७ मंसिर २०८१ शुक्रबार
image/svg+xml
समाज

अन्तिम सास रहेसम्म समाजसेवामा लागिरहन्छु

धादिङमा जन्मिएर धादिङलाई नै कार्यथलो बनाउँदै आएका दिपेश कडेल चुनौतीलाई पनि अवसर ठान्दछन्। उनलाई लाग्छ मेहनत गर्दै गए एक दिन अवश्य पनि सफलताले पछ्याउँदै आउँछ।

२६ हिउँद पार गरेको दिपेशले समाजसेवा मार्फत समाजमा विभिन्न सकारात्मक गतिविधि गर्दै आइरहेका छन्। उनी मानवसेवा आश्रम, कपडा बैंक, खेलकुद लगायत अन्य आयआर्जनका बाटोमा उन्मुख छन् भने शिक्षण पेशा पनि छाडेका छैनन्।

उनको परिचय बेनीघाट बजारदेखि सिंगो धादिङमा फैलिएको छ। उनको लक्ष्य आफूले गरेको कर्मलाई जिल्लाभरि फैलाउने रहेको छ।

उनी आफ्नो पिताको प्रेरणाले यस क्षेत्रमा लागेको बताउँछन्। समाजमा उनको परिवारको निकै राम्रो छवि रहेको छ। त्यसका कारणले पनि समाजसेवामा लाग्न उनलाई प्रेरणा मिलेको छ। दिपेश भन्छन्, ‘बुबा हजुर बुवाको यो समाजमा राम्रो छवि छ। बुवाको राजनीतिक र सामाजिक क्षेत्रमा उतिकै योगदान भएकाले मैले पनि त्यसलाई पछ्याउँदै यहाँसम्म आएको हुँ।'

कर्म गर फलको आशा नगर भन्ने कुरा उनको जीवनमा लागु हुन्छ। उनी सबैभन्दा पहिला आफ्नो कर्मलाई प्राथमिकतामा राख्छन्। अनि मात्र अरु कुरामा ध्यान दिन्छन्।

गाउँमा विद्यालय स्तरको पढाइ सकाएर राजधानी पसेका दिपेश त्रिचन्द्र बहुमुखी क्याम्पमा स्नातक तहको पढाइ पूरा गरेर पुनः गाउँमा नै फर्किएका थिए।

आफ्नो अन्तिम सास रहेसम्म समाजसेवा लाग्ने बताउँछन्। जति कठिन अवस्था आएपनि उनी आफ्नो लक्ष्य र उद्देश्यबाट विचलित हुने छैनन्। आफ्नो लागि भन्दा पनि समाज र देशका लागि बाँच्न पाउनु नै सार्थक जीवन हो भन्ने उनको धारणा छ।  

धादिङ राजधानीको छिमेकी जिल्ला भएता पनि विकास र समृद्धिमा निकै पछाडि परेको छ। बत्ती मुनि सधैँ भनेझैँ कतिपय भूभागमा अहिले पनि शिक्षा, स्वास्थ्य, यातायाको हिसाबले पिछडिएको उनी बताउँछन्।

धादिङको आँगनीबाट पृथ्वी राजमार्ग बनेतापनि गाउँको जीवन र ग्रामीण परिवेश अझै पनि उस्तै छ। समस्याहरु यथावत रुपमा नै रहेका छन्। ग्रामीण भेगमा यतायताको सुविधा नभएकाले प्रशस्त मात्रमा तरकारी र फलफूलको उब्जाउ भएपनि बजारसम्म पुर्याउन निकै सकस अवस्था रहेको उनी बताउँछन्।

गाउँ समाजका मानिसको दुख देखेर उनको मनमा चस्का पस्थ्यो। त्यसकारण पनि समाज सेवाको माध्यबाट निःशुल्क कपडा बैंक सञ्चालनको सोच आएको उनले बताए।

यो काम एक्लै गर्नका लागि सम्भव नै थिएन। नजिकका साथीभाइसँग सल्लाह गरेर एउटा समूह बनाएर त्यसैमार्फत अग्रसर भएर काम गर्न थाले।

धादिङको भौगोलिक अवस्था पनि अलि कठिन छ। यस क्षेत्रमा चेपाङ समुदायको पनि बसोबास रहेको छ। उक्त समुदायलाई बिहानबेलुकाको छाक टार्न मुस्किल छ। जाडोको समयमा चिसोले कठ्याङ्ग्रिएर मान्छेको ज्यान गएको समाचारले स्तब्ध बनाएको कारणले पनि उक्त समुदायलाई सहयोग गर्नुपर्छ भन्ने धारण सिर्जना भएको उनी बताउँछन्।

कपडा बैंक सुरु गर्दाको समयमा उनको बेग्लै अनुभव छ। त्यसबेला सहयोग गर्नका लागि सहयोगी भावना मनमा थियो तर आर्थिक कसरी जुटाउने भन्ने चिन्ता पनि थियो।

समस्याको समानान खोज्दै उनले एकदिन फेसबुकमा एउटा स्टाटस लेखे, 'यतातिर निकै जाडो छ। न्यानो लुगा नपाएर धेरै मानिसको विजोग छ। कपडा बैंक खोल्न पाए कस्तो हुन्थ्यो? तपाईँहरुको सुझाव पाउँ।'

उनको स्टाटसमा सकारात्मक प्रतिक्रियाको ओइरो लाग्यो। जसको कारण थप आशा र हौसला पनि थपियो। त्यसपछि उनको इन्नबक्समा मेसेजको ओइरो लाग्न थाल्यो। जसको कारणले गर्दा केही समय पछि काम गर्ने महोल बन्न थाल्यो। उनको त्यस कार्यले धेरै गरिव तथा विपन्न वर्गलाई खुसी दिलायो। परिणाम स्वरुप १० हजार मानिसलाई कपडा वितरण गर्न उनी सफल भए।

अहिले विश्वमा फैलिएको कोरोना माहामारीको कारणले गर्दा उक्त काममा अवरोध भएको उनी बताउँछन्। अहिले नेपालभित्रैबाट १५/२० बोरा कपडा आइसक्यो। यो अभियान बाह्रै महिना सञ्चालनमा रहेको भए पनि पछिल्लो समयको कोभिड १९ को संक्रमणका कारण अभियानमा केही अवरोध आएको उनको भनाइ छ।

'सबैलाई खाना नाना र छाना’ अभियान सञ्चालनमा ल्यायौ,‘ उनी भन्छन्, 'धादिङ जिल्लाको जुनसुकै स्थानका मानिसले खाना, लुगाकपडा र औषधि उपचार नपाएको मानिसले आफूहरूसँग सम्पर्क गर्न सक्ने भन्ने अभियान चलायौँ। मानव सेवा आश्रमसँगको सहकार्यमा २०/२५ जना सडक मानवको उद्धार गरिसकेका छौँ।’

विद्यालय तहका गरिब बच्चालाई पोसाक, औषधि, पुस्तक खाना समेत उनीहरुले वितरण गरेका छन्। धादिङका अधिकांश स्थानमा खाद्यान्नको धेरै अभाव भएको उनी बताउँछन्।

‘केही समयअघि को कुनै एक गाउँमा खाना नपाएर जंगली फल खाएको भन्ने समाचार बाहिरियो। यो कुराले एकदम मन पोल्यो।चेपाङ समुदाय ओडारमा बस्ने, चप्पलबिना नै विद्यालय जाने लगायतका कुरा देखेर विकट स्थानमा गएर सहयोगको अभियान चलायौँ,’ उनले भने।

उच्च शिक्षाका लागि राजधानीमा रहँदा उनले क्रिकेटको पनि ज्ञान लिएका थिए। उनले त्यो बेला एससिए नामक एक क्रिकेट एकेडेमीमा प्रशिक्षण सम्म लिन भ्याएका थिए।

२०७२ सालको भूकम्पछि उनले गाउँको शिक्षा सदनमा ८ कक्षासम्म पढाएका थिए।

उनी भन्छन्,‘विद्यालयमा समेत विद्यार्थीलाई रचनात्मक काममा सहभागी गराउने,विभिन्न किसिमका प्रतियोगिता पनि सुरू गराएँ। उनीहरुलाई सामाजिक कामको बारेमा प्रोत्सहन दिदा मलाई पनि उर्जा मिल्थ्यो।

उनी २०७५ सालमा वडामा युवा तथा खेलकुद विकास समितिको संयोजक बने। धादिङ जिल्लाको रोलाङ गाउँपालिका–५ मा क्रिकेट रङ्गशाला निमार्णका लागि सरसल्लाह गरे डिपिआर बनाए। गाउँपालिकामा गए। गाउँपालिकाबाट १२ लाख सहयोग मिल्यो। आफैँ समितिको अध्यक्ष बने डिपिआर तयार भएपछि क्षेत्रीय स्तरको रंगशाला बनिरहेको उनले जानकारी दिए। स्थानीय सरकार र प्रदेश सरकारसँगको सहकार्यमा थप बजेट व्यवस्थापन भइरहेको उनी बताउँछन्।

समाजसेवाको अलवा उनको क्रिकेटमा पनि रुचि छ। उनी बच्चामा पनि खुब क्रिकेट खेल्थे। त्यसकारण पनि क्रिकेटसँग उनको बेग्लै आत्मियता जोडिएको छ।

उनले खेलकुदको लागि धेरै काम गरे। क्लब बनाएर संयोजक बने त्यही समयमा धादिङ जिल्लामा पहिलो पटक विद्यालय स्तरको क्रिकेट प्रतियोगिता गराए।

प्रतियोगिताले राम्रो खेलाडी समेत पायो। त्यसबेला जिल्लाभित्रका प्रतियोगितामा राम्रो प्रदर्शन गरेका खेलाडीलाई बाहिर प्रतिस्पर्धा गराउन समस्या थियो। किनभने जिल्ला क्रिकेट संघ थिएन। उनले आफ्नै उमेरका केही युवा भेला गराएर आफ्नै नेतृत्वमा यसै वर्ष धादिङ जिल्लामा क्रिकेट तदर्थ समिति गठन गरेका छन्।

जिल्ला क्रिकेट संघले नेपाल क्रिकेट संघ (क्यान) बाट वैधानिकता पाए विभिन्न गतिविधि गर्न अझै सहज हुन्छ। आफ्नो सफलताको ती दिन सम्झिँदै उनी भन्छन्, ‘क्यानबाट वैधानिकता पाए निकै सहज हुनेछ। यस कार्यले हाम्रो समाजका धेरै युवा लाभान्वित हुनेछन्।'

खेलकुद विकासको लागि उनीको धेरै योजना र लक्ष्य रहेको छ। ‘अब महिला क्रिकेट प्रतियोगिता पनि गछौँ।’  टेनिस, उमेर समूह अन्तर्गत यू–१९ र यसपछि क्रिकेट बेसिक कोर्स भनेर क्रिकेट संघसँग समन्वयन गरेर जिल्लाका सबै स्थानीय तहबाट खेलाडीको छनोट गरी आधारभूत तालिम प्रदान गर्ने उनको योजना रहेको छ।

उनी आफ्नो सास रहुन्जेल समाज सेवा लाग्ने बताउँछन्। जस्तो सुकै कठिन अवस्था आओस् उनी आफ्नो लय र उद्देश्यबाट विचलित हुने छैनन्। उनी आफ्नो लागि भन्दा पनि समाज र देशका लागि बाँच्न पाउनु नै सार्थक जीवन ठान्दछन्।

प्रकाशित: ३० कार्तिक २०७८ १०:२१ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App