१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
समाज

कर्मचारीको सरुवा बढुवामा आउने दबाव अन्त्य गर्छु: अर्याल

नवनियुक्त सशस्त्र प्रहरी महानिरीक्षक राजु अर्यालले आसन्न स्थानीय तहको निर्वाचनलाई स्वच्छ, शान्तिपूर्ण, मर्यादित तथा विश्वसनीय ढंगले सम्पन्न गर्न सशस्त्र प्रहरी बलले काम सुरु गरिसकेको बताएका छन्।

गृह मन्त्रालयमा सोमबार दज्र्यानी चिन्ह लगाएपछि सञ्चारकर्मीहरुसँग बोल्दै अहिलेको प्राथमिकता भनेकै स्थानीय तहको निर्वाचन भएकोले निर्वाचनको सुरक्षा र निष्पक्षताका लागि सशस्त्र प्रहरी बल तयार रहेको बताए।

नवनियुक्त सशष्त्र प्रहरी महानिरीक्षक अर्यालले निकट भविष्यमा हुने प्रदेशसभा तथा प्रतिनिधिसभा निर्वाचनका लागि समेत आवश्यक तयारीहरु गर्दै निर्वाचनको सुरक्षा जिम्मेवारी पूरा गर्न सशस्त्र प्रहरी बल नेपाल तयार रहेको बताए।

नवनियुक्त सशष्त्र प्रहरी महानिरीक्षक अर्यालले आफ्नो कमाण्डमा नीतिगत सुधार अन्तर्गत सशस्त्र प्रहरी कर्मचारीको सरुवा बढुवालाई न्यायोचित एवम् पूर्वानुमान योग्य बनाउन र पदपूर्तिलाई व्यवस्थित गर्न आवश्यक मापदण्ड निर्माण गरी लागू गरिने बताए। उनले हाल भएका कार्यविधिहरु र विभिन्न नयाँ कार्यविधिहरु निर्माण गरी व्यक्तिले नभइ नीतिले संगठन चलाउने पद्धतिको सुरुवात गरिने प्रतिबद्धता जनाए।

नवनियुक्त सशष्त्र प्रहरी महानिरीक्षक अर्यालले संस्थागत सुधार अन्तर्गत सशस्त्र प्रहरी बल नेपालको कमाण्ड, आचरण पालना, अनुगमन मूल्यांकन, पुरस्कार तथा दण्ड, भ्रष्टाचार एवं लैङ्गिक हिंसा लगायतका विषयहरुलाई नीति, नियम र कार्यविधिद्वारा नियमन गर्ने बताए।

उनले आर्थिक पारदर्शीतालाई आफ्नो पहिलो प्राथमिकता बनाएर राजश्व संकलनमा अभिवृद्धि र चोरी, तस्करी नियन्त्रणको कामलाई प्रभावकारी बनाउने बताए। महानिरीक्षक अर्यालले प्रत्येक वर्ष सरुवा हुनसक्ने कर्मचारीको ट्रान्सफर फरकास्ट प्रकाशित गर्ने र सरुवामा आउने गरेका अनावश्यक दबावलाई अन्त्य गर्ने बताए।

उनले गस्ती र सीमा सुरक्षा सुदृढ पार्न सीमा विकास कार्यक्रम अन्तर्गत सीमा निगरानी बहुउद्देशीय सडक निर्माण गर्नुपर्नेमा मन्त्रालयको ध्यानाकर्षण गराए। अर्यालले सीमा सुरक्षा सम्बन्धी घटना तथा जानकारी समयमै प्रतिवेदन गर्न र कार्यान्वयनमा लैजान सशस्त्र प्रहरी बल नेपाल प्रधान कार्यालयमा २४ सै घण्टा रहनेगरि सीमा सुरक्षा डेस्क छुट्टै स्थापना गरिने पनि जानकारी दिए।   

प्रकाशित: १९ वैशाख २०७९ ०८:५० सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App