२० फाल्गुन २०८२ बुधबार
image/svg+xml
शिक्षा

जुम्लाबाट एसईईमा २ हजार २ सय ५५ विद्यार्थी, वर्षेनी घट्दै परीक्षार्थी

यो वर्ष एसईईको परीक्षा लेख्ने विद्यार्थी ।

यस वर्षको कक्षा १० को माध्यमिक शिक्षा परीक्षा (एसईई) मा जुम्लाबाट २ हजार २ सय ५५ जना विद्यार्थी सहभागी हुँदैछन्। शिक्षा विकास तथा समन्वय इकाइ जुम्लाका निमित्त इकाइ अधिकारी खेमराज पन्तका अनुसार तीमध्ये नियमिततर्फ २ हजार १ सय ३३ जना र ग्रेडवृद्धितर्फ १ सय २२ जना विद्यार्थी रहेका छन्।

यस वर्षको सहभागिता अघिल्लो वर्षको तुलनामा ४ सय २६ जनाले कम हो। गत वर्ष जुम्लाबाट २ हजार ६ सय ८१ जना विद्यार्थी एसईई परीक्षामा सहभागी भएका थिए।

प्राविधिक धारतर्फ नियमित १ सय १९ जना र ग्रेडवृद्धितर्फ ११ जना गरी कुल १ सय ३० जना विद्यार्थी एसईईमा सहभागी हुँदैछन्। ती विद्यार्थी चन्दननाथ नगरपालिका–७ स्थित जनता माध्यमिक विद्यालय महतगाउँ, तिला गाउँपालिका–३ स्थित सरस्वती माध्यमिक विद्यालय कुडारी र हिमा गाउँपालिका–२ स्थित नेत्र ज्योति माध्यमिक विद्यालय ओदीबाट परीक्षा दिनेछन्।

यस्तै, खुला विद्यालयतर्फ सदरमुकाम खलंगास्थित चन्दननाथ माध्यमिक विद्यालयबाट १७ जना विद्यार्थी सहभागी हुनेछन्। तीमध्ये १६ जना नियमित र १ जना ग्रेडवृद्धितर्फका हुन्।

पछिल्ला चार वर्षको तथ्यांकले जुम्लामा एसईई परीक्षार्थी संख्या समग्र रूपमा घट्दो क्रममा रहेको देखाउँछ। २०७९ सालमा जिल्लाका आठवटै स्थानीय तहबाट २ हजार ८ सय ७७ जना विद्यार्थी सहभागी भएका थिए। २०८० सालमा यो संख्या ३ सय २० जनाले घटेर २ हजार ५ सय ५७ मा झरेको थियो। २०८१ सालमा भने १ सय २४ जनाले बढेर २ हजार ६ सय ८१ पुगेको थियो। तर, यस वर्ष फेरि ठूलो गिरावट आउँदै ४ सय २६ जनाले घटेर २ हजार २ सय ५५ मा सीमित भएको छ। यसरी २०७९ देखि २०८२ सम्म चार वर्षमा कुल ६ सय २२ जना परीक्षार्थी घटेका छन्।

शिक्षा विकास तथा समन्वय इकाइ जुम्लाका अनुसार बसाइँसराइ, विद्यालय उमेर समूहको जनसंख्या घट्नु र बीचमै पढाइ छोड्ने प्रवृत्ति परीक्षार्थी संख्या घट्नुका प्रमुख कारण हुन्। यद्यपि समग्र संख्या घटे पनि प्राविधिक धार र खुला विद्यालयतर्फको सहभागिता निरन्तर रहनु सकारात्मक संकेत भएको इकाइले जनाएको छ।

आउँदो चैत १९ देखि २९ गतेसम्म सञ्चालन हुने गरी एसईई परीक्षा तालिका सार्वजनिक भइसकेको छ।

प्रकाशित: १५ माघ २०८२ १६:४१ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App