मध्यपूर्वमा युद्धसँगै कूटनीतिक प्रयास चलिरहे पनि तनाव कम हुने सङ्केत देखिएको छैन। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले स्ट्रेट अफ होर्मुजसम्बन्धी समयसीमा बढाएको केही समयमै इरानको रिभोलुसनरी गार्ड्सले सर्वसाधारणलाई अमेरिकी सैन्य उपस्थिति भएका स्थानबाट टाढा रहन कडा चेतावनी दिएको छ।
ट्रम्पले इरानलाई स्ट्रेट अफ होर्मुज खोल्न आग्रह गर्दै ऊर्जा पूर्वाधारमाथि सम्भावित आक्रमणको चेतावनी दिँदै आएको समयसीमालाई अप्रिल ६ सम्म सार्ने निर्णय गरेका थिए। उनले तेहरानकै अनुरोधमा यस्तो कदम चालेको र युद्ध अन्त्यका लागि वार्ता ‘राम्रोसँग अघि बढिरहेको’ बताए। फेब्रुअरी २८ मा अमेरिका र इजरायलले इरानमाथि आक्रमण सुरु गरेयता क्षेत्रीय द्वन्द्व चर्किंदै गएको छ।
तर इरानले भने आफ्ना सर्तमा मात्र युद्ध अन्त्य गर्ने सङ्केत दिँदै प्रतिशोधात्मक आक्रमणलाई निरन्तरता दिएको छ। यहीबीच रिभोलुसनरी गार्ड्सले ‘अमेरिकी–जियोनिस्ट शक्तिहरूले मानव ढाल प्रयोग गरेको’ आरोप लगाउँदै नागरिकलाई तत्काल सुरक्षित स्थानतर्फ सर्न आग्रह गरेका छन्। उनीहरूले अमेरिकी सेना तैनाथ रहेका क्षेत्रहरू, विशेषगरी होटलजस्ता स्थानहरू सम्भावित निशाना बन्न सक्ने चेतावनी दिएका छन्।
यस चेतावनीअघि कुवेतले आफ्नो मुख्य व्यापारिक बन्दरगाहमा ड्रोन आक्रमणबाट क्षति पुगेको जनाएको थियो। इरानी गाड्र्सले स्ट्रेट अफ होर्मुज शत्रु राष्ट्रका जहाजहरूका लागि बन्द गरिएको दाबी गर्दै पार गर्न खोजेका तीनवटा कन्टेनर जहाजलाई फर्काइएको जानकारी दिएका छन्। उनीहरूले अमेरिकी पक्षले स्ट्रेट अफ होर्मुज खुला भएको दाबीलाई ‘झुट’ भनेका छन्।
तेल बजार र विश्व अर्थतन्त्रमा यस तनावको प्रभाव देखिन थालेको छ। होर्मुजमार्फत ऊर्जा आपूर्ति अवरुद्ध हुने जोखिमले मूल्य अस्थिर बनेको छ। जापानले ऊर्जा सङ्कटको सम्भावना देख्दै कोइलाबाट चल्ने विद्युत् उत्पादनमा अस्थायी रूपमा प्रतिबन्ध हटाउने तयारी गरेको छ भने भियतनामले इन्धन कर अस्थायी रूपमा हटाएको छ।
कूटनीतिक मोर्चामा भने प्रयास जारी छन्। अमेरिकी विदेशमन्त्री मार्को रुबियो जी७ देशहरूसँग छलफलका लागि फ्रान्समा छन्। बेलायतकी विदेशमन्त्री यभेट कुपरले द्वन्द्वको शीघ्र समाधान र होर्मुजमा अवरोध अन्त्य गर्न आह्वान गर्दै इरानले विश्व अर्थतन्त्रलाई ‘बन्धक’ बनाउन नपाउने बताएका थिए।
यसबीच, अमेरिका–इरानबीच अप्रत्यक्ष वार्ताको प्रक्रिया पनि अघि बढिरहेको छ। १५ बुँदे अमेरिकी प्रस्ताव पाकिस्तानमार्फत तेहरानसम्म पुगेको र इरानले त्यसमा प्रतिक्रिया दिइसकेको जनाइएको छ। इरानले युद्ध क्षतिपूर्ति र स्ट्रेट अफ होर्मुजमा आफ्नो सार्वभौमिकताको सम्मान गर्नुपर्ने माग अघि सारेको बताइएको छ। साथै, उसले अमेरिका र इजरायलका आक्रमणहरू अन्त्य गर्नुपर्ने शर्त पनि राखेको छ।
मानवीय पक्षले पनि चिन्ता बढाएको छ। संयुक्त राष्ट्रसङ्घका मानवअधिकार प्रमुख भोल्कर टर्कले युद्धको पहिलो दिन इरानी विद्यालयमा भएको घातक आक्रमणबारे अनुसन्धान पूरा गरी न्याय सुनिश्चित गर्न वासिङ्टनलाई आग्रह गरे। प्रारम्भिक अमेरिकी अनुसन्धानले लक्षित त्रुटिका कारण टोमहाक क्रुज मिसाइल विद्यालयमा खसेको सङ्केत गरेको छ।
युद्धले सांस्कृतिक सम्पदामा पनि असर पारेको छ। तेहरानका एक वरिष्ठ अधिकारीका अनुसार अमेरिका र इजरायली आक्रमणबाट देशभर कम्तिमा १२० वटा सङ्ग्रहालय तथा ऐतिहासिक स्थलहरू क्षतिग्रस्त भएका छन्, जसमा युनेस्को सूचीमा रहेको गोलेस्तान दरबार पनि समावेश छ।
यसैबीच, इजरायलले इरानका विभिन्न क्षेत्रमा नयाँ आक्रमण तीव्र पारेको छ। तेहरान, कोम र उर्मियामा आक्रमण भएको स्थानीय सञ्चारमाध्यमले जनाएका छन्। इजरायलभित्रै भने युद्धको रणनीतिमाथि प्रश्न उठ्न थालेका छन्। विपक्षी नेता यायर लापिडले सेना धेरै मोर्चामा फैलिँदा क्षति बढिरहेको बताए।
दक्षिणी लेबनानमा हिज्बुल्लाहसँगको लडाइँका कारण इजरायली सेनाले थप सैनिक आवश्यक रहेको जनाएको छ। लेबनानको बेरुत क्षेत्रमा पनि नयाँ हवाई आक्रमण भएको रिपोर्ट आएको छ भने हिज्बुल्लाहले उत्तरी इजरायलतर्फ रकेट प्रहार गरेको जनाएको छ।
प्रकाशित: १३ चैत्र २०८२ १८:११ शुक्रबार





