पछिल्लो एक दशकमा देशभर हावाहुरीका घटना उल्लेख्य रूपमा बढेको तथ्याङ्कले देखाएको छ। राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका अनुसार २०७३ वैशाख १ देखि २०८२ माघ २५ सम्म कूल एक हजार ५१९ हावाहुरीका घटना भएका छन्।
यस अवधिमा हावाहुरीका कारण १०१ जनाको मृत्यु भएको छ भने एक जना बेपत्ता भएका छन्। एक हजार ५७२ जना घाइते भएका छन् भने आठ हजार ५०४ परिवार प्रभावित बनेका छन्। हावाहुरीबाट मानवीयसँगै भौतिक क्षतिसमेत ठूलो हुने गरेको छ। विशेषगरी तराई तथा मध्यपहाडी क्षेत्रमा यसको प्रभाव बढी देखिने गरेको विज्ञहरूको भनाइ छ। यस अवधिमा करिब ५३ करोड रुपैयाँ बराबरको आर्थिक क्षति भएको छ। यही अवधिमा भारी वर्षाका कारण ११० र हिउँ–हुरीका कारण १७ जनाले ज्यान गुमाएका छन्।
प्राधिकरणका अनुसार चालु वैशाख १ देखि १६ गतेसम्म देशभर विभिन्न प्राकृतिक विपद्का ६१६ घटना भएका छन्। ती घटनामा ३४ जनाको मृत्यु र १३९ जना घाइते भएका छन्। यस अवधिमा हावाहुरीका ४४ घटनाले ३१९ परिवार प्रभावित भएका छन् भने करिब ८३ लाख रुपैयाँ बराबरको क्षति पुगेको छ।
जलवायुविद् डा. मनिष पाण्डेका अनुसार जलवायु परिवर्तनका कारण हावाहुरीको प्रकृति र तीव्रता बदलिँदै गएको छ। उनले पूर्वतयारी, समयमै सूचना प्रवाह र सुरक्षित पूर्वाधार निर्माणमा ध्यान दिनुपर्ने बताए। “जोखिम न्यूनीकरणका लागि जलवायु न्यूनीकरण र अनुकूलनलाई प्राथमिकतामा राख्दै पूर्वसूचना प्रणालीलाई व्यवस्थित र भरपर्दो बनाउनुपर्छ,” उनले भने। उनका अनुसार स्थानीय तहदेखि केन्द्रसम्म समन्वय बढाउँदै सचेतनामूलक कार्यक्रम प्रभावकारी बनाउनु आवश्यक छ।
हावाहुरीको विशेष चेतावनी
जल तथा मौसम विज्ञान विभागले उच्च गतिको हावाहुरीको चेतावनी जारी गरेको छ। विभागका अनुसार बुधबार अपराह्न ४ बजेबाट सुरु भई बिहीबार बिहान ६:४५ सम्म विभिन्न क्षेत्रमा हावाहुरी चल्ने सम्भावना छ।
सुदूरपश्चिम, लुम्बिनी, गण्डकी, बागमती, मधेस र कोशी प्रदेशका विभिन्न जिल्लामा तीव्र हावाहुरीको पूर्वानुमान गरिएको छ। कञ्चनपुर, डडेल्धुरा, डोटी, बर्दिया, बाँके, दाङ, नवलपुर, चितवन, बारा, पर्सा, धनुषा, झापा र मोरङलगायत जिल्लामा प्रभाव पर्ने सम्भावना औँल्याइएको छ।
मौसमविद् सञ्जिव अधिकारीका अनुसार हावाहुरीसँगै मेघगर्जन, चट्याङ तथा वर्षासहितको मौसम प्रणाली सक्रिय रहने सम्भावना छ। विभागले सर्वसाधारणलाई सतर्क रहन, अनावश्यक रूपमा बाहिर ननिस्कन र यात्रा गर्दा सावधानी अपनाउन आग्रह गरेको छ।
प्राधिकरणका प्रवक्ता शान्ति महतका अनुसार हावाहुरीका कारण रुख ढल्ने, कमजोर संरचना भत्किने, घरका छाना उड्ने तथा विद्युत् र सञ्चार सेवा अवरुद्ध हुने जोखिम छ। सर्वसाधारणलाई घरबाहिर ननिस्कन, झ्यालढोका मजबुत बनाउने, बिजुलीका तार र रुख नजिक नबस्ने तथा सावधानी अपनाउन आग्रह गरिएको छ।
केही स्थानमा भारी वर्षाको सम्भावना
विभागका अनुसार बुधबार कोशी, मधेस, बागमती र गण्डकी प्रदेशका धेरै स्थानमा तथा लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका केही स्थानमा मेघगर्जन, चट्याङ र असिनासहित मध्यम वर्षाको सम्भावना छ। कोशी र गण्डकीका पहाडी क्षेत्रमा एक–दुई स्थानमा भारी वर्षा हुन सक्ने जनाइएको छ। तराईका केही क्षेत्रमा हावाहुरीको सम्भावना पनि रहेको छ।
आरोही र पदयात्रीलाई सतर्कता
हावाहुरीको सम्भावित प्रभावलाई ध्यानमा राख्दै पर्यटन विभागले हिमाल आरोही तथा पदयात्रीलाई सतर्कता अपनाउन आग्रह गरेको छ। विभागका निर्देशक हिमाल गौतमका अनुसार मौसमको पूर्वसूचनाका आधारमा मात्रै यात्रा गर्नुपर्ने अवस्था रहेको छ।
यस सिजनमा २९ हिमालका लागि ९९९ आरोही र ११८ समूहलाई अनुमति दिइएको छ। सगरमाथा आरोहणका लागि मात्रै ४२५ जनाले अनुमति पाएका छन् भने करिब एक अर्ब सात करोड ८७ लाख रुपैयाँ राजस्व संकलन भएको छ।
सोलुखुम्बुकी प्रमुख जिल्ला अधिकारी लिलाकुमारी केसी पाण्डेका अनुसार हाल पदयात्रा पूर्ण रूपमा रोकिएको छैन, तर जोखिम बढे तत्काल रोक्ने निर्णय गरिनेछ। सम्भावित विपद् व्यवस्थापनका लागि सुरक्षा निकाय र स्थानीय तहसँग समन्वय गरिएको उनले बताइन्।
प्रकाशित: १६ वैशाख २०८३ १७:०६ बुधबार





