राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले सुकुम्बासी बस्ती व्यवस्थापन र रगत संकलनका क्रममा देखिएको नेपाली सेनाको सक्रियतालाई सकारात्मक रूपमा बुझ्न आग्रह गरेका छन्।
बुधबार संसदीय दलको अनौपचारिक बैठकपछि संचारकर्मीसँग कुरकानी गर्दै लामिछानेले राज्यका विभिन्न संयन्त्रहरूको आफ्नै कार्यक्षमता र शैली हुने भएकाले सेनाको उपस्थितिलाई त्रासको रूपमा व्याख्या गर्न नपर्ने बताए।
विपक्षी दलहरूले सेनाको सक्रियतालाई लिएर नागरिक तर्साउन खोजेको भन्दै गरिरहेको टिप्पणीप्रति लामिछानेले कुनै पनि भड्काउपूर्ण प्रचारको पछि नलाग्न आग्रह गरे।
‘कतिपय संयन्त्रहरूसँग सूचना प्राप्त गर्ने र काम गर्ने गति अरूभन्दा बढी हुन सक्छ,’ उनले भने, ‘लगत संकलन वा व्यवस्थापनको प्रक्रियामा सेना देखिनु राज्यलाई सघाउने र कामलाई छिटो-छरितो बनाउने उद्देश्यले मात्र हो, यसमा कसैलाई तर्साउने नियत छैन।’
सभापति लामिछानेले सरकारको मुख्य प्राथमिकता नागरिकको सुरक्षा भएको उल्लेख गर्दै जोखिमपूर्ण स्थानबाट सुरक्षित स्थानमा स्थानान्तरण गर्दा राज्यले उपलब्ध सबै जनशक्ति र स्रोतको प्रयोग गर्नु स्वाभाविक भएको दाबी गरे।
उनले नेपाली सेना राज्यकै एक अङ्ग भएकाले विकास निर्माण वा यस्ता व्यवस्थापकीय कार्यमा उसको सहयोग लिनुलाई अन्यथा मान्न नहुने बताए।
बैठकमा उनले नदी र ढलको किनारमा रहेका सुकुम्बासीहरूलाई सुरक्षित बासस्थान उपलब्ध गराउनु सरकारको कर्तव्य भएको पुन: दोहोर्याए।
‘हाम्रो उद्देश्य कसैलाई घरबारविहीन बनाउने होइन, बरु असुरक्षित ठाउँबाट जोगाएर सिस्टमभित्र ल्याउने हो,’ लामिछानेले थपे, ‘सेना वा अन्य निकायको परिचालनलाई लिएर सिर्जना गर्न खोजिएको भ्रम चिर्न आवश्यक छ।’
प्रकाशित: १६ वैशाख २०८३ १७:०६ बुधबार



-600x400.jpg)

