५ जेष्ठ २०८१ शनिबार
image/svg+xml
समाज

बल्न छोडे तुलसीपुरका सडकबत्ती

तुलसीपुर बजारका सडकका दायाँबायाँ राखिएका बत्ती बल्न छोडेको तीन वर्ष पुग्नै लाग्यो। २०७३ सालमा सडक बत्ती जडान गर्ने सम्झौता भएपछि २०७४ सालतिर जडान भए।

यसपछि ती सौर्य सडक बत्तीको टिकाउ भनेको केहीको एक वर्ष भयो भने केही बत्ती बढीमा डेढ वर्ष टिके। यसपछि सबै सडक बत्ती बल्न छोडे। राति बल्नुपर्ने बत्ती बल्न छाडेपछि  पैदलयात्रीलाई मात्र सास्ती छैन, वरपरका व्यवसायीलाई पनि निकै समस्या हुने गर्छ। ‘सडक बत्ती नाम मात्रैका भए। बल्न छोडेको धेरै वर्ष भयो’, तुलसीपुरका सुनचाँदी व्यवसायी तुलसीराम सुनारले भने, ‘हाम्रा पसलमा सीसी क्यामेरा त छन् तर बत्ती नै नभएपछि त्यो पनि देखिन समस्या हुने गरेको छ।’

तुलसीपुरका विभिन्न ठाउँका पसलमा चोरी भए पनि चोरी गर्ने व्यक्तिलाई पत्ता लगाउन निकै समस्या हुने गरेको जनाइएको छ। सडक बत्ती नबल्दा सीसी क्यामेराले देखाए पनि अनुहार चिन्न गाह्रो हुन्छ। बत्ती बल्न छोडेको लामो समय भइसक्दा पनि मर्मतका लागि कुनै पहल भएको देखिंदैन। अहिले सौर्य सडकबत्ती बल्न छोडेपछि सम्बन्धित टोल विकास संस्थाले आफूहरूले नै बत्ती जडान गरेर बाल्ने गरेका छन्।

सौर्य बत्तीमा अन्य बत्ती जडान गरेर भए पनि काम चलाउन गर्ने गरिएको तुलसीपुर–५ स्थित प्रतिभा टोल विकास संस्थाका अध्यक्ष प्रेम योगीले बताए। ‘हाम्रो टोलमा १५ वटा यस्ता बत्ती जडान गरिएको हो। ती एक वर्षसम्म मात्रै बले’, उनले भने, ‘खासमा पाँच वर्ष ग्यारेन्टी भनेर हामीलाई भने पनि सबैको मिलाएर पाँच वर्ष रहेछ। ब्याट्री त दुई वर्षको मात्रै रहेछ। यो कुरापछि ब्याट्री बिग्रिएपछि आएका इञ्जिनियरले भनेपछि मात्रै हामीले थाहा पायौं।’

यी बत्ती मर्मत गरिदिने भनी पटकपटक आश्वासन दिने गरेको भए पनि कसैले ध्यान नदिएको उनको गुनासो छ। अहिले कसैले चासो नदिएपछि आफैंले बत्ती राखेर सडकमा बत्ती बाल्ने गरेको उनको भनाइ छ। बजारमा मात्र होइन, अन्य स्थानमा पनि सौर्यबत्ती जडान गरिएको थियो। तुलसीपुर–१९ छिल्लीकोटको मालिका मन्दिरमा पनि बत्ती जडान  गरिएको थियो। तर, त्यो बत्ती पनि बिग्रिएको लामो समय भएको स्थानीय अगुवा प्रविर पुनले बताए। ‘हामीले पटकपटक जानकारी गरायौं’, उनले भने, ‘तर, त्यो बत्ती बिग्रिएको लामो समय कसैले पनि चासो देखाएनन्।’

तुलसीपुरका विभिन्न स्थानमा १२५ सौर्य बत्ती जडान गरिएको छ। तीन पटक गरेर ती बत्ती जडान गरिएको हो। पहिलो पटक ३५  बत्ती जडान गरिएको हो। ती बत्तीमा रु. ३६ लाख ३६ हजार लगानी लागेको थियो। त्यस्तै दोस्रो पटक रु. ७० लाख बजेट र १० प्रतिशत स्थानीयको सहभागितामा सडक बत्ती जडान गरिएको हो। त्यस्तै तेस्रो चरणमा विभिन्न सार्वजनिकस्थल, बाटो, टोल, शवदाहगृह लगायतका स्थानमा बत्ती जडान गरिएको इञ्जिनियर पवनकुमार योगीले बताए। ‘हामीले तीन चरणमा सडक बत्ती जडान गरेका हौ। यहाँ विभिन्न ठाउँमा १२५ वटा सडकबत्ती जडान गरिएको छ’, उनले भने, ‘तर, अहिले केही स्थानमा बत्ती जडान गरिएको छ।’

उनका अनुसार ब्याट्रीको पाँच वर्ष, प्यानलको १५ वर्ष ग्यारेन्टी भएको बताए। प्यानलमा धुलो लाग्दा बत्ती नबल्ने समस्या रहने उनको भनाइ छ।

प्रकाशित: ५ वैशाख २०७९ ०२:०५ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App