२५ वैशाख २०८१ मंगलबार
image/svg+xml
समाज

जुम्लामा नुनको राजनीति अन्त्य

तिला गाउँपालिका ९ का मानबहादुर बुढा २०५९ सालमा नुन लिन सदरमुकाम खलंगा आइपुगे। उनले पाँच केजी नुनका लागि नेता गुहार्नु पर्यो। नेताले कुपन दिएपछि मात्र उनले नुन पाए। उनले नुनसँगै चामल पनि लिएर घर फर्किए। ‘नुन, सुनभन्दा त सस्तो थियो’, उनले भने, ‘रुपैयाँ हुनेका लागि सुन किन्न सहज थियो तर रुपैयाँ हुने नहुने दुबैका लागि नुन किन्न निकै कठिन थियो। नुनको राजनीतिले सिंगो जुम्ला प्रभावित थियो।’

आफू र आफ्नो निकट नेता, सांसद र कर्मचारी नहुँदा उतिबेला नुन पाउन मुस्किल हुन्थ्यो। सर्वसाधारणको पहुँचमा नुन थिएन। तर पछिल्लो समयमा जुम्लामा नुन फालाफाल छ। अहिले दैनिक २० देखि ३० क्वीन्टलसम्म नुन बिक्री भइरहेको साल्टट्रेडिङ कर्पोरेशनको कार्यालय जुम्लाले जनाएको छ।

अहिले नियमित रुपमा कोटा अनुसारको नुन समयमै आउने भएकोले महंगोमा बजारमा बिक्री हुने गरेको नुन विस्थापित भइसकेको छ। ‘बजारमा नुन पाउन कठिन छ’, उनले भने,‘सार्वजनिक विदा बाहेक कार्यालय समयमा पुग्दा नुन आवश्यकता अनुसारको प्राप्त हुन्छ। नुनको कार्यालयमा गएर रित्तो हात फर्कनु परेको छैन।’

व्यापारीले बजारका पसलहरुमा नुन राख्न छाडेका छन्। ‘साल्ट ट्रेडिङ कर्पोरेशनको कार्यालयमा मागे अनुसारको नुन पाइन्छ’, मानबहादुरले भने, ‘सस्तो मूल्यमा नुन पाउन थालेपछि बजारको महंगो नुन कसले किन्छन र?’ बजारमा प्रतिपाकेट नुन २५ रुपैयाँदेखि ३० रुपैयाँसम्म पर्छ। तर साल्टट्रेडिङ कर्पोरेशनको कार्यालयमा प्रतिपाकेट ९ रुपैयाँमा नुन पाइन्छ।

एक परिवारले ११ केजी नुन पाउने गरेर व्यवस्थापन गरिएको साल्ट ट्रेडिङ कर्पोरेशनको कार्यालय जुम्लाका लेखा प्रमुख खगेन्द्रबहादुर मल्लले जानकारी दिए। उनले भने, ‘लामो दुरी पार गरेर आएका सेवाग्राहीलाई उनीहरुले माग गरे अनुसारको नुन दिँदै आएका छौं। नुनका लागि न कसैको दबाब खेप्नु परेको छ, नत कसैको प्रभावमा पर्नु परेको छ। अहिले सहज तरिकाले सेवाग्राहीको नुनको चाहना परिपुर्ति गर्न पाउँदा उत्साहित छौं।’

जुम्लामा नुनको लागि सिँजाको कनकासुन्दरी गाउँपालिकामा एक बिक्री केन्द्र छ। जहाँ बार्षिक एक हजार क्वीन्टल कोटा नुन आउँछ। सिँजा गाउँपालिकाको नराकोटमा नुनको डिपो राखिएको छ। त्यहाँ बार्षिक ७ सय कोटा नुन आउँछ। तर त्यहाँ एक हजार ५ सय क्वीन्टल खपत हुने गरेको छ। कोटा अनुसारको नुन सकिएपछि आवश्यकता अनुसार नुन माग गर्ने गरिएको छ। बिक्री केन्द्र र डिपो सिँजा क्षेत्रका हिमा, सिँजा र कनकासुन्दरी गाउँपालिकाका लागि राखिएको हो। अन्य बाँकी स्थानीय तहका लागि सदरमुकामस्थित साल्ट ट्रेडिङ कर्पोरेशनको कार्यालयबाट नै नुन वितरण हुदै आएको छ।

जुम्ला सदरमुकाम खलंगास्थित कार्यालयको लागि झण्डै ६ हजार क्वीन्टल नुन आवश्यक पर्छ। तर तीन हजार क्वीन्टलको कोटा मात्र छ। कार्यालयको गोदाममा मौज्दात नुन हेरेर क्षेत्रीय कार्यालयमा माग गर्ने गरिएको छ।  यो वर्ष कनकासुन्दरी बिक्री केन्द्रमा १ हजार क्वीन्टल नुनको कोटा रहेकोमा १७० क्वीन्टल मात्र प्राप्त भएको छ। नराकोटमा ७ सय क्वीन्टल कोटामा ७ सय क्वीन्टल नै प्राप्त भएको छ।

सदरमुकामको गोदाममा दुई हजार पाँच सय क्वीन्टल नुन आइसकेको छ। पाँच सय क्वीन्टल नुन आउन बाँकी छ। कोटा अनुसारको नुन पुग्दैन। तर नुनको अभाव पछिल्लो समयमा जुम्लाबासीले खेप्नु पर्दैन। प्रमुख जिल्ला अधिकारीको अध्यक्षतामा रहेको आपुर्ति समितिले नुनको अभाव भएमा तत्काल माग गर्ने गर्छ।  

प्रमुख जिल्ला अधिकारी बिजयाकुमारी प्रसाईले साल्ट ट्रेडिङ कर्पोरेशनको कार्यालयको कार्यालयमा नुनको अनुगमन गरेकी छिन्। उनले नुनको हालको अवस्था, ढुवानी र बिक्रीको दरका बिषयमा जानकारी लिइन्। कार्यालयले दिइने सेवाका बारेमा अनुगमन गरेर फर्किएको जीन्सी प्रमुख मल्ल बताउँछन्।

उनले भने,‘पहिले सुनको सिरानी हालेर नुनको खोजीमा भौतारीनु परिरहेको हुन्थ्यो तर अहिले नुन सहजै रुपमा पाउन थालेपछि सेवाग्राही उत्साहित छन्। जिल्लाले नुन अभाव भएको सन्देश पठाउनु परिरहेको छैन।’ साल्ट ट्रेडिङ कर्पोरेशनको कार्यालयमा प्रतिकेजी नुनको ९ रुपैयाँमा किनबेच भइरहेको छ।

प्रकाशित: १५ पुस २०७८ ०९:१६ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App