१९ जेष्ठ २०८१ शनिबार
image/svg+xml
समाज

जग्गाधनी पुर्जा पाएपछि मुसहर समुदाय हर्षित

जग्गाधनी लालपुर्जा पाएपछि खुसी देखिएका सिन्धुलीको दुधौली नगरपालिकाका मुसहर समुदाय। तस्बिरः अनिल/नागरिक

दुधौली नगरपालिकाकी पनिया मुसहर पहिलोपटक आफ्नो नाममा जग्गा पाउँदा दङ्ग परिन्। श्रीमान बनुवा मुसहर र उनको संयुक्त नाममा जग्गाधनी पुर्जा सरकारले जारी गरी हातमा थमाइदिँदा खुसीको सीमा रहेन उनमा।  

राष्ट्रिय भूमि आयोगले देशमै पहिलोपटक सिन्धुलीको दुधौली नगरपालिकाका भूमिहिन दलित तथा सुकुम्बासीलाई जग्गाधनी पुर्जा वितरण गर्ने क्रममा ति मुसहर दम्पत्तिको नाममा पुर्जा बनेपछि उनीहरु हर्षित भएका हुन्। दुधौली नगरपालिका वडा नं. ६, ७ र ९ का १०६ घर दलित मुसहर परिवारलाई आयोगले देशमै पहिलोपटक जग्गाधनी पुर्जा वितरण गरेको छ। भूमिहिन मुसहर समुदायले वर्षौदेखि उपभोग गर्दै आएको जग्गा उनीहरुकै नाममा नेपाल सरकारले पुर्जा उपलब्ध गराएको हो।

मुसहरलाई अधिकतम पाँच कठ्ठासम्म जग्गाको लालपुर्जा आयोगले दिएको छ। जग्गाधनी पुर्जा पाएपछि मुसहर परिवार अरु नागरिक सरह भएको भन्दै खुसी भएका छन्। दुई वर्ष अगाडी बागमती प्रदेश सरकारले नमुना मुसहर बस्ती निर्माण गरी मुसहर समुदायलाई हस्तान्तरण गरेको थियो। दुई वर्षअघि घर र अहिले लालपुर्जा पाएका छौं,' बनुवाले भनिन्, 'घरसँगै जग्गाधनी पुर्जा पाउँदा हामी अरु नागरिक सरह भएका छौं, त्यसैले हर्षित छौं।  

आफू बसेको ठाउँबाट कहिले हट्नुपर्छ होला भन्ने दिनरात चिन्ता थियो, अब चिन्तामुक्त भएका छौ,' अर्की स्थानीय फेकनी सदाले भनिन्, 'हातमा जग्गाधनी पुर्जा पाउँदा खुसी छु। राष्ट्रिय भूमि आयोगले भूमिहिन दलित तथा भूमिहिन सुकुम्बासीलाई जग्गाधनी पुर्जा वितरणमा पहिलो प्राथमिकतामा राखेको आयोगका अध्यक्ष केशब निरौलाले जानकारी दिए।

'पहिलो प्राथमिकतामै भएकाले सिन्धुलीको दुधौलीका मुसहर समुदायले देशमै पहिलोपटक लालपुर्जा पाउन सफल भएका छन्,' उनले भने। आइतबार दुधौली नगरपालिका ९ दोकानडाडामा एक कार्यक्रमका बीच भूमि व्यवस्था तथा सहकारी विकास मन्त्री शशी श्रेष्ठले १०६ घर परिवालाई भूमिहिन दलित तथा सुकुम्बासीलाई जग्गाधनी पुर्जा वितरण गरेकी थिइन्। मुसहर समुदायले पाएको जग्गा १० वर्षसम्म बिक्री गर्न भने पाउने छैनन्।

प्रकाशित: २१ चैत्र २०७८ १४:३९ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App