१६ वैशाख २०८१ आइतबार
image/svg+xml
समाज

‘मल नपाएपछि १५ असारको के अर्थ?’

असार १५ को अघिल्लो दिन भक्तपुरको दधिकोटमा धान रोप्दै किसान।

राष्ट्रिय धान दिवसको अवसर पारेर असार १५ मा भक्तपुरको सिरुटारमा दुईदुईवटा भव्य कार्यक्रम राखिएको छ। धान दिवसको अवसरमा अखिल नेपाल किसान संघले आयोजना गर्ने कार्यक्रममा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र नेपाल किसान संघको अगुवाइमा हुने कार्यक्रममा नेपाली कांग्रेसका सहमहामन्त्री महेन्द्र यादव सहभागी हुने भनिएको छ।

तर सूर्यविनायक–१, सिरुटारकी सुभद्रा थापालाई यी दुवै कार्यक्रमप्रति कुनै चासो छैन। मलको अभावमा धान रोप्न नपाएकी उनले असार १५ खल्लो हुने बताइन्। ‘मल नपाएपछि केको उत्सव’, उनले भनिन्, ‘हाम्रा लागि त पूरै असार खल्लो भएको छ।’ थापाको जस्तै पीडा छ, दधिकोटमा धान रोप्दै गरेकी बालकोटकी धनेश्वरी श्रेष्ठको पनि।

असार १५ को अघिल्लो दिन मंगलबार धान रोप्दै गरेकी उनले मलको अभाव मंसिरसम्म खड्किने बताइन्। जमिन बाँझो राखे जरिवाना तिराउने भन्ने सरकारले मल दिन नसक्दाचाहिँ किसानलाई के क्षतिपूर्ति दिन्छ भन्ने उनको प्रश्न छ। ‘मलको अभावमा हाम्रो उत्पादन घटेमा सरकारले के, कस्तो जिम्मवारी लिन्छ’, उनले भनिन्, ‘किसानलाई अहिले असार १५ को उत्सवभन्दा पनि मल धेरै जरुरी छ।’

आधा असार बित्दा पनि रासायनिक मल नपाउँदा किसान निराश छन्। विकासे मलको परनिर्भरतामा रहेका किसान राज्यको लाचारीका कारण विकल्पविहीन अवस्थामा पुगेका छन्। ‘युरिया नपाए धान पहेंलो हुन्छ, बिग्रन्छ’, बालकोटकी गंगा अधिकारी भन्छिन्, ‘यस्तोमा हामीले कसरी उत्सव मनाउन सक्छौं?’ सरकारले पनि १९औँ राष्ट्रिय धान दिवस बुधबार ललितपुरको खुमलटारस्थित धानबाली अनुसन्धान केन्द्रमा औपचारिक रूपमा मनाइने जनाएको छ।

‘धानबालीमा जैविक विविधताको उपयोग, आयात प्रतिस्थापनमा सहयोग’ भन्ने मूल नाराका साथ खुमलटारसहित देशका विभिन्न स्थानमा सांस्कृतिक कार्यक्रम आयोजना गरी धान दिवस मनाउने कार्यक्रम रहेको कृषि तथा पशुपन्छी विभागले जनाएको छ। विभागका महानिर्देशक रेवतीरमण पौडेलले कृषि अनुसन्धान परिषद् (नार्क) को खेतमा रोपाइँ गरेर राष्ट्रिय धान दिवस औपचारिक सुरुआत गरिने जानकारी दिए।

नेपालमा कुल खेतीयोग्य जमिनमध्ये ४७ प्रतिशतमा रोपाइँ हुन्छ। जसमा तराई क्षेत्रको हिस्सा ७० प्रतिशतभन्दा माथि छ। सरकारले किसानका समस्यालाई गम्भीरतापूर्वक नलिँदा अहिले धान रोप्नेबेलामा मलको हाहाकार भएको राष्ट्रिय कृषक समूह महासंघका अध्यक्ष नवराज बस्नेत बताउँछन्।

मल नहुँदा झन्डै ४० लाख हेक्टर क्षेत्रमा हुने खेती प्रभावित हुने उनले बताए। असार लाग्नुअगावै मल अभाव हुने देखिएपछि प्रतिनिधिसभाले कुल गार्हस्थ उत्पादनमा २५ प्रतिशत योगदान दिने कृषि क्षेत्रका समस्या समाधानमा लाग्न सरकारलाई सजग गराएको थियो।

प्रतिनिधिसभाले रासायनिक मल किसानलाई सहज रूपमा उपलब्ध गराउन सम्भाव्य सबै उपाय अवलम्बन गर्न सरकारलाई निर्देशन दिए पनि किसानले मध्य असारमा पनि मल पाउन सकेको छैनन्। किसान मलबिनै धान रोप्न बाध्य छन्। ‘खेत बाँझो राख्न पनि सकिएन’, सिरुटारकी सुभद्राले दुखेसो पोखिन्, ‘खेतीबाट आश गर्न पनि सकिएन।’  

प्रकाशित: १५ असार २०७९ ०१:२८ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App