१५ असार २०८१ शनिबार
image/svg+xml
समाज

भूपेन्द्र हत्या प्रकरण: तीन अभियुक्त पुनः पक्राउ

लम्कीचुहा नगरपालिका–१ का २३ वर्षीय भूपेन्द्र बडुवालको हत्यामा संलग्नको आरोपमा ३ जना अभियुक्त पुनः पक्राउ परेका छन्।

कैलाली जिल्ला अदालतले धरौटीमा रिहा गरेका बर्दगोरिया गाउँपालिका–२ का २५ वर्षीय लोकेन्द्र कुँवर र बर्दगोरिया ठाकुरबाबा–३ गोदानका २६ वर्षीय सन्तोष भनिने सवीनजंग शाही र लम्की चुहा नगरपालिका–५ का २८ वर्षीय विकास खड्का उच्च अदालतको आदेशपछि पुनः पक्राउ परेका हुन्।

कैलाली जिल्ला अदालतको धरौटीमा रिहा गर्ने आदेश बदर गर्दै उच्च अदालत दिपायलले थुनामा राखी मुद्दाको पुर्पक्ष गर्ने आदेश दिएकाले उनीहरू लाई आइतबार साँझ पक्राउ गरिएको कैलाली जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक वेदराज जोशीले बताएका छन्।

हत्यामा संलग्नको अभियोगमा पक्राउ परेका १२ मध्ये ३ जनालाई गत मंसिर २४ गते कैलाली जिल्ला अदालतका न्यायाधीश खेमराज भट्टको इजलाशले धरौटीमा रिहा गर्ने आदेश दिएको थियो भने ९ जनालाई पुर्पक्षका लागि कारागार पठाएको थियो। कुँवर र शाहीलाई १ लाख ५० हजार र खड्कालाई ७५ हजार धरौटी लिएर रिहा गरिएको थियो।

गत फागुन ५ गते उच्च अदालतले जिल्ला अदालतको आदेशलाई बदर गर्दै पुर्पक्षका लागि थुनामा राख्न आदेश दिएको थियो। उनीहरूलाई रिहा गरिएपछि आर्थिक चलखेलमा हत्यामा संलग्नलाई धरौटीमा रिहा गरेर बचाएको भन्दै पीडितका आफन्तले विरोध गरेका थिए।

मंसिर २७ गते लम्कीबाट धनगढी आएर भूपेन्द्रका आफन्त तथा स्थानीयले धनगढीस्थित जिल्ला अदालतको गेटअगाडि प्रदर्शन गरेका थिए भने धरौटीमा रिहा गरेकोप्रति असन्तुष्टि व्यक्त गर्दै न्यायका लागि भनेर हत्या गरिएका भूपेन्द्रको ‘अस्तु’ लगेर उनका आमा–बुवाले अदालतका मुख्य न्यायाधीश जयानन्द पनेरुको कार्यकक्षमा पुगेर बुझाएका थिए।

जिल्ला सहायक न्यायाधिवक्ता, जिल्ला प्रहरी कार्यालय कैलालीका प्रमुख प्रहरी उपरीक्षक विश्व अधिकारीको समेत उपस्थितिमा हत्यामा संलग्नलाई धरौटीमा रिहा गरिएकाले न्यायको माग गर्न न्यायधीशलाई छोराको आत्मा(अस्तु) बुझाएको भूपेन्द्रका बुवा डम्बर बडुवालले बताएका थिए।

त्यतिबेला न्यायाधीशको कार्यकक्षमा भएको छलफलमा धरौटीमा रिहा भएकाविरुद्ध उच्च अदालतमा पुनरावेदन गर्ने र दोषीलाई कानुनी दायरामा ल्याउने विश्वास पीडितका आफन्तलाई दिलाइएको थियो। धरौटीमा रिहा गर्ने आदेश बदरका लागि सरकारी वकिलको कार्यालयले उच्च अदालतमा पुनरावेदन दिएको थियो।

गत कात्तिक २३ गते टीकापुरमा दुई किलोमिटर लखेट्दै फिल्मी शैलीमा खुकुरी र चक्कु प्रहार गरेर भुपेन्द्रको क्रूरतापूर्वक हत्या गरिएको थियो। उनको हत्यामा संलग्न भनेर २१ जनाविरुद्ध मुद्दा दर्ता गरिएको थियो। फरार रहेकामध्ये विकास शेरचनले गत फागुन २६ गते जिल्ला अदालतमा गएर आत्मसमर्पण गरेका थिए।

मुख्य नाइकेसहित ८ जना अझै फरार

उनको हत्यामा संलग्न मुख्य नाइके नवीन रावलसहित ९ जना अझै फरार रहेको प्रहरीले बताएको छ। चिरन्जीवी जंग शाही, हिमाल शाही, जयन्द्र शाह, रोशन बहादुर शाही र अशोक रावल फरार रहेको प्रहरी नायब उपरीक्षक जोशीले बताएका छन्।

फरारहरू भारततर्फ भागेको प्रहरीको भनाइ छ। क्रुर ढंगले हत्या गर्ने रावल समूहका १५ जनालाई मुलुकी अपराध संहिताबमोजिम जीवित रहेसम्म कैद सजाय, शाहको समूहका ४ जनासहित ६ जनलाई जन्म कैदको सजाय माग दाबी गरी मुद्दा दर्ता गरिएको थियो।

कैलालीमा तीन वर्षदेखि संगठित रूपमा अपराध गरिरहेको समूहले क्रूरतापूर्वक बडुवालको हत्या गरेको थियो। यो समूहको सञ्जाल काठमाडौं लगायत धेरै जिल्लामा रहेको भूपेन्द्रको हत्यापछि प्रहरीको अनुसन्धानबाट खुलेको थियो। कैलालीका प्रहरी उपरीक्षक विश्व अधिकारीले यो समूहका व्यक्तिले यसअघि पनि ज्यान मार्ने उद्देश्यले काठमाडौं र कैलालीमा आधा दर्जन बढीलाई खुकुरी प्रहार गरेको बताएका छन्।

संगठित रूपमा अपराधमा संलग्न यो समूहका व्यक्तिलाई कारबाही नहुदाँ निर्धक्कसँग हातहतियार बोकेर आपराधिक गतिविधि गर्दै आएका थिए। पेस्तोल, बन्दुक, खुकुरीलगायतका हातहतियार रहेको यो समूहका सदस्यले चन्दा, फिरौती, कमिसन उठाउने गरेका थिए। यो समूह परिचान गर्नेको काठमाडौँको डन र भारतका डन तथा अपराधिक समूहसँगसमेत सम्बन्ध रहेको प्रहरीको आँकलन छ।

कपिल श्रेष्ठले गाह्रो पर्‍यो भनेर बोलाएकाले लम्कीबाट गएका भूपेन्द्रलाई टीकापुरको जमरापुल नजिकबाट दुई किलोमिटर लखेट्दै लगेर टीकापुरको सिद्धार्थ होटलनजिक कौशी बिष्टको घरको आगनमा पेट र छातीको भागमा २ पटक, पिठ्यूँको भागमा ३ पटक र टाउकोको पछाडिको भागमा एकपटक धारिलो हतियार प्रयोग क्रुर ढंगले हत्या गरिएको प्रहरीले बताएको छ।

प्रकाशित: १३ चैत्र २०७८ ०२:४० आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App