२ जेष्ठ २०८१ बुधबार
image/svg+xml
समाज

मुसहर समुदायमा छैन चुनावी रौनक

सिन्धुलीको दुधौली नगरपालिका ७ को मुसहर समुदायमा रहेको एक घर। तस्बिरः अनिल/सिन्धुली

जिल्लाभर चुनावी माहोल तात्तिएको छ। दलहरुको चहलपहलसँगै घरघरमा चुनावी बहस चलिरहेको छ, तर सिन्धुलीको दुधौली नगरपालिकाको मुसहर समुदायमा चुनावी रौनक देखिँदैन। दुधौली नगरपालिका वडा नं. ७ र वडा नं. ८ का स्थानीय मुसहर समुदायमा चुनावको खासै उत्साह छैन।

उम्मेदवारहरु भोट माग्नै नगएका भने होइनन्। भोट माग्ने अस्त्र विभिन्न राख्ने र कुनै बाचा पूरा नगर्दा मुसहर समुदाय उम्मेदवारहरुदेखि रुष्ट बनेका हुन्। भोट सधै दिँदै आएको भएपनि आफूहरुको जिवनस्तर कहिल्यै नउक्सिएको सदा परिवार बताउँछन्। यस क्षेत्रका मुसहर समुदायलाई उम्मेदवारले आश्वासन मात्रै दिँदै आएकाले उत्साह नदेखिएको हो। 'हाम्रो समुदायमा अहिले खानेपानीको चरम अभाव छ। तर पानी दिन्छौ मोटर दिन्छौ भनेर धेरै पटक भने तर दिएनन्,' स्थानीय गिता सदाले भनिन्, 'दिन्छौ दिन्छौ भनेका छन्, तर दिएका छैनन्।' खानेपानीको हाहाकार भएकाले खानेपानी मुसहर समुदायको उम्मेदवारहरुसँग पहिलो माग छ।

मुसहर समुदायमा भोट माग्न जाने उम्मेदवारलाई उनीहरुले खानेपानीको व्यवस्था गरिदिन माग गरेका छन्। उम्मेदवारले आश्वासन मात्रै दिएर हालसम्म खोनपानीको व्यवस्था नगरिदिएकाले यो चुनावमा पनि पानीनै आफूहरुको माग रहेको मुसहर समुदायको भनाइ छ। दुधौली नगरपालिकामा गरिब मुसहर समुदायको बस्ती निकै बाक्लो छ तर गरिबीको चपेटामा परेका मात्रै छैनन्, जनप्रतिनिधिहरुको उपेक्षाले गर्दा पानीको समेत हाहाकार भएको उनीहरुको भनाइ छ। पानी लिन निक्कै दूरी यात्रा गर्नुपर्ने अवस्था रहेको मुसहर समुदायकी स्थानीय ८० वर्षे वृद्धा गिता सदाले बताइन्।

एउटा हात नभएकी वृद्ध सदा उम्मेदवारलाई आफूले सधै भोट हाल्ने गरेको भएपनि उम्मेदवार जितेपछि फर्केर नआउने गरेकाले पानीको हाहाकार भएको बताउँछिन्। 'भोट पहिला पनि हालेको हो, यस वर्ष पनि भोट हाल्नुपर्छ तपाईहरुको दुःखको सारथी हामी हौं, भन्दै आउँछन्, तर भोट हालेर हार्ने र जित्ने दुबै हाम्रो अवस्था के छ भनेर बुझ्न आउँदैनन्,' उनले भनिन्। मुसहर समुदायको टोलभरीकै प्रमुख समस्या खानेपानी रहेको छ। उम्मेदवारले भोट माग्न जाँदा पानीको पाइप तथा इनारबाट घरसम्म पानी तान्नका लागि मोटर दिने आश्वासन दिएर भोट मागिरहेको मुसहर सदा परिवार बताउँछन्।

दुधौली नगरपालिका ७ का रामआशिष सदा इनार खानेपानी नभएकाले खानेपानी व्यवस्था गरिदिनेलाई भोट दिने बताउँछन्। 'घर नजिकै पहिरो छ, खाने अन्न छैन, घरमा खानेपानीको अभाव छ,' उनले भने, 'यो पूरा गरिदिने उम्मेदवारले जिते हाम्रो लागि राम्रो हुन्छ।' दुधौली नगरपालिका भित्र मुसहर समुदायको बस्ती बाक्लो छ। यस क्षेत्रका उम्मेदवारलाई जिताउन मुसहर समुदायको महत्वपूर्ण भूमिका हुन्छ। तर जितेपछि जनप्रतिनिधिले बेवास्ता गर्दा आफूहरुको अवस्था सधै उस्तै भएको उनीहरुको गुनासो छ।' व्यवस्था परिवर्तन भएपनि हाम्रो अवस्था परिवर्तन गरिदिने उम्मेदवार आएनन्,' मुसहर समुदायले भने, 'दिन्छु दिन्छु भन्छ तर दिँदैनन्।'  

मुसहर समुदायको बस्तीमा केही दलका झण्डा झुण्डिएका छन्। तर ति झण्डा झुण्ड्याउनेले आश्वासन मात्रै झुण्ड्याएर भोट मागेको मुसहर समुदायको गुनासो छ। 'आउँछन्, झण्डा झुण्ड्याउँदै गर्छौ,' दिन्छौ भन्छन्, 'हामी गरिब सधै हेरेको हेरै हो, अर्का एक मुसहर समुदायका रित दमाइले भने, हामीले चुनावी चहलपहल लागेको छैन।'

मुसहर समुदायको युवापुस्तामा वैशाख ३० गते स्थानीय तहको चुनाव भन्ने जानकारी रहेपनि वृद्धवृद्धालाई चुनावी वास्तै छैन। पेट पाल्नकै समस्या रहेको त्यस क्षेत्रका स्थानीय बताउँछन्।

प्रकाशित: १९ वैशाख २०७९ ०८:३३ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App