संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री राजेन्द्र प्रसाद श्रेष्ठले प्रशासकहरु व्यवहारिक बन्नुपर्ने बताएका छन्। सोमवार कर्मचारी प्रशिक्षण प्रतिष्ठानले आयोजना गरेको नवनियुक्त सह–सचिवहरुका लागि नेतृत्वविकास कार्यक्रमलाई सम्बोधन गर्दै मन्त्री श्रेष्ठले निजामती सेवाका प्रशासकहरु व्यवहारिक बन्नुपर्नेमा जोड दिएका हुन्।
उनले समाज परिवर्तनशील रहेको उल्लेख गर्दै अघिल्लो पुस्ताले गरेका कुराहरु ठिक भए त्यसलाई कार्यान्वयन गर्ने र समय अनुसार परिवर्तन भएका कुराहरुमा सोही अनुरुप काम गर्न सहसचिवहरुलाई आग्रह गरे। सैद्धान्तिक मात्रै नभई व्यवहारिक बन्ने प्रशासक नै असल प्रशासक हुने भन्दै उनले राष्ट्रसेवक कर्मचारीहरु व्यवहारिक, धैर्यवान र लगनशील हुनुपर्ने बताए।
उनले नवनियुक्त सहसचिवहरुलाई आफू मातहतका कर्मचारीहरुलाई पक्षपातपूर्ण व्यवहार नगरीकन काम लगाउन पनि आग्रह गरे। कतिपय कर्मचारीहरुमा आफूलाई प्रशासक ठानि सबै काम अरुलाई लगाउने प्रवृति रहेकोले त्यस्तो प्रवृत्तिको अन्य गर्नुपर्ने उनले बताए।
प्रकाशित: २९ कार्तिक २०७८ ०९:४७ सोमबार