भोलि हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि सम्पूर्ण तयारी पूरा भएको निर्वाचन आयोगका कार्यवहाक आयुक्त रामप्रसाद भण्डारीले बताएका छन् । आयोगले पत्रकार सम्मेलन गरी मतदान, मतपेटिका ढुवानी, मतगणना र सुरक्षा व्यवस्थासम्बन्धी सम्पूर्ण तयारी सम्पन्न भएको जानकारी दिएको हो।
आयोगका कार्यवाहक आयुक्त रामप्रसाद भण्डारीले जिल्ला प्रशासन कार्यालयको नेतृत्वमा सबै सुरक्षा निकायको समन्वयमा मतपत्रसहितको मतपेटिका सबै मतगणना स्थलमा सुरक्षित रूपमा ल्याइने बताएका छन् ।
साथै आयुक्त भण्डारीले एकीकृत सुरक्षा योजना अन्तर्गत सरकारले देशभरका १० हजार ९६७ मतदान स्थललाई संवेदनशीलताको आधारमा वर्गीकरण गरेको बताएका छन् । जसअनुसार ३ हजार ६८० अति संवेदनशील, ४४२ संवेदनशील र २ हजार ८४५ सामान्य मतदान केन्द्र तोकिएका छन्। सोही आधारमा सुरक्षा जनशक्ति परिचालन गरिएको बताएका छन् ।
निर्वाचनको दिनमा मतदान तथा मतगणना स्थलमा असुरक्षाको प्रत्याभुति हुने भन्दै तीन तहको सुरक्षा घेरा रहने समेत बताएका छन् । उनले बाहिरी घेरामा नेपाली सेना, त्यसपछि सशस्त्र प्रहरी बल र सबैभन्दा भित्री घेरामा नेपाल प्रहरी परिचालन गरिने व्यवस्था कायम रहेको बताएका छन् ।
भौगोलिक परिवेश अनुसार निर्वाचनको सामाग्री ओसारपोसारमा समस्या हुदाँ दुर्गम तथा हिमाली जिल्लाबाट मतपेटिका संकलन गर्न नेपाली सेनाको हेलिकोप्टर प्रयोग गरिने बताउँदै यसबारे फैलाइएका हल्ला निराधार भएको बताएका छन् । यद्यपी मतदान सम्पन्न भएपछि उम्मेदवारका प्रतिनिधिको उपस्थितिमा मतपेटिका सिल गरिने र सोही सिल प्रमाणित भएपछि मात्रै मतगणना सुरु हुने व्यवस्था रहेको जानकारी दिएका छन् ।
निर्वाचन अवधिमा मत सर्वेक्षण गर्न कानुनले निषेध गरेको दोहोर्याउँदै आयुक्त भण्डारीले विभिन्न सञ्चारमाध्यमले पूर्वानुमानित नतिजा सार्वजनिक गर्ने कार्यप्रति कडा निगरानी राखेको बताएका छन् । ‘फेक न्यूज’ नियन्त्रणका लागि आयोगले इलेक्शन इन्फर्मेसन डिसेमिनेसन एण्ड कोअर्डिनेशन सेन्टर स्थापना गरी काम गरिरहेको बताएका छन् ।
प्रकाशित: २० फाल्गुन २०८२ १७:५४ बुधबार




-600x400.jpg)
