानको माग छ। कृषि ज्ञान केन्द्रका प्रमुख भानुभक्त भट्टराईले धान नेपालको प्रमुख र महत्त्वपूर्ण खाद्यान्न बाली भएको बताए।

‘हाम्रो भान्छाका परिकारदेखि जन्म, मृत्यु संस्कार र चाडपर्वमा समेत चामल नभई हुँदैन, नेपालको कुल ग्राहस्थ उत्पादनमा कृषिले ओगट्ने ३० मा १५ प्रतिशत योगदान धानको मात्रै छ’, उनले भने,‘सबैभन्दा बढी उपभोग हुने, महत्त्व पनि भएको बाली भएकाले २०६१ सालदेखि धान दिवस मनाउन सुरु गरिएको हो।’

यस वर्ष ‘धान बालीमा जैविक विविधताको उपयोग, आयात प्रतिस्थापनमा सहयोग’को सन्देशसहित धान दिवस मनाइएको प्रमुख भट्टराईको भनाइ छ। केन्द्रका अनुसार जिल्लाको कुल छ हजार हेक्टर क्षेत्रफलमा धान खेती हुँदै आएको छ। मध्य असारसम्ममा यहाँ ४० प्रतिशत रोपाइँ भएको जनाइएको छ। रासस

प्रकाशित: १६ असार २०७९ ०६:२४ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App