१३ आश्विन २०८१ आइतबार
image/svg+xml
समाज

समुदायमै चेतना फैलाउँदै प्रहरी

दैलेख प्रहरी अपराध नियन्त्रणका लागि सचेतना कार्यक्रम गर्दै गाउँगाउँसम्म पुगेको छ। ग्रामीण भेकमा समुदाय–प्रहरी साझेदारी कार्यक्रममार्फत घरेलु हिंसा, मदिरा प्रदार्थ सेवन, लागु औषध सेवन, बालविवाह, छाउपडी प्रथालगायतबाट निम्तिने घटनाहरूबारे सचेतना कार्यक्रम गरिएको हो।

दैलेख प्रहरी जिल्लाका ११ स्थानीय तहमा अपराध न्यूनीकरणका लागि अभियान थालेसँगै पुगेको हो। प्रहरीले जनप्रतिनिधिसहित स्थानीय अगुवाहरूसँग शान्तिपूर्ण र सुरक्षित समाजका लागि समुदायसँग हातेमालो गरेर अपराध न्यूनीकरण गर्न कार्यक्रम गरिरहेको छ।

आसन्न चुनावसँगै शान्ति सुरक्षामा चुनौती देखिएकाले लागु औषध, मदिरा पदार्थ सेवन, आत्महत्या तथा घरेलु हिंसा, बालविवाहलगायत कुरा समाजबाटै निगरानी राखेमा प्रहरीलाई काम गर्न सहज हुने दैलेखका प्रहरी प्रमुख (डिएसपी) भुवनेश्वर साहले बताए। ‘समुदायसँगै विद्यालयमा पुगेर अपराधजन्य कुरा न्यूनीकरणका लागि विशेष प्रशिक्षण दिएका छौं,’ डिएसपी साहले भने, ‘अब गाउँगाउँमा अपराध न्यूनीकरणका लागि समुदायलाई जागरुक गराउने कार्यक्रम भइरहेको छ।’

भैरवी गाउँपालिकामा शनिबार प्रहरीले समुदाय–प्रहरी साझेदारी कार्यक्रम गरेको थियो। कार्यक्रममा समुदायका अगुवाले अपराध नियन्त्रण गर्न प्रहरीलाई टोलटोलबाट सहयोग हुने बताए। समुदायकै सहयोगले अपराध घट्ने र जसले गर्दा समाज सुरक्षा प्रत्याभूति हुने भैरवी गाउँपालिकाका अध्यक्ष प्रेमबहादुर बुढाले बताए। कानुन कार्यान्वयन गर्नका लागि प्रहरी युनिट ग्रामीण बस्तमा भए पनि आवश्यक सहकार्य समुदायबाट भएमा शान्ति सुरक्षा मजबुत हुने गाउँपालिकाका उपाध्यक्ष पदमकुमारी विष्टले बताइन्।

कार्यक्रममा नवराज थापाले विद्यालय र टोलटोलमा बालविवाह र छाउपडी प्रथाविरुद्धको जनचेतना कार्यक्रम समुदायका अगुवा र प्रहरीको साझेदारीमा गर्नुपर्ने बताए। प्रहरीसँग सदा जनताको साथ सहयोग भइरहने त्यसका लागि कुनै पनि समय सहयोगका लागि समुदाय सक्रिय रहेको जिल्ला समन्वय समिति दैलेखका सदस्य सर्वराज महताराले बताए। यसअघि दुल्लु नगरपालिका, आठबिस नगरपालिका, नौमुले गाउँपालिका र डुंगेश्वर गाउँपालिकामा प्रहरीले समुदाय तथा विद्यालयमा कार्यक्रम गरिसकेको छ।

प्रकाशित: १ फाल्गुन २०७८ ०२:१६ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App