कर्णाली राजमार्गअन्तर्गत नाग्म–जुम्ला सडकखण्डमा शनिबार साँझ भएको स्कुटर दुर्घटनामा चालकको मृत्यु भएको छ।
जिल्ला प्रहरी कार्यालय जुम्लाका अनुसार दैलेखको दुल्लु नगरपालिका–३ निवासी करिब ४८ वर्षीय मिनबहादुर साउदले चलाएको क.प्र.०१–००१ प २७८२ नम्बरको स्कुटर जुम्ला बजारबाट नाग्म–रारातर्फ जाँदै गर्दा चन्दननाथ नगरपालिका–६ बसपार्क क्षेत्रमा साँझ करिब ७:०५ बजे आफैं अनियन्त्रित भई सडकको बायाँ किनारमा पल्टिएको थियो।
दुर्घटनामा साउदको टाउकोमा गम्भीर चोट लागेको थियो। उनलाई तत्काल कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान, जुम्ला लगिए पनि उपचारकै क्रममा साँझ ७:२० बजे चिकित्सकले मृत घोषणा गरेको जिल्ला प्रहरी कार्यालय जुम्लाका सूचना अधिकारी प्रहरी निरीक्षक शालिकराम खनालले जानकारी दिए।
घटनापछि प्रहरी निरीक्षक खनालको नेतृत्वमा पाँच सदस्यीय प्रहरी टोली घटनास्थलमा खटिएको थियो। दुर्घटनाको कारणबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।
प्रकाशित: २ श्रावण २०८३ २१:४९ शनिबार



-600x400.jpg)

