चालु आर्थिक वर्ष २०८२/८३ को पहिलो ६ महिनामा ताप्लेजुङ जिल्ला अदालतले कुल मुद्दामध्ये ४३ प्रतिशत फछ्र्यौट गरेको छ। ताप्लेजुङ जिल्ला अदालतका श्रेष्तेदार शम्मीकपुर शाहका अनुसार जिम्मेवारी सरी आएका र नयाँ लगतका रूपमा दर्ता भएका गरी जम्मा ३ सय ७० थान मुद्दामध्ये १ सय ६० थान मुद्दा फछ्र्यौट गरिएको हो।
अदालतका अनुसार जिम्मेवारी सरी आएका १ सय ५९ र नयाँ लगतका रूपमा दर्ता भएका २ सय ११ मुद्दामध्ये क्रमशः ८६ थान जिम्मेवारी सरी आएका र ७४ थान नयाँ लगतका मुद्दा फछ्र्यौट भएका छन्। हाल अदालतमा बाँकी रहेका २ सय १० थान मुद्दा कारवाहीको प्रक्रियामा रहेको जनाइएको छ।
फछ्र्यौट भएका मुद्दामध्ये ८६ थान ६ महिना भित्रका, ५३ थान ६ महिना देखि १ वर्ष भित्रका, १६ थान १ वर्ष देखि १८ महिना भित्रका तथा ५ थान मुद्दा १८ महिना देखि २ वर्ष भित्रका रहेका छन्।
यस्तै, अदालतमा कारवाहीको क्रममा रहेका मुद्दामध्ये नयाँ लगतका रूपमा दर्ता हुन आउने बाहेक १ सय ३७ थान मुद्दा ६ महिना भित्रका, ५७ थान मुद्दा ६ महिना देखि १ वर्ष भित्रका, १५ थान मुद्दा १ वर्ष देखि १८ महिना भित्रका र १ थान मुद्दा १८ महिना देखि २ वर्ष भित्रका रहेका छन्। २ वर्ष नाघेका मुद्दा भने नरहेको अदालतले जानकारी दिएको छ।
प्रकाशित: १५ माघ २०८२ १६:५६ बिहीबार





