कोरोना संक्रमणको जोखिम भए पनि धार्मिकस्थल माइबेनीमा माघे संक्रान्तिका अवसरमा मेला लागेको छ। स्थानीय प्रशासनले २५ जनाभन्दा बढी भेला हुन रोक लगाउने निर्णय गरे पनि स्वतस्फुर्त रूपमा धार्मिक मेला लागेको हो।
केही वर्षयता माइजोगमाई गाउँपालिकाले नै यहाँ मेला आयोजना गर्दै आएको थियो। यो वर्ष पनि पुस २० मा सूचना प्रकाशित गरी स्वास्थ्य मापदण्ड अपनाएर मेला लगाउने जनाएको थियो। तर जिल्ला प्रशासन कार्यालयले भने जिल्लामा २५ जनाभन्दा बढी भेला हुन नपाउने गरी आदेश गरेको छ।
तर वर्षाैंदेखि धुमधामसाथ लाग्ने माइबेनी धार्मिक मेला यो वर्ष लागे पनि गत वर्षहरू जस्तो नभएको मेलामा सहभागीले बताए। ‘मेला त लाग्यो तर गत वर्षहरू जस्तो अधिक मानिस भेला भएनन्,’ माइजोगमाई गाउँपालिकाका गजेन्द्र लिम्बूले भने, ‘अहिले कोरोनाको डरले नै मेला कम भएको छ।’ माघे संक्रान्ति अवसरमा यहाँ सामान्य अवस्था हुँदा कम्तीमा ३ दिन मेला लाग्छ तर यो वर्ष एक दिनमात्रै लागेको छ। माई, पुवामाई र जोगमाईको संगमस्थल माइबेनीमा प्रायः पुस मसान्त, माघ १ र २ गते मेला लाग्ने गर्छ।
ऐतिहासिक स्थल पनि भएकाले माइबेनीमा स्थानीयले नै मेला आयोजना गर्थे। यो पटक भने स्वतस्फुर्त रूपमा मानिस भेला भएर मेला लागेको हो। मेला भर्न नेपालका मात्रै होइन, भारतको दार्जिलिङ, सिक्किम, मिरिक, सिलिगुडी, कालिम्पोङ र भुटानबाट समेत हजारौं दर्शनार्थी माइबेनी आउँछन्। प्रत्येक माघे संक्रान्तिका दिन जिल्लाका अरू मुख्य सहर नै सुनसान हुन्छन्। ती सहरका व्यापारी ग्राहक सबै माइबेनी मेला झर्छन्।
माइबेनीमा मकर नुहाउँदा मनोकांक्षा पूरा हुने विश्वास छ। नजिकै रहेको शिवालयमा सद्बीज छर्दा धर्म कमाउने विश्वासमा हरेक वर्ष यहाँ दर्शनार्थीको घुइँचो लाग्छ। मकर संक्रान्तिको दिन स्नान गर्ने, तिलको लड्डु खाने, तरुल कन्दमूल खाने परम्परा कायमै छ।
माइखोलामा परेवा उडाउने भाकल गर्नेहरूले पनि त्यसै दिन परेवा उडाउँछन्। मेलामै भेटिएका एक प्रहरीले शुक्रबार साँझसम्म यहाँ मेला नलाग्ने नै जस्तो अवस्था रहे पनि मेला लागेको हो। ‘मेला लाग्दैन भन्ने नै थियो तर आज बिहान आफसे आफ मान्छे भेला भएर मेला लागेको हो,’ उनले भने।
धर्मसिन्धुका अनुसार यस दिनको नदीस्नान उत्तम मानिन्छ। मकर संक्रान्तिमा सूर्योदय हुनुपूर्वको नदीस्नान अझ उत्तम मानिएको छ। यस दिनको नदी स्नानले कर्मसिद्धि हुने, आरोग्य ल्याउने र छालासम्बन्धी रोगको निवारण हुन्छ भन्ने विश्वास गरिन्छ।
मकर स्नानको सम्बन्ध शारीरिक शुद्धिका साथै चित्तशोधनसित पनि रहेको धार्मिक विश्वास छ। यसैले मानिसहरू माघे संक्रान्तिको अघिल्लै दिन माइबेनी पुगिसकेका हुन्छन्। बालबालिकादेखि वृद्धवृद्धासम्म माइबेनी मेला भर्न आउँछन्। सिजनअनुसार सुन्तला र उखुको व्यापार सबैभन्दा बढी हुन्छ।
तीन सयभन्दा बढी दोकान राखिने मेला हरेक वर्ष स्थानीय संघसंस्थाहरूले आयोजना गर्दै आएका छन्। मेलामा राडीपाखी, गलैंचा, लुगाफाटा, भाडावर्तन, शृंगारका साधन र तरुलको व्यापार बढी हुन्छ।
त्यसबाहेक कृषिजन्य उत्पादन पनि प्रदर्शनी र बिक्रीका लागि ल्याइएको हुन्छ। माइबेनीको अर्काे आकर्षण भनेको धान नाच, चुड्के नाच, जुहारी गीत पनि हो। यी नाचहरू एक अर्काप्रति आत्मीयताको प्रतीक हुन्। १९२० सालतिर तत्कालीन बडाहाकिम गजराजसिंह थापाको पालामा माइबेनी मेला लाग्न सुरु भएको स्थानीय अग्रज बताउँछन्। पहिले महिना दिनसम्म लाग्ने मेला दुई साता, एक साता हुँदै अहिले तीन दिनमा झरेको छ।
इतिहासकार युद्धप्रसाद वैद्यले संकलन गरेको तथ्यअनुसार बडाहाकिम थापाकी पत्नी बदनकुमारी (राणा प्रधानमन्त्री जंगबहादुरकी छोरी) धर्मकर्मप्रति आस्थावान भएकाले काठमाडौंमा माघे संक्रान्तिमा मकर नुहाउँथिन्। मकर नुहाउने चलन भएको समाजमा हुर्किएकी बदनकुमारीले इलाममा माघे सक्रान्तिका दिन मकर नुहाउन नपाउने भएर बडाहाकिमसँग बिश्मात गरेपछि माइबेनीको त्रिवेणीमा नुहाउन सल्लाह दिए। त्यसपछि यहाँ मेला लाग्न सुरु गरेको इतिहास भेटिन्छ।
वैद्यको ‘सात भाइको डायरी’ अनुसार बडाहाकिम थापाले यहाँ मेला लगाउने निश्चय गरेपछि जिल्लाभरिका थरी–मुखियाहरूमा ‘आफ्नो सातुचामल लिइ मेला भर्न आउनू’ भन्ने पुर्जी काटियो। अनि गाउँघर टाढा–टाढाका मानिसहरू पनि आफ्नो गाउँघरको बाजागाजा समेत लिएर मेला भर्न आउन थालेका हुन्।
मेला भर्न ताप्लेजुङको ओलाङचुङगोलादेखिका मानिसहरू माइबेनी मेलामा आउन थाले त्यहाँका लामाहरू मेला लाग्नुभन्दा १५ दिन अगावै मेलास्थलमा आई पाल टाँगेर बस्न थाले। उनीहरू खच्चर, घोडामा राडीपाखी राम्राराम्रा गलैंचाहरू लिएर व्यापार गर्न आउथे, मेलाबाट फर्कंदा भोटेघोडाहरू बिक्री गरेर जान्थे।
प्रकाशित: २ माघ २०७८ ०२:५६ आइतबार