१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
समाज

धन्यवाद पाउँदा औधि खुसी हुन्छिन् उनी

सरकारले उपभोक्ता र सेवाग्राहीहरुका गुनासा तथा समस्याहरुलाई सम्बोधन गर्ने उद्देश्यले 'हेलो सरकार' डेस्क स्थापना गरेको एक दशक भयो। त्यति बेलादेखि नै हेलो सरकारको कक्षमा कार्यरत छिन्, सीता ढकाल। लामो समयदेखि जनताको गुनासो सुन्दै आएकी उनी आम नागरिकका गुनासा र समस्या बुझेर समाधानको प्रयास गर्न पाएकोमा औधि खुसी छिन्।  एउटा माध्यमको रुपमा काम गरेर उपभोक्ता वा सेवाग्रहीको समस्या हल भएर धन्यवाद पाउँदा औधि खुसी लाग्छ।  

‘हेलो सरकार जनताको आशाको केन्द्र बनेको छ,’ शाखा अधिकृत ढकालले नागरिकसँग भनिन्, ‘समस्या समाधानको बाटो पहिल्याउने माध्यम बन्दा खुसी लागेको छ।’ एक दशकदेखि हेलो सरकार सञ्चालनमा आए पनि पछिल्लो परिमार्जित पोर्टल २ वर्ष अघिबाट मात्र सञ्चालनमा आएको उनले बताइन्।

यही दुई वर्ष भित्रमा मात्र हेलो सरकारमा १७ हजारभन्दा बढी गुनासो आए। जसमा हेलो सरकारको कक्षबाट ११ हजार २ सय ६७ वटा फर्छ्याैट भएको उनी बताउँछिन्। यीमध्ये केही समाधानको प्रक्रियामा रहेको उनले जानकारी दिइन्।

एक वर्षअघि जारको पानी गुणस्तर खस्किएको भन्दै उपभोक्ताबाट आएको गुनासो सम्बोधन गर्दा पसलेलाई २० लाख रुपैयाँसम्म जरिवाना गराएको उदाहरण उनीसँग छ। ‘यहाँ आएका थुप्रै गुनासाहरुको सम्बोधन भएको छ,’ उनले भनिन्, ‘सफलताका कथाको रूपमा प्रस्तुत गर्न पाउँदा हामीलाई खुसी लाग्छ। तरपनि गर्नुपर्ने धेरै छ।’

गुनासो समाधान हुँदा कतिपयले निकै खुसी भएर धन्यवाद दिने गरेको उनको अनुभव छ। ‘हामीले सम्बन्धित निकायमा एक कल गरिदिएको आधारमा थुप्रैको जीवन बच्ने गरेको छ,’ उनले भनिन्, ‘यो गुनासो समाधान गर्ने कक्ष मात्र हैन जनतालाई गरेका वाचा पूरा गर्ने सरकारको दायित्व पनि हो।’

हेलो सरकारले सर्वसाधारणबाट आउने गुनासाहरु कुन कुन कार्यालयहरूसँग सम्बन्धित छन भनेर वर्गीकरण पनि गरेको छ। जसमध्ये २ वर्षको अवधिमा राष्ट्रिय सूचना प्रविधि केन्द्रमा २ हजार ३०, प्रहरी प्रधान कार्यालयमा १ हजार २ सय ३२, नेपाल विद्युत प्राधिकरणमा ६ सय ४६, नेपाल दूरसञ्चारमा ४ सय ६३, यातायात व्यवस्था विभागमा ४ सय २६ र काठमाडौं महानगरपालिकामा ३ सय ४८ वटा गुनासाहरु रहेका छन्।  

यी गुनासामध्ये बेवसाइट देखिएका समस्याबारे १ हजार सय ३६, सोधपुछ सम्बन्धी ८ सय २७, कार्यालय अभिलेख सम्बधी ७ सय ७८, विद्युत प्राधिकरणको अस्तव्यस्तताबारे ६ सय ३७, सुझाव सम्बन्धी ६ सय १८ र सडक पुलसँग सम्बन्धी ५ सय २२ रहेका छन्।  

काम गर्दाको अनुभव साँझा गर्दै उनले भनिन्, ‘समयसापेक्ष गुनासा पनि थुप्रै आउने गरेका छन्। हामी सम्बन्धित निकायमा समाधानका लागि पुर्‍याउने गर्छौ।’ ठगिएको, लुटिएकोदेखि पुल भत्केको र सरकारी सम्पती दुरुपयोग भएको समेतका गुनासो आउने गरेको उनले बताइन्।  

गुनासो पठाएलगत्तै रेसपोन्स गर्ने कार्यालय र लामो समयसम्म बेवास्ता गर्ने कार्यालय दुवै रहेको उनले सुनाइन्। उनले भनिन्, ‘लामो समयसम्म रेस्पोन्स नगर्नेलाई फलोअप गर्छौ। त्यति गर्दा पनि मानेनन् भने कानुनी बाटोमा लाग्छाैं।’  

गुनासाहरु प्राप्त गर्नका लागि हेलो सरकारका माध्यमहरुमा नेशनल कल, इन्टरनेशनल कल, फेसबुक, ट्वीटर, स्काइप, भाइबर, इमो, बेवसाइट, इमेल, फ्याक्स प्रयोग गरिरहेको छ। त्यस्तै आफैं उपस्थित भएर चिठीमार्फत पनि सर्वसाधारणले आफ्ना गुनासाहरु राख्ने गरेका छन्। जसमध्ये पनि आफैं उपस्थित भएर, कल र फेसबुकमार्फत गुनासो गर्नेहरुको संख्या धेरै छ। सर्वसाधारणले गरेको उजुरी र टिपाएको गुनासाका आधारमा बजार अनुगमनमा सक्रियता बढेको ढकालको अनुभव छ।  

हेलो सरकारले गुनासाका लागि टोल फ्रि नम्बर, ११११, अफिस नम्बर ४२११०८७, भाइबर ९८५११४५०४५, तथा फेसबुक तथा ट्वीटरमा ‘हेलो सरकार’ रहेको जनाएको  छ। ‘यहाँ आएका गुनासोलाई सबैभन्दा पहिला हामी कुन कार्यलयसंग सम्बन्धीत हो भन्ने वर्गिकरण गर्छौ,’ ढकालले सुनाईन्, ‘त्यसपछि कुन कार्यलय अन्तर्गतको हो त्याहाँ मेल गर्छौ।’ विगतको समयमा केन्द्रीय कार्यलयमा मात्र मेल पठाउँने गरेपनि  पछिल्लो समय स्थानीय तहमा समेत सिधै पठाउँने  गरेको उनले सुनाईन्।

यो पनि पढ्नुहोस्

जताततै ठगिन्छन् उपभोक्ता र सेवाग्राही

यो पनि पढ्नुहोस्

ठगिए के गर्ने? उजुरी/गुनासो कहाँ दिन सकिन्छ? कारबाही हुन्छ र?

प्रकाशित: १ चैत्र २०७८ १३:०८ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App