२२ असार २०८१ शनिबार
image/svg+xml
समाज

बालुवामा उब्जने खेतीमा आकर्षित सुनसरीका किसान

सुनसरीका किसानहरु बालुवामा उब्जने खेतीमा आकर्षित भएका छन्। अस्गर अली बालुवामा मोहर फलाउने ध्याउन्नमा लागेका हुन्। उनको दैनिकी र लक्ष्य भनेकै कोशीको बाढीले बन्जर बनाएको जमिनमा फसल उब्जाउनु हो। कोशी गाउँपालिका वडा नम्बर ५ कुम्याही, हुर्कीटोल घर भएका अली बालुवामा खेती गर्ने नमूना कृषक समेत हुन्।

उनले यस अघिका बाली भने उठाई सकेका छन्। मनग्यै आम्दानी गर्दै आएका अलीले यतिबेला १२ बिगाह भन्दाबढी बालुवामा मौसमी खेती लगायतका विभिन्न बाली लगाएका छन्। गाउँपालिकाको सहयोगमा राजस्थान समेतको भ्रमण गरी सिकेको ज्ञानलाई व्यवहारमा उतारेका अलि यतिबेला कागती खेतीसँगै अन्य बाली उब्जाउको क्रममा छन्।

अलीले बालुवामा लगाएको बालीमा डिप बोरिङ र थोपा सिँचाईको माध्यमबाट पानीको प्रबन्ध मिलाएका छन्। जलकुम्भी लगायतका झारपात कुहाएर प्राङगारिक मल बनाइएको छ। बालुवालाई उब्जाउ योग्य बनाउन बाहिरबाट माटो ल्याएर लेबलिङ गरी अलीले खेती गरेका छन्।

कृषि पेशालाई निरन्तरता दिएका अली आधुनिक खेती थालेसँगै आम्दानी समेत मनग्यै कमाएको बताउँछन्। उनी भन्छन, 'घर खर्च मज्जाले चल्छ। पहिला एउटा ट्याक्टर थियो। अहिले तीनटा भैसक्यो। राम्रो आम्दानी छ।'

अलीसँगै उनका छोरा समेत यही पेशामा छन्। ६ वर्ष विदेशमा श्रम गरेका समी उल्लाह दुःख र कष्ट सहनु परेको र कमाई समेत राम्रो नभएपछि घर फर्किएका छन्। उनी समेत बाबुले धानेको पेशामा मनग्यै कमाई देखेपछि खेती किसानीमै रमेका छन्। कोशी गाउँपालिकामा ३३ सय विगाह जग्गा बालुवा जमिन छ।

सप्तकोशीको बाढीले बालुवामा परिणत गरेको बन्जर जमिनलाई गाउँपालिकाले लेवलिङ गर्ने देखि किसानकालागि राहत प्याकेजका काममा सघाउदै आएको छ। विदेशमा कष्ट सहेर काम गरिरहेकाहरुका लागि सुनसरीको कोशी गाउँपालिकाका यी बाबु र छोराको लगन र परिश्रम पक्कै उदाहरणीय बन्न सक्छ।

प्रकाशित: ११ फाल्गुन २०७८ १०:४४ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App