१५ वैशाख २०८१ शनिबार
image/svg+xml
समाज

फाल्गुनन्दको सालिक अनावरण

इलाम नगरपालिका–९ मा बिहीबार अनावरण गरिएको फाल्गुनन्दको सालिक। तस्बिर: नागरिक

किरात धर्मगुरु तथा राष्ट्रिय विभूति फाल्गुनन्दको १ सय ३७ औं जन्मजयन्ती अवसरमा उनको सालिक अनावरण गरिएको छ।

इलाम नगरपालिकाले फाल्गुनन्द सुकिलुम्बा विमानस्थलछेउमा निर्माण गरेको सालिक अनावरण गरिएको हो। संविधानसभा अध्यक्ष तथा इलाम क्षेत्र नम्बर २ का प्रतिनिधिसभा सदस्य सुवासचन्द्र नेम्बाङले बिहीबार बिहान सालिक अनावरण गरे।

त्यहीं रहेको फाल्गुनन्द गेट (प्रवेशद्वार) पनि त्यस अवसरमा उद्घाटन गरियो। राष्ट्रिय विभूति फाल्गुनन्दको सम्मानमा इलामको विमानस्थलको नाम यसअघि नै फाल्गुनन्द सुकिलुम्बा विमानस्थल राखिएको छ।

समाज सुधारक फाल्गुनन्दको जन्म १९४२ साल कात्तिक २५ मा इलामको माङ्सेबुङ गाउँपालिका–२ (साविक इभाङ गाविस–५), चुक्चिनाम्बामा भएको थियो। किरात लिपि, भाषा, संस्कार, संस्कृति र समाज सुधारका लागि फाल्गुनन्दले महत्वपूर्ण योगदान गरेका छन्। जन्मजयन्तीकै अवसरमा उनको जन्मस्थल माङ्सेबुङ, फाकफोकथुम गाउँपालिकासहित जिल्लाका विभिन्न स्थानमा कार्यक्रम आयोजना गरिएका छन्।

२००५ चैत २२ मा उनको निधन भएको थियो। उनले १९८८ वैशाख २४ मा स्थापना गरेको ‘सत्य हाङ्मा (धर्म) मुचुल्का’को नीति ऐतिहासिक सम्पत्तिका रूपमा मानिन्छ। सरकारले २०६६ मंसिर १६ मा फाल्गुनन्दलाई राष्ट्रिय विभूति घोषणा गरेको हो। उनको फोटो अंकित हुलाक टिकटसमेत प्रचलनमा छ।

उनको जन्मजयन्ती इलामसहित ताप्लेजुङ, पाँचथर, झापा, मोरङ, सुनसरी, तेह्रथुम, धनकुटालगायत जिल्लामा विविध कार्यक्रमसाथ मनाइन्छ।

प्रकाशित: २५ कार्तिक २०७८ १४:३६ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App