११ जेष्ठ २०८१ शुक्रबार
image/svg+xml
समाज

आज महाशिवरात्रि पर्व मनाइँदैः पशुपति क्षेत्र झकिझकाउ

हिन्दुहरूको महान् पर्व महाशिवरात्रि मंगलबार (आज) मनाइँदैछ। यसपटकको शिवरात्रिका लागि सोमबारसम्म मन्दिर क्षेत्रलाई विभिन्न थरीका फूल र बत्तीले सजाएर झकिझकाउ पारिएको छ। फोटो खिचेर पशुपतिनाथको दर्शनलाई स्मरणीय बनाउन चाहने भक्तजनका लागि मन्दिर परिसरमा सेल्फी प्वाइन्टहरूको समेत व्यवस्था गरिएको छ।

शिवरात्रिको अघिल्लो दिन (सोमबार) नै मन्दिर क्षेत्रमा भक्तजनको भिड बढेको थियो। कोरोना महामारीको जोखिम कायमै भएकाले यसपटक महाशिवरात्रिमा मेला भर्न आउने भक्तजनको स्वास्थ्य सुरक्षाको ख्याल राख्दै पशुपति क्षेत्र विकास कोषले मास्क र सेनिटाइजर अनिवार्य गरेको छ।

मन्दिर परिसर क्षेत्रमा साधुसन्तको आगमन बढेको छ। चार सयजति नागाबाबाले मन्दिर परिसरभित्र आआफ्नो धुनीमा स्थान ओगटेका छन्। नागाबाबाहरूले भक्तजनलाई खरानीको टीका लगाइदिएर मयूरको प्वाँखको कुचोले हानेर आशीर्वाद दिइरहेको दृश्य पशुपति मन्दिर परिसरमा देख्न सकिन्छ। कोषका सदस्य सचिव डा. मिलनकुमार थापाका अनुसार यसपटक नेपालबाहिरका हिन्दु पर्यटक पनि आउने निश्चित बनेको छ।

मलेसिया, भारत, इन्डोसेनिया, श्रीलंकालगायत देशबाट विशेष पूजाका लागि भक्तजन आउने तय भएको छ। कोषले मेला व्यवस्थापन गर्न सुरक्षा व्यवस्थापन तथा अनुगमन, प्रचारप्रसार व्यवस्था, दर्शन, चन्दन, मन्दिर एवं रात्रिकालीन व्यवस्था, आवास भोजन तथा भौतिक पूर्वाधार व्यवस्था, स्वास्थ्य सेवा व्यवस्था, स्वयंसेवक परिचालन, मूल्यांकन तथा तथ्यांक संकलनलगायत १० वटा उपसमिति गठन गरी मेला व्यवस्था गरिरहेको उनले जानकारी दिए।

‘यसपटक मेला भर्न मन्दिर परिसरमा १० लाख भक्तजन आउने अनुमान गरिएको छ,’ सदस्य सचिव थापाले नागरिकसँग भने, ‘यसपटक कोषले भक्तजनको र साधुसन्तको यकिन तथ्यांक संकलन गर्न मूल्यांकन समिति नै गठन गरी काम अघि बढाएको छ ।’ उनले थपे, ‘साधुसन्तको यकिन तथ्यांक नहुँदा बर्सेनि बिदाइको समयमा दक्षिणा दिँदा अपुग हुने गरेको थियो। त्यही भएर पहिल्यै यकिन तथ्यांक भए दानदक्षिणा दिन सहज हुन्छ।’

मेलालाई सुरक्षित र व्यवस्थित बनाउन नेपाल प्रहरीको अगुवाइमा सशस्त्र प्रहरी बल तथा राष्ट्रिय अनुसन्धान विभागसमेतबाट सुरक्षा जनशक्ति परिचालन गरिएको सदस्य सचिव थापाले जनाए। यसैगरी मेला अवधिभर लाइन र भक्तजनलाई सहज रूपमा दर्शन गराउन तालिमप्राप्त ५ हजार स्वयंसेवक खटाइएको परिषद् सदस्य अर्जुनप्रसाद बास्तोलाले जनाए। ‘स्वयंसेवकहरू दर्शन लाइनको सहजीकरणका लागि कोर क्षेत्रबाहिर परिचालित हुनेछन्,’ सदस्य बास्तोलाले भने, ‘विगतबाट पाठ सिक्दै कोषले स्वयंसेवकहरूबाट दर्शनार्थीहरूलाई निर्देशनात्मक व्यवहार नहोस् भनेर तालिम दिइएको छ।’ उनले थपे, ‘बरु सभ्य, सुसंस्कृत एवं नम्र भाषा र मर्यादित व्यवहार गर्न उनीहरूलाई विशेष अनुरोध गरिएको छ।’

५ हजार साधुसन्त आउने

साधुसन्त तथा धार्मिक कार्यक्रम व्यवस्था उपसमितिका संयोजक तथा परिषद् सदस्य अर्जुनप्रसाद बास्तोलाका अनुसार यसपटक पाँच हजारको हाराहारीमा साधुसन्त आउने कोषको अनुमान छ। त्यहीअनुसार कोषले सबै तयारी गरेको छ। ‘आइतबार एकादशीका दिन विभिन्न अखडाका चार सय हाराहारीमा नागाबाबा पशुपति क्षेत्र मन्दिरभित्र प्रवेश गरिसक्नुभएको छ,’ संयोजक बास्तोलाले भने, ‘उहाँहरू मन्दिरभित्र जसरी बसे पनि बाहिर निस्कँदा गम्छा बेरेर निस्कनुहुन्छ ।’ उनले थपे, ‘नागाबाबाहरू मन्दिरभित्र धुनी बालेर बस्नुभएको छ।’ गुठी संस्थान र कोष संयुक्त रूपमा दक्षिणा व्यस्थापन गर्ने प्रबन्ध मिलाइएको छ।

यसैगरी मंगलबारका दिन दर्शनलाई सहज बनाउन पार्किङ तथा ट्राफिक व्यवस्थापन उपसमिति गठन गरिएको छ। लाइनलाई सहज बनाई छिटो दर्शन गराउन तिलगंगाको कोरिडोरको उपलब्ध ठाउँ, पशुपति क्षेत्र विकास कोषको कार्यालय, महानगरीय प्रहरी वृत्त, सिफल चौरको उपलब्ध ठाउँ, गुह्येश्वरी पारी गरी पाँच स्थानमा पार्किङ व्यवस्था गरिएको छ।

यसैगरी दर्शन मार्ग गुहेश्वरी–गौरी घाट उमाकुण्ड हुँदै उत्तरढोकाबाट, मित्रपार्क–जय बागेश्वरी हुँदै पश्चिम ढोकाबाट र बत्तीसपुतली–गौशाला हुँदै एयरपोर्ट तिलगंगा भएर दक्षिण ढोकाबाट लाइन गरी बाहिरी रूपमा तीन स्थानबाट दर्शन लाइनहरूको व्यवस्था गरिएको छ।

‘भक्तजनको स्वास्थ्य सुरक्षाका लागि स्वास्थ्य शिविर र भोजन तथा आवासको समेत व्यवस्था गरिएको छ,’ सदस्य सचिव थापाले भने, ‘महाशिवरात्रिको भोलिपल्टदेखि वनकाली क्षेत्रमा एक हप्ते मेला बजार सञ्चालन गर्न यसपटक कोषले अनुमति दिइसकेको छ।’ उनले थपे, ‘शिवरात्रि मेलालाई यादगार बनाउन भक्तजनका लागि १०–१२ स्थानमा सेल्फी प्वाइन्टहरूको व्यवस्था गरिएको छ। यसले मेलालाई थप रमाइलो बनाउनेछ।’

प्रकाशित: १७ फाल्गुन २०७८ ०१:१२ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App