८ वैशाख २०८१ शनिबार
समाज

उत्तरी गोरखामा बाक्लो हिमपात

बारपाकमा परेको हिउँ।

उत्तरी गोरखामा बाक्लो हिमपात भएको छ । बिहीबार रातीदेखि परेको हिउँ शुक्रवार दिउँसोसम्म रोकिएको छैन। चुमनुब्री गाउँपालिको छेकम्पार, सामागाउँ, ल्हो, बिही, प्रोकमा बाक्लो हिउँ परेको छ। धार्चे गाउँपालिकाको पनि अधिकांश ठाउँमा हिमपात भएको छ।  

लाप्राकको गुप्सिपाखा हिउँले ढपक्कै ढाकेको वडाअध्यक्ष राज गुरुङले बताए। गुप्सीपाखामा दुईफिट बाक्लो हिउँ जमेको छ। योपटक लाप्राकबेसीमा पनि हिउँ परेको उनले बताए । चुमनुब्री र धार्चेको लाप्राक हिउँ परिरहने ठाउँ हो। धार्चेको काशिगाउँ, केरौँजा, उहिया लगायत ठाउँमा पनि हिमपात भएको छ।  

बारपाक सुलिकोट गाउँपालिकाको बारपाक गाउँमा पनि बाक्लो हिउँ परेको स्थानीय जितबहादुर घलेले बताए। ‘शुक्रवार बिहानैदेखि हिउँ परेको र घरको छानामा हिउँ जमेको,’ उनले भने।  यस्तै अजिरकोट गाउँपालिकाको भच्चेक, नम्कीमा पनि हिउँ परेको छ । शुक्रवार बिहानै देखि हिउँ परेको स्वास्थ्यकर्मी सुमना श्रेष्ठले बताईन्।  

सिरानचोक गाउँपालिका–७ श्रीनाथकोटमा पनि हिउँ परेको छ। ‘पहिले पहिले कोटतिर हिउँ पथ्र्यो भन्ने सुनेको हो,’ वडा अध्यक्ष सुरज ढकालले भने ‘तर मैले यहाँ हिउँ परेको थाहा पाएको थिईन, अहिले हिउँले श्रीनाथमण्डली डाँडा सेताम्मै छ।’  

गोरखाको बिभिन्न ठाउँमा हिउँ परेको फोटो, भिडियो सामाजिक सञ्जालमा छपक्कै आउन थालेको छ। तल्लो क्षेत्रमा समान्य हिउँ परेकाले स्थानीयले रमाईलो मान्दै सामाजिक सञ्जालमा राखेका छन् भने उत्तरी गोरखामा चिसो अत्याधिक बढेको छ। ‘बिहीबारदेखि अहिलेसम्म हिउँ परेको छ, चिसो धेरै बढ्यो’ चुमनुब्री ७ छेकम्पारका वडा अध्यक्ष पासाङ लामाले भने ‘मानिहरु घर भित्रै बसिरहेका छन्।’

गोरखा सदरमुकाम लगायत आसपासको क्षेत्रमा पनि शुक्रवार बिहानै देखि वर्षा भएको छ। उत्तरी क्षेत्रमा हिमपात भएपछि तल्लो क्षेत्रमा चिसो हावा चलिरहेकाले अन्य दिन भन्दा जाडो महसुस गरिएको छ। बजार क्षेत्रमा पनि मानिसको चहलपहल शुक्रवार कम देखिएको छ।

प्रकाशित: २१ माघ २०७८ ०७:४६ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App