२१ वैशाख २०८१ शुक्रबार
image/svg+xml
समाज

मजदुर आन्दोलनको चेपुवामा मणिपाल शिक्षण अस्पताल

२३ दिनदेखि सेवा प्रभावित

पोखरामा सञ्चालित मणिपाल शिक्षण अस्पताल/फाइल तस्बिर।

मणिपाल शिक्षण अस्पतालको सेवा प्रभावित भएको छ। तीनसाता भन्दा लामो समयदेखि मणिपालमा मजदुर आन्दोलन चलिरहेको छ। आन्दोलनका कारण कम मूल्यमा स्वास्थ्य सेवा पाउने बिरामीलाई मार परेको छ। आन्दोलनका कारण उपचारका लागि आउने बिरामी नै घट्न थालेका छन्।

आन्दोलनमा उत्रिएका कर्मचारीले विभिन्न माग राखेका छन्। नेपाल स्वास्थ्यकर्मी तथा कर्मचारी यूनियन मणिपालका अध्यक्ष अमृतबाबु पौडेलले व्यवस्थापन पक्षले यसअघिका सम्झौता कार्यन्वयन नगरेकोले दबाव दिन आन्दोलन गरेको बताए।

अस्पतालमा उपचारका लागि आउने बिरामीलाई सकेसम्म कम अप्ठेरो परोस भनेर आन्दोलनको समय समेत तोकेको उनले बताए। उनका अनुसार विभिन्न माग राखेर २३ दिनदेखि मणिपालमा आन्दोलन चलिरहेको छ। कर्मचारीले श्रम ऐन २०७४ अनुसार सेवा सुविधा र उपदान पाउनुपर्ने माग राखेर आन्दोलन गरेको बताएका छन्।

अध्यक्ष पौडेलका अनुसार मणिपाल व्यवस्थापन र कर्मचारीबीच २०६७ मा उपदान सम्बन्धी सम्झौता भएको थियो। त्यो सम्झौता २०७४ सम्म लागू थियो। तर, २०७४ मा नयाँ श्रम ऐन आएपछि सम्झौता कार्यन्वयन हुन नसकेको उनले बताए। नयाँ श्रम ऐन आएपछि त्यसअघिको सम्झौता कार्यन्वयन नहुँदा निवृत भएर जाने कर्मचारीलाई घाटा पुगेको उनले बताए। श्रम ऐन २०४८ अनुसार भएको सम्झौता २०७४ को श्रम ऐन पछि कार्यन्वयन नभएको उनले बताए।  

त्यस्तै श्रम ऐन अनुसार काम थालेको ६ महिनापछि कर्मचारीलाई स्थायी गर्नुपर्ने बाध्यकारी छ। तर, व्यवस्थापनले त्यो कुरा सुनुवाई नगरेको उनले आरोप लगाए। किरिया र सुत्केरी बिदा समेत नपाएको उनले बताए सुत्केरी र किरिया बिदा पनि कर्मचारीलाई छानी-छानी दिने गरेको उनले बताए। ‘नयाँ जागिरेलाई त सुत्केरी बिदा पनि दिइएको छैन। कर्मचारीले तलब कटौती गरेर सुत्केरी बिदा बस्ने गरेका छन्,’ उनले भने। 

उनका अनुसार सुत्केरीलाई तलबी बिदा २ महिना दिनुपर्ने कानुनी व्यवस्था छ। तर कतिपयले पाउने र कतिपयले सुत्केरी बिदा नपाउने अवस्था रहेको उनले बताए। १३ दिन किरिया बिदामा पनि मनलाग्दी हुने गरेको उनले बताए त्यसबाहेक हरेक दुई वर्षको फरकमा कर्मचारीको तलब सेवा बढाउने भन्ने सम्झौतामा भएपनि कार्यन्वयन नभएको उनले बताए ।

‘व्यवस्थापनले बारम्बार सम्झौता कार्यन्वयन नगर्दा यो अवस्था आएको हो। व्यवस्थापनले कर्मचारीलाई दिनुपर्ने सेवा सुविधामा कन्जुस्याँइ नगर्ने हो भने हामीले आन्दोलन गर्नु पर्दैन,’ उनले भने। आन्दोलनका कारण हरेक दिन बिहान साढे ८ बजेदेखि सुरु हुने ओपीडी सेवा प्रभावित भएको छ। अहिले साढे १२ बजेपछि मात्र ओपीडी सेवा सुरु हुने गरेको छ।

आन्दोलन र ढिला गरी ओपीडी सेवा दिँदा बिरामी प्रभावित भएका छन्। पहिले भन्दा अहिले बिरामी संख्या नै कम भएका छन्। दिनमा झन्डै ५ सय जना बिरामी मणिपालको ओपीडीमा उपचारका लागि आउने गर्दथे। पोखरा आसपासका जिल्लाका बिरामी उपचारका लागि मणिपालमा आउँछन्।

‘बिरामीलाई सकेसम्म कम असर परोस भनेर आन्दोलनमा सचेत भएका छौं। मात्र ओपीडीको सेवा केही घण्टा ढिला भएको छ,’ उनले भने, ‘बिरामीलाई अप्ठेरो पार्ने  नियत हाम्रो होइन। तर, व्यवस्थापनलाई दबाव दिन हामीले केही समय काम रोकेका मात्र हौ।’

लामो समय आन्दोलन भएपछि आगामि आइतबार वार्तामा बस्ने गरी व्यवस्थापनले गत बिहीबार नै पत्र पठाएर समय माग गरेको उनले बताए। आगामी आइतबार आन्दोलनरत कर्मचारी यूनियन र व्यवस्थापनबीच वार्ता हुने उनले बताए।  

व्यवस्थापन पक्षले भने वार्ताका लागि अनुरोध गर्दा पनि आन्दोलनरत पक्ष तयार नहुँदा समस्या बल्झिएको बताएको छ। व्यवस्थापनका एक जना उच्च पदाधिकारीका अनुसार सुत्केरी, किरिया, घर बिदा वर्तमान श्रम ऐन अनुसार दिन तयार रहँदा पनि कर्मचारी यूनियनले अटेर गरेको बताएका छन्।

आन्दोलनरत पक्ष अघिल्लो श्रम ऐन (२०४८) अनुसार सेवा पाउनुपर्ने भनेर माग गरेको तर, व्यवस्थापनले नयाँ श्रम ऐन (२०७४) अनुसार सेवा सुविधा दिन तयार रहेको ती व्यवस्थापकले बताए। ‘नयाँ श्रम ऐन लागु भएपछि पुरानो श्रम ऐन यत्तिकै हट्छ। हामीले नयाँ श्रम ऐन अनुसार सेवा दिन्छौ भन्दा उनीहरुले मानेनन,’ उनले भने।  

ती व्यस्थापकका अनुसार आन्दोलनका कारण स्वास्थ्य सेवा प्रभावित भएको छ। अत्यावश्यक सेवामा हड्ताल गर्न नपाउने कानुनी प्रावधान भएपनि कर्मचारीले त्यसलाई अटेर गरेको उनले बताए। ‘हामीले पनि काम गर्न पाउनुपर्छ। बिरामीलाई अस्तपालमा आउँनै नदिने, चिकित्सकलाई बिरामीको स्वास्थ्य परीक्षण गर्नै नदिने, सबै काममा अवरोध खडा गर्दा राम्रो हुँदैन। अस्पतालमा लामो समय काम गर्न रोक्ने, तर, तलब र सेवासुविधा देउ मात्र भनेर हुँदैन,’ उनले भने, ‘अत्यावश्यक सेवामा हड्ताल गर्न पाइँदैन भन्ने पनि थाहा पाउनुपर्छ। काम गर्न रोक्ने, तर सेवा लेउ मात्र भनेर हुँदैन।’ सस्तोमा स्वास्थ्य सेवा पाउने बिरामी अहिलेको आन्दोलनबाट प्रभावित भएको उनले बताए।

काठमाडौं विश्वविद्यालयबाट सम्बन्धन प्राप्त मणिपाल कलेज अफ मेडिकल साइन्स अन्तरगत पोखराको दीप र फूलबारीमा यसका पूर्वाधार छन्। २०५० देखि नै यसले एमबीबीएसमा अध्यापन सुरु गरेको थियो। त्योसँगै २०५४ देखि ७५० शैयाको शिक्षण अस्पताल पनि सञ्चालन गरेको थियो। यसले वर्षेनी एकसय जना विद्यार्थीलाई एमबीबीएस पढाउँदै आएको छ। त्यसबाहेक एमडी र नर्सिङमा पनि अध्यापन गराउँदै आएको छ। मणिपालमा अहिले झन्डै ११ सय कर्मचारी कार्यरत छन्।  

आन्दोलनको चपेटामा मणिपाल

मणिपाल शिक्षण अस्पतालमा यो पटक मात्र आन्दोलन भएको होइन, कहिले मजदुर, त कहिले चिकित्सकले त्यहाँ पालैपालो आन्दोलन गर्छन्। आन्दोलनका कारण महिनौंसम्म मणिपालको सेवा प्रभावित हुने गरेको छ। यस्तै आन्दोलनका कारण पोखराको पाँचतारे होटल फूलबारी रिसोर्ट सधैंका लागि बन्द भएजस्तै मणिपाल शिक्षण अस्पताल पनि प्रभावित हुने हो की भन्ने चिन्ता पोखरेलीको छ।

स्वयं आन्दोलनरत पक्ष पनि संस्था अब्बल हुँदाहुँदै पनि विभिन्न कारण देखाएर मजदुरलाई सेवाबाट बञ्चित गरेकोले बारम्बार आन्दोलन हुने गरेको बताउँछन्। ‘आन्दोलन हाम्रो रहर होईन, संस्था धराशायी र कमजोर भएको भए हामीले पनि बिचार गर्दथ्यौ। तर, त्यो अवस्था छैन,’ अध्यक्ष पौडेल भन्छन्, ‘तर, कारणबिना नै मजदुरलाई सेवा दिन व्यस्थापन कहिल्यै तयार भएन।’ सहमति अनुसार सेवा र सुविधा दिनमा व्यवस्थापन पक्ष तयार भए आन्दोलन गर्न बाध्य नहुने उनले बताए।  

व्यस्थापन पक्ष भने विभिन्न राजनीतिक दलको कार्ड फ्याकेर मजदुर आन्दोलन हुँदा त्यसले संस्थालाई कमजोर बनाउने बताउँदै आएको छ एकजना व्यवस्थापक भन्छन्, ‘सधैं राजनीतिक दलको कार्ड देखाएर आन्दोलन गरेर मात्र हुँदैन। संस्था बचाउनका लागि पनि केही योगदान हुनुपर्छ। नत्र फूलबारी रिसोर्टको जस्तै अवस्था नहोला भन्न सकिन्न। फूलबारी बन्द हुँनुमा एउटा मुख्य कारण मजदुर आन्दोलन हो।’ संस्था जोगिए मजदुर पनि जोगिन्छन भन्ने कुरामा ध्यान दिनुपर्ने उनले बताए।  

प्रकाशित: ११ असार २०७९ १०:३७ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App