२९ वैशाख २०८१ शनिबार
image/svg+xml
समाज

नागरिककर्मी चामलिङ सम्मानित

नागरिक दैनिकका उदयपुर सहकर्मी महेश्वर चामलिङ राई सम्मानित भएका छन्। नेपाल आदिवासी जनजाति महासंघ (फोनिज) प्रदेश १ को दोस्रो प्रादेशिक महाधिवेशनमा चामलिङ सम्मानित भएका हुन्।

विगत २ दशकदेखि पत्रकारितामा कलम चलाउँदै आएका उनलाई आदिवासी जनजातिको उत्थान, संस्थागत र सामुदायिक हितमा केन्द्रित भएर कलम चलाउँदै समाज रुपान्तरण र विकास निर्माणमा अमूल्य योगदान गरेको भन्दै सम्मान गरिएको आयोजक फोनिज प्रदेश १ का निवर्तमान अध्यक्ष अर्जुन जम्नेली राईले बताए। यो परम्परालाई आगामी दिनमा पनि निरन्तरता दिँदै जाने पनि उनले बताए।  

मोरङको पथ्रीस्थित सिन भिलेजमा आयोजित महाधिवेशन उद्घाटन समारोहमा प्रदेश १ का आर्थिक मामिला तथा योजनामन्त्री इन्द्र आङ्वोले चामलिङलाई सम्मानपत्र प्रदान गरे भने फोनिजका केन्द्रीय अध्यक्ष दण्ड गुरुङले खादा र माला लगाएर अभिनन्दन गरे। नागरिक दैनिकमा स्थापनादेखि उदयपुरबाट संवाददाता रहेका राई फोनिज उदयपुरका संस्थापक तथा नेपाल पत्रकार महासंघका पूर्व जिल्ला अध्यक्षसमेत हुन्।

‘समानुपातिक, समावेशी र समृद्धिका लागि हाम्रो कलम’ भन्ने नाराका साथ सम्पन्न  महाधिवेशनले धनकुटाका पत्रकार सन्तवीर लामाको अध्यक्षतामा २१ सदस्यीय प्रदेश समिति चयन गरेको छ। झण्डै आधा दर्जन आकांक्षी भएकाले सर्वस्म्मत नेतृत्व छान्ने प्रयास गर्दा ३ दिन लामो रस्साकस्सी चलेको थियो। लामो प्रयासपछि सर्वसम्मत गठन भएको समितिमा उपाध्यक्ष राजेन्द्र राई (दुष्ट) र अप्सरा समाल छानिएका छन् भने महासचिव सुशन राई, सचिवद्वयमा सन्देश सुब्बा र प्रदिप चौधरी तथा कोषाध्यक्ष प्रेम देवान छानिएका छन्।

सदस्यमा संस्थागततर्फ क्रमशः बसन्त पालुङ्वा, मोहन तामाङ, संदिप राई, ब्रम्हलाल हजारी, महिला सदस्यमा सुप्रिया राई, शर्मिला राई र प्रमिला श्रेष्ठ तथा अल्पसंख्यक सदस्य विजय धिमाल छानिएका छन्। खुल्लातर्फ सदस्य हुनेमा खनेन्द्र कुलुङ, अतित योङहाङ, राजन साम्पाङ, ज्ञानु केदेम, एलबी लावती र बाबुराम मुडीयारी छानिएको निर्वाचन समितिका संयोजक कौशल चेमजोङले बताए।

नवगठित समितिमा उदयपुरबाट २ उपाध्यक्षसहित ३ जनाको प्रतिनिधित्व भएको फोनिज उदयपुरका अध्यक्ष ईश्वर बलम्पाकी मगरले बताए। पुरुष र महिला उपाध्यक्ष दुष्ट र समाल तथा लेखा समिति सदस्यमा नेत्रकुमार सुनुवार (सञ्चार) चयन भएको मगरले बताएका छन्।

प्रकाशित: २९ पुस २०७८ ०८:५५ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App