१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
समाज

खुट्टाको रड निकाल्दा मृत्यु, चिकित्सकलाई कारबाही गरिने

भरतपुरको मौलाकालिका अस्पतालले बिरामीको उपचार क्रममा गल्ती भएको स्वीकार गरेको छ। माडी नगरपालिका-५ राधापुरका रामप्रसाद तिवारीको खुट्टामा राखेको रड निकाल्ने क्रममा मंगलबार(हिजो) निधन भएको थियो।

मृतकका आफन्त र अस्पताल प्रशासनबीचमा भएको वार्तामा उपचारमा संलग्न चिकित्सक र स्वास्थ्यकर्मीको लापरवाही भएको अस्पतालले स्वीकार गरेको हो। ‘बायाँ खुट्टा भाँचिएर लगाएको स्टिल निकाल्नका लागि उपचारको क्रममा आउनुभएका तिवारीलाई ओटीमा लठ्याउने क्रममा अस्पतालबाट अपनाउनुपर्ने सबै सुरक्षाका उपायहरु नअपनाएको कारण बिरामीको मृत्यु भएको सहमतिमा पुगेका छौँ।’

मृतकका आफ्न्त र प्रशासन बिचको सहमति पत्रमा उल्लेख गरिएको छ। गत चैत्र ११ गते खुट्टामा रड राखेका तिवारी हिजो रड निकाल्न अस्पताल भर्ना भएका थिए। उनको उपचारका क्रममा मृत्यु भएको थियो। मौलाकालिका अस्पतालले उपचारमा लापरवाही गरेर मृत्यु भइसकेपछि कुरुवालाई थाहै नदिइ भरतपुर अस्पताल पुर्‍याएको भन्दै आफन्तले प्रदर्शन गरेका थिए।

त्यसपछि बसेको वार्ता टोलीले तीन बुँदे सहमति समेत गरेको छ। उपचारमा संलग्न स्वास्थ्यकर्मीलाई समेत कारबाही गरिने सहमति भएको छ । ‘उपचारमा संलग्न सर्जन डा. विश्वराज अधिकारी, एनेस्पेसियन डा. ज्ञानेन्द्र न्यौपानेको टिमलाई अस्पताल प्रशासनले तुरुन्त कारबाही गरी सार्वजनिक गरिन्छ।’ सहमति पत्रमा उल्लेख छ। तर, कारबाही गर्दा कानुन अनुसार गर्नुपर्ने जनाइएको छ।

बिरामी कुरुवालाई जानकारी नदिइ भरतपुर अस्पतालमा रिफर गरेकोमा समेत अस्पतालले स्वीकार गरेको छ। मृतकका परिवारलाई अस्पताल प्रशासनले उचित राहत प्रदान गर्ने समेत सहमति गरिएको छ। अस्पतालका तर्फबाट प्रवन्ध निर्देशक डा.केशवराज भुर्तेल, डा.रामजी बास्तोला र ज्ञानेन्द्र न्यौपाने र मृतक परिवारको तर्फबाट प्रभानन्द तिवारी, प्रजापती तिवारी, राजेन्द्र तिवारी, डिल्लीराम आचार्य, तोयानाथ तिवारी, सुरज अधिकारी, नविन तिवारी र सिर्जना तिवारीले सहमति पत्रका हस्ताक्षर गरेका छन्।

५२ वर्षीय मृतक तिवारी बघौँडा मध्यवर्ती सामुदायिक वन उपभोक्ता समितिका अध्यक्ष हुन् । चैत ११ गते सोमेश्वर मध्यवर्ती सामुदायिक वनमा आगो निभाउन जाँदा लडेर खुट्टा भाचिँएको थियो। सोही दिन मौलाकालिका अस्पतालमा आएर खुट्टामा रड हालेका थिए। खुट्टाको भाँचिएको हड्डी रडले जोडेपछि उनी वैशाखीको सहारामा हिँड्न सक्ने भएका थिए। सहमति भएपछि तिवारीको शवलाई अन्त्यष्टि गरिएको छ।

प्रकाशित: २८ वैशाख २०७९ ०९:०४ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App