१५ चैत्र २०८० बिहीबार
समाज

अभिभावकविहीनका अभिभावक मेयर दुर्गा

प्रदेश ५ को बर्दिया जिल्लाका बारबर्दिया नगरपालिकाका मेयर दुर्गाबहादुर थारु नगरप्रमुखको कुर्सी सम्हाले लगत्तै अभिभावकविहीन बालबालिकाको अभिभावक बनेका छन्।

गरिबी र अभिभावकविहीनतालाई नजिकबाट नियालेका उनी अभिभावकविहीन भएकै कारण अरु कोही बालबालिकाले गरिबी र अशिक्षाको अवस्थाबाट गुज्रन नपरोस भन्ने उद्देश्यका साथ मेयर थारुले आफ्नो नगरपालिकाभित्र अभिभावकविहीन बालबालिकाहरुको लागि आवास गृहसहितको बाल संरक्षण केन्द्रको व्यवस्था गरेका छन्।

अभिभावकविहीन बालबालिकाको अभिभावक सरकार भन्ने लक्ष्यसहित मेयर थारुले जनतासँग मेयर कार्यक्रम अन्तर्गत बाल संरक्षण केन्द्रको स्थापना गरेका हुन्।  

बारबर्दिया नगरपालिका वडा नम्बर ११ को बेलभारमा स्थापित यस संरक्षण केन्द्रमा अभिभावकविहीन २२ बालबालिका बस्दै आएका छन्।

सानैमा आमा गुमाएका र कक्षा ९ मा पढ्दापढ्दै बाबु गुमाएका मेयर थारुलाई अभिभावकविहीन भएका बालबालिकाहरुको अवस्थाबारे राम्ररी थाहा छ। अवस्था बुझेरै उनले आफू मेयरको सपथ ग्रहण गर्दा पहिलो फाइलनै अभिभावकविहीन बालाबलिकाको लागि बाल संरक्षण केन्द्र स्थापना गर्नेमा हस्ताक्षर गरी कामको थालनी गरेको उनी सुनाउँछन्।  

संरक्षण केन्द्र पुग्दा बालबालिकाहरु निकै खुसी थिए। साँझको समय चिसो मौसममा सबै साथै बसेर आगो तापिरहेका भेटिए। खाना खाँदा पनि एकले अर्कोलाई पुग नपुग ख्याल गर्ने संस्कार बालबालिकामा देखियो।  

केन्द्रमा भेटिएकी संझना चौधरी १४ वर्षकी भइन्। अभिभावकविहीन उनले तीन वर्षअघि यस संरक्षण केन्द्रमा आएपछि बल्ल जिवन अलि सहज बनेको अनुभव सुनाइन्। ‘ममी बुवा हुनुहुन्न। आफन्तका केही दिन बसे एक छाक खान पनि मुस्किल थियो,’ पुलिस बन्ने सपना बोकेकी संझनाले नागरिकसँग भनिन्, ‘बाल संरक्षण केन्द्रमा आएपछि मैले आफूलाई सुरक्षित ठानेकी छु। पढाइ पनि अघि बढाएकी छु। साथीभाईको सहयोग र मेयर सरले दशैं, माघि लगाएतका सबे त्यौहार हामीसँगै मनाउनु हुन्छ। यसले हामीलाई सुरक्षित पारिवारिक वातावरणको अनुभव दिएको छ।’

राजकुमार थारु पनि केही दिन अघि मात्र यस बाल संरक्षण केन्द्रमा आएका हुन्। आमाबुवाविहीन भएका उनी पढाइमा भने अब्बल छन्। अरुको घरमा भाडा माझ्ने काम गर्दा उनलाई मेयर थारुको सहयोगमा संरक्षण केन्द्रमा ल्याइएको हो। १७ वर्षीय राजकुमारको डाक्टर बन्ने सपना छ। ‘डाक्टर बनेर आफूजस्तै गरिब र अभिभावकविहीनहरुको निःशुल्क सेवा गर्ने मेरो लक्ष्य छ’, कक्षा १२ मा विज्ञान विषय अध्ययन गरिहेका उनले नागरिकसँगको भेटमा भने, ‘हामी जस्ता अनाथको यो बाल संरक्षण केन्द्र परिवार बनेको छ। खाना, बस्ने, पढ्ने सबै चिजको राम्रो सुविधा दिएको छ। सरहरुले संरक्षण केन्द्रमै आएर हामीलाई टिउसन पनि पढाइदिनु हुन्छ।’ उनी भावना पोख्छन्, ‘हाम्रो आफन्तकहाँ मैले काम गरेर पनि राम्ररी खान पाएको थिइनँ। पढ्ने कुरै भएन। तर संरक्षण केन्द्रले मुख्य रुपमा हाम्रो भविष्यको बारेमा ख्याल गरेको छ।’

मेयर थारुका अनुसार उनले आफूले पनि सानैमा अभिभावक गुमाएको र पीडा खेपेको अनुभव त छँदै थियो मेयर हुनु अघि पनि बारबर्दियाका होटेलमा चिया पिउँन जाँदा धेरै बालबालिकाहरु स्कुल नगएर होटेलमा भाडा माझ्ने गरेको दृश्यले छोएको थियो।

‘हामी म मेयर हुनु पूर्व धेरै बालबालिकाहरु विद्यालय बाहिर थिए, उनीहरु स्कुल नगएर होटेलमा काम गरिरहेको मैले देखेँ,’ मेयर थारुले नागरिकसँग भने, ‘त्यही बखत मैले म मेयर भएपछि पहिलो काम अभिभावकविहीनहरुका लागि बाल संरक्षण स्थापना गरी यस्ता नानीको स्याहार, आहारदेखि शिक्षा र समाजमा स्थापित गराउनेसम्मको काम गर्ने अठोट लिएँ। त्यही क्रमममा मेयर पनि भएँ।’ उनी थप्छन्, ‘हाम्रो बारबर्दिया नगरपालिकामा अभिभावकविहीनको अभिभावक सरकार बनेको छ। सबै बालबालिकाहरु विद्यालयभित्र छन्। बाल संरक्षण केन्द्रका सबै नानीहरु श्री सिम्हा मावि बर्दियामै पढ्छन्। हाम्रो पालिकाभित्रका सबै बालबालिकाहरु हाल विद्यालयभित्र छन्।’

शिक्षामा अब्बल बारबर्दिया  

बारबर्दिया नगरपालिकाले सबैभन्दा महत्व शिक्षा क्षेत्रलाई दिएको छ। शिक्षामा ३० प्रतिशतमाथि बजेट छ। त्यही भएर मेयर थारुले शिक्षा क्षेत्रको दश वर्षे शिक्षा क्षेत्र योजनानै (सन् २०२१—२०३०) कार्यन्वयनमा ल्याएका छन्। यो शिक्षाको कुनै तहको योजना नभएर शिक्षाको समग्र योजना भएको मेयर थारुले बताए।  

हालको अवस्थामा शैक्षिक अवस्था हेर्दा यहाँ बालविकासमा खुद भर्ना दर ९६.८३ प्रतिशत, कक्षा १ देखि ५ सम्मको खुद भर्नादर ९७.७ प्रतिशत र कक्षा १ देखि ८ सम्मको खुद भर्नादर ९७.१ प्रतिशत रहेको छ। भने कक्षा ९ देखि १२ सम्मको खुद भर्नादर ४७ प्रतिशत छ।  

यसैगरी नगरपालिकाले सार्वजनिक गरेको १० वर्षे शैक्षिक क्षेत्र योजनामा तीन वर्षको कक्षा १ देखि १० सम्मको अनिवार्य विषयहरुमा विद्यार्थीको सिकाइ उपलब्धि क्रमशः बढेको छ। कक्षा १ मा ०७५ मा ६३.९१, ०७६ मा ६६.०६ र ०७७ मा यो थप वृद्धि भएर ७०.२६ प्रतिशत उपलब्धि पुगेको छ। यसैगरी कक्षा ८ को शैक्षिक उपलब्धि ०७५ मा ४७.१७ प्रतिशत थियो भने यो ०७६ मा ५३.७९ प्रतिशतमा कायम भएको थियो। ०७७ मा कक्षा ८ को अनिवार्य विषयको सिकाइ उपलब्धिमा थप वृद्धि भएर ६४.४९ प्रतिशत पुगेको छ।  

कक्षा १० को ०७५ मा अनिवार्य विषयको सिकाइ उपलब्धि २.१३ प्रतिशत थियो भने ०७६ मा २.६५ प्रतिशतमा पुगेको थियो।  

‘बढ्दो विद्यार्थी संख्याको तुलनामा शिक्षक अपर्याप्ततालाई मध्येनजर गर्दै हाम्रो नगरपालिकाले सामान्यीकरण अनुदानबाट प्राथमिक तहमा ३३, निम्न माविमा ४२ र मावि तहमा ३७ शिक्षक थप नियुक्ति गरेको छ।’ उपमेयर अंजु दहितले नागरिकसँगको भेटमा भनिन्, ‘संविधानले व्यवस्था गरेको आधारभूत तहको अनिवार्य र निःशुल्क शिक्षा हाम्रो पालिकामा पूर्णत कायम गरिएको छ।’ उनले थपिन्, ‘कक्षा १ देखि १० सम्मको अनिवार्य विषयहरुको तीन वर्षको शैक्षिक उपलब्धि क्रमशः बढेको छ।’

यस्तै, नगरपालिकाले शिक्षामा ३२.१० प्रतिशत बजेट विनियोजन गरेको उनले बताइन्।

प्रकाशित: ९ माघ २०७८ १०:१७ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App