खाल्डोमा करेन्ट प्रवाह भएको बारे गाउँलेले लहानस्थित नेपाल विद्युत प्राधिकरणको शाखामा फोनमार्फत जानकारी गराए। ‘हुन्छ हामी आउँछौं' भनेर धेरैपटक भने पनि प्राधिकरणका प्राविधिक आएनन्। फोनमा वास्ता नगरेपछि सियारामका भाइ सीतारामसहित गाउँलेले प्राधिकरण शाखामै पुगेर जानकारी गराए। भोलि नै प्राविधिक पठाएर समस्या समाधान गरिदिने आश्वासन पाएर गाउँले घर फर्के।
तीन दिन बित्दा पनि प्राविधिक टोली आएन। भोलिपल्ट सीताराम कामविशेषले चोकको घर आएका थिए। उनलाई खोज्दै पाँच वर्षे भतिजो सन्जिव पनि आउँदै थिए। बाटोमै पर्ने त्यो पोलनजिकको खोल्डो पार गर्न लाग्दा खुट्टा पानीमा परेर चिप्लेछ। उनको जिउ स्टेमा अल्भि्कयो। स्टेमा मुख्य प्रसारण लाइनबाट चुहिएको करेन्ट प्रवाह भएको रहेछ। आफन्त त्यहाँ पुग्दासम्म बालकले दम तोडिसकेका थिए।
तैपनि आफन्तले बालकलाई लहान अस्पताल पुर्याए तर चिकित्सकले मृत घोषणा गरिदिए। बालकाका पिता सियाराम रोजगारका लागि मलेसिया गएको दुई महिनामात्रै भएको थियो। राम्ररी काम सुरु नगर्दै एक्लो छोराको मृत्युको खबरले उनलाई विक्षिप्त बनायो।
गाउँलेले प्राधिकरणमा तोडफोड र घेराउ गरे। प्राधिकरणले राहतस्वरुप मृतक परिवारलाई १ लाख १० हजार रुपैयाँ दिएर घटना ढाकछोप गर्यो्।
छोरा गुमाएको पीडा सहन नसकेर सीयारामले इटहर्वा–६ को पुरानो घरसमेत बेचिदिए। अहिले उनी इटहर्वा– ४ मा घर बनाएर बसेका छन्। ‘प्राधिकरणको लापरबाहीले छोरा गुमाएको घाउ तीन वर्षदेखि दुखिरहेको छ,' बुधबार नागरिकसँग उनले भने, ‘मलाई जीवनभर नमेटिने घाउ दिनेलाई भगवानले दण्ड दिनेछन्।'
इटहर्वा–२ की इन्दुदेवी पासवान सधैंझैं आँगनमा कुचो लगाउँदै थिइन्। बढार्दै गर्दा कुचो फुस्केछ। बाँध्नलाई कुचो उचाल्दा आँगन माथिबाट अर्को घरमा तानेको विद्युतको तार चँुडिएछ। चुँडिएको तारले अनुहारमा छोयो, उनी आँगनमै ढलिन्। पति राम पासवान कामका लागि काठमाडौंमा थिए।
पत्नी मृत्युको खबर पाएर घर फर्केका उनीमाथि चार छोरी र एक काखे छोरा सम्हाल्ने जिम्मेवारी थपियो। एक वर्षअघि पत्नी गुमाएका रामले भने, ‘कहींबाट राहत पाइन, साहु–महाजनसँग श्रृण लिएर छोराछोरी पाल्दैछु।'
बस्तीमा एक घरबाट अर्को घरमा बत्ती बाल्न बिजुलीको तार तानेर जालो बनाइएको छ। धेरै घरले पोलको मुख्य विद्युतीय तारबाट हुकिङ गरेर उपभोग गरिरहेका छन्। यो गाउँमात्र नभई जिल्लाभरि नै हुकिङ गरेर बिजुली बाल्नेको संख्या धेरै छ। दक्षिणवर्ती सन्हैठा, हकपाडा, इटकर्वा, लालपुर, कचनारीलगायत गाउँमा बढी हुकिङ भएको प्राधिकरणले जनाएको छ।
जिल्लामा सबैभन्दा बढी प्राधिकरण सिरहा शाखाअन्तर्गतका गाउँमा हुकिङ भएको तथ्यांकले देखाउँछ। शाखाका प्रमुख रामउद्गार साहका अनुसार एक नागरपालिका र ३३ गाविसमा विद्युत खपत १० मेगावाट छ भने चुहावट (लस) ४२ प्रतिशत। चुहावट नियन्त्रण कार्य भइरहेको उनको दाबी छ।
लहान शाखाअन्तर्गत तीन नगरपालिकासहित करिब ५० गाविसमा २५ मेगावाट विद्युत खपत छ। चुहावट भने २९ प्रतिशत रहेको शाखा प्रमुख अमोद यादवले बताए।
जिल्ला प्रहरी कार्यालयको त्रिवर्षीय तथ्यांकअनुसार आर्थिक वर्ष ६९/७०, ०७०/७१ र ०७१/०७२ एक–एकजनाको करेन्ट लागेर मृत्यु भएको छ। तीनैजनाको खेतमा पानी लगाउन मोटरको तार फिँजाउने क्रममा करेन्ट लागेको प्रहरी तथ्यांकमा उल्लेख छ।
प्रकाशित: ९ पुस २०७१ २३:३४ बुधबार





