२५ वैशाख २०८१ मंगलबार
image/svg+xml
समाज

मतदानस्थलमा अपाङ्ग, ज्येष्ठनागरिक र गर्भवती महिलालाई प्राथमिकता

म्याग्दीको रघुगंगा गाउँपालिका–८, कुइने आधारभुत विद्यालयको मतदान केन्द्र।

म्याग्दीको सबै मतदानस्थलमा अपाङ्गता भएका व्यक्ति, ज्येष्ठनागरिक र गर्भवती महिलालाई मतदान गर्नका लागि पहिलो प्राथमिकता दिइने भएको छ। भोलि (शुक्रबार)को स्थानीय तह निर्वाचन–२०७९ मा सहभागी हुने अपाङ्ग, ज्येष्ठनागरिक र गर्भवती महिलालाई प्राथमिकताका साथ मतदान गर्ने व्यवस्था मिलाइएको हो।

जिल्लामा कायम भएका ७४ ओटा मतदानस्थल र १ सय १४ ओटा मतदान केन्द्र सबैमा अपाङ्ग, ज्येष्ठनागरिक, गर्भवती महिला, बिरामी र शारिरीक रुपमा अशक्त मतदाताहरुलाई पहिलो प्राथमिकता दिएर मतदान गर्ने व्यवस्था मिलाइएको जिल्ला निर्वाचन कार्यालय म्याग्दीका प्रमुख भीमप्रसाद घिमिरेले बताए।

सबै मतदानस्थल र केन्द्रमा यस्तो व्यवस्था गर्न मतदान अधिकृतलाई निर्देशन दिइएको बताए। जिल्ला निर्वाचन अधिकारी समेत रहेका निर्वाचन कार्यालय प्रमुख घिमिरेले लामो समयसम्म लाइनमा उभिएर मतदान गर्न नसक्ने शारिरीक रुपमा अति अशक्त नागरिक तथा मतदातालाई प्राथमिकताका साथ मतदानको आवश्यक व्यवस्था मिलाउन दिर्नेशन जारी गरिएको बताए।

अपाङ्गता भएका व्यक्ति, ज्येष्ठनागरिक, गर्भवती महिला र अशक्त नागरिकहरु लामो समय लाइनमा बसेर पालो पर्खंदा अन्य समस्या देखिएर मतदान गर्नबाट वञ्चित नहुन् भनेर प्राथमिकता तोकिएको छ। मतदान गर्नका लागि महिला र पुरुषको छुट्टाछुट्टै लाइन तथा आउने, जाने बाटोको व्यवस्था पनि मिलाइएको बेनी सामुदायिक मावि मतदानस्थलका मतदान अधिकृत धोलकराज ढकालले बताए।

म्याग्दीमा स्थानीय तह निर्वाचनको सबै तयारी पूरा भएको मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ। निर्वाचनको लागि मतदानस्थल र केन्द्रमा पुगेको कर्मचारी तथा सुरक्षाकर्मीको टोलीले मतदाता परिचयपत्र वितरण, मतदानको लागि आवश्यक स्थल (बुथ) निर्माण, सर्वदलीय तथा सर्वपक्षीय बैठक र मतदाता शिक्षा सञ्चालनलगायत निर्वाचनलाई आवश्यक पर्ने सबै तयारी पूरा गरेको जनाएको छ।

यसका साथै मतदानस्थलमा त्रिपाल टाँग्ने, घेराबार लगाउने र मतगणनास्थलमा तारजाली तथा सिसी क्यामेरा समेत जडान गरिएको मुख्य निर्वाचन अधिकृत तेजनारायण पौडेलले बताए। निर्वाचनको लागि आवश्यक पर्ने मतपेटिका, मतपत्र, स्वस्तिक छापलगायत झण्डै एकसय प्रकारका सामग्रीहरुसहित कर्मचारीहरुको टोली मतदानको तयारी अवस्थामा बसेका छन्।

म्याग्दीमा स्थानीय तह निर्वाचन सम्पन्न गराउँनका लागि कर्मचारी र शिक्षक गरी कुल ५ सय ६१ जना तथा सुरक्षाको लागि १ हजार ४ सय ४७ जनाको जनशक्ति परिचालन गरिएको छ। सुरक्षातर्फ ६ सय १७ म्यादी प्रहरी, ३ सय ८० नेपाल प्रहरी, २ सय ३४ नेपाली सेना र २ सय १६ जना सशस्त्र प्रहरी रहेका छन्।

एक नगरपालिका, पाँचवटा गाउँपालिका र ४५ वटा वडा रहेको म्याग्दीमा स्थानीय तह निर्वाचनको लागि कुल ८५ हजार ३ सय ७५ जना मतदाता कायम भएका छन्। तीमध्ये पुरुष ४१ हजार ४ सय १४, महिला ४३ हजार ९ सय ६० र अन्यतर्फ एकजना मतदाता रहेका छन्। छ वटा पालिकामा जिल्लाभर कुल २ सय ३७ पदको लागि ७ सय १८ जना उम्मेदवारहरु चुनावी मैदानमा छन्।

प्रकाशित: २९ वैशाख २०७९ १२:०८ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App