पहिलेपहिले महिलामाथि सिधै शारीरिक रूपमा हिंसा गरिन्थ्यो। पछिल्लो समय हिंसाको प्रकृति बदलिएको छ। हिजोआज महिलामाथि डिजिटल प्रविधिमार्फत हिंसा भइरहेको नेपाल प्रहरीको तथ्यांकले औंल्याएको छ। नेपालसहित विश्वभरि नै बढ्दै गएको डिजिटल हिंंसाको अन्त्य हुनुपर्ने माग महिला लैंगिक अधिकारका निमित्त लडिरहेका निकायहरूले गरेका छन। मंगलबार सुरु भएको लैंगिक हिंसाविरुद्धको १६ दिने अभियानको मुख्य नारा नै ‘महिलामाथि हुने डिजिटल हिंसा अन्त्य गरौं’ रहेको छ।
नेपाल प्रहरीको तथ्यांकअनुसार पनि नेपालमा साइबर अपराध बढ्दै गएको र त्यसको मारमा महिला परेको देखिएको छ। नेपाल प्रहरीको साइबर ब्युरोको पछिल्लो प्रतिवेदनअनुसार गत आर्थिक वर्ष २०८०/८१ मा मात्र १९ हजार सात सय ३० साइबर अपराधका उजुरी परेका छन्। कुल उजुरीमध्ये आठ हजार सात सय ४५ वटा महिला हिंसासम्बन्धी छन्। यसबाहेक हिंसा हुनेमा तीन सय ८२ जना बालिका र सात सय ६७ जना पारालैंगिक समूहका पनि छन्।
संयुक्त राष्ट्रसंघको पछिल्लो प्रतिवेदनअनुसार विश्वका ६० प्रतिशत महिलाले डिजिटल तथा अनलाइन हिंंसा झेलिरहेका छन्। त्यसमा पनि सार्वजनिक काामा संलग्न राजनीतिज्ञ महिला, पत्रकार महिला, सीमान्तीकृत महिला यसको बढी मारमा परेको युएन वुमनले जनाएको छ।
नेपाल प्रहरीको साइबर ब्युरोका सूचना अधिकृत तथा प्रवक्ता दीपकराज अवस्थीको विचारमा नेपाली समाजमा पहिलादेखि नै महिलामाथि गरिने हिंसाको प्रतिविम्ब पछिल्लो समय अनलाइन या डिजिटल माध्यमबाट हुने गरेको हो। यस्तो हिंसा गर्नेमा नजिकका केटा साथी, सम्बन्धबाट छुटेको पे्रमी र पूर्वपति हुने गरेको देखिन्छ।
यी सम्बन्धहरूले महिलाको चरित्र हत्या गर्ने गरी तस्बिर पोस्ट गर्ने, चरित्रहीन देखिने गरी तस्बिर सम्पादन गरी नक्कली आइडीबाट पोस्ट गरिदिने, भिडियो बनाएर पोस्ट गरिदिनेजस्ता आपराधिक गतिविधि गर्छन्। ‘सम्बन्ध बिगे्रपछि नजिकका साथी, पे्रमी या पूर्वपतिले यस्तो गतिविधि गरेको देखिन्छ,’ उनले भने।
अनलाइनमार्फत बालिकासमक्ष पुग्ने, कुराकानी गर्ने, यौनजन्य अपराध गर्ने र उनीहरूलाई धाकधम्की दिई यौन सम्बन्ध राख्न बाध्य पार्नेजस्ता अपराधहरू गरेको देखिन्छ। यस्तो कारणले महिलाहरू बेइज्जत हुने डरले सहेर बस्ने, कतिपय त उजुरी गर्नै नजाने गरेको देखिन्छ। ‘सबै हिंसाहरू उजुरीसम्म आइपुगेका छैनन्। समाजमा यस्तो हिंसा अझ बढी छ,’ प्रवक्ता अवस्थीले भने।
डिजिटल हिंसाकै तनाव झेल्न नसकेर बालिकाहरूले आत्महत्या गर्ने, आत्महत्याको प्रयास गर्ने र मानसिक तनावमा पर्ने गरेको पाइएको अवस्थी बताउँछन्।
नेपाल मात्र नभई सूचना तथा प्रविधिको विकाससँगै विश्वभरि महिलामाथिको डिजिटल हिंसा बढिरहेको प्रति गम्भीर बनेको युएन वुमनले जनाएको छ। वुमनका अनुसार यस्तो हिंसाबाट प्रभावित हुनेमा ७३ प्रतिशत त पत्रकार महिला मात्र छन्। यस्तो हिंसाले महिलामाथि जीवनपर्यन्त मानसिक आघात पर्ने, सामाजिक, पारिवारिक तथा आर्थिक असर पर्ने गरेको छ। यस्तो हिंसा एसिया प्यासिफिक राष्ट्रहरूमा तुलनात्मक रूपमा बढी हुने गरेको देखिन्छ।
युएन वुमनकी नेपाल प्रतिनिधि पेट्रियिसा फ्रेन्डान्डेज फ्याचेकोले महिलाका लागि अनलाइन तथा डिजिटल हिंसाले न्यूनतम मानवअधिकारको हनन भएको छ। स्वतन्त्रपूर्वक बोल्ने, अभिव्यक्ति दिने र अनलाइनमार्फत सुरक्षित व्यवसायी हुने अधिकार प्रयोग गर्नबाट वञ्चित भएका छन्।
डिजिटल हिंसाले महिलालाई असुरक्षित बनाएकाले महिला हिंसाविरुद्धको १६ दिने अभियान डिजिटल हिंसाविरुद्धमा केन्द्रित छ। फ्याचोकेको विचारमा सूचना तथा प्रविधीमा भएको विकासले व्यावसायिक अवसर प्रदान गरेको भए पनि महिलामाथि डिजिटल हिंसाको अन्त्य गर्नु पहिलो सर्त रहेको बताउँछिन्। ‘पहिले हिंसाको अन्त्य गरे महिलाका लागि प्रविधि आर्थिक तथा सामाजिक विकासका लागि अवसर बन्छ,’ उनले भनिन्।
यसका लागि सबै राष्ट्रले तत्कालै नीति तथा कानुन बनाएर डिजिटल हिंसाको अन्त्य गर्न युएन वुमनले आह्वान गरेको छ।
प्रकाशित: १३ मंसिर २०८२ ०९:०७ शनिबार





