१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
समाज

बाढी–पहिरोमा मृत्यु भएकाका परिवारलाई राहत

जिल्लाका बाढी र पहिरोबाट पीडित परिवारलाई संघीय सरकारले राहत बाँडिरहेको छ। परिवारमा १ जनाको निधन भएको भए २ लाख र १ भन्दा बढीको निधन भए प्रतिव्यक्ति १ लाख रुपैयाँ राहतका रूपमा वितरण गरिँदैछ।  

सिडिओसहितको टोलीले पीडितको घरमै पुुगेर राहत रकम हस्तान्तरण गरिरहेको हो। जिल्लाकै सबैभन्दा बढीको मृत्यु भएको फाकफोकथुम गाउँपालिकामा शनिबार राहत वितरण गरिएको सिडिओ ध्रुबहादुर खड्काले बताए। ‘वितरणको प्रक्रिया पुर्याएका पीडित परिवारलाई धमाधम राहत बाँड्दैछौं,’ उनले भने, ‘कतिपयलाई वितरण गर्न बाँकी नै छ।’

शनिबार फाकफोकथुम वडा १ का २ परिवारलाई २/२ लाख र वडा ३ को एउटा परिवारलाई ३ लाख रुपैयाँ वितरण गरिएको छ। वडा ३ को एकै परिवारमा ४ जनाको निधन भएपनि चौथो व्यक्तिको राहतका लागि प्रक्रिया पुगिनसकेको खड्काले बताए। यसअघि देउमाई नगरपालिका–४ को एक परिवारलाई २ लाख रुपैयाँ राहत प्रदान गरिएको छ।  

कात्तिक १ देखि ३  सम्म अविरल वर्षापछि आएको बाढी–पहिरोले जिल्लामा १५ जनाको निधन भएको थियो। फाकफोकथुम गाउँपालिकामा सबैभन्दा बढी ६, माङसेबुङ गाउ“पालिकामा ४, सूर्योदय नगरपालिकामा ३ र माई तथा देउमाई नगरमा १÷१ जनाको निधन भएको प्रशासनले जनाएको छ। बाढी–पहिरोले जिल्लाका १० वटै स्थानीय तहमा क्षति पुुर्याएको छ।  

बाढी–पहिरोका कारण जिल्लामा २ सय ८५ जना विस्थापित भएका छन् भने ५ जना घाइते छन्। विस्थापित सबैजसो आफन्तकहाँ आश्रय लिएर बस्न बाध्य छन्। प्रहरीले ९ जनाको उद्धार गरेको छ। ६ सय ४४ घर–गोठमा बाढी–पहिरोले क्षति गरेको छ। १९ घर पुरानोबाट नयाँ स्थानमा सार्नुपर्ने देखिएको खड्काले जनाए।  

जिल्लामा बाढी–पहिरोबाट घर–आवासतर्फ ४६ करोड ९६ लाख, कृषिबालीमा २३ करोड ९५ लाख, विद्यालयतर्फ १४ करोड ६२ लाख, स्वास्थ्य केन्द्रमा ३ करोड २३ लाख, पुलमा १२ करोड, खानेपानीमा ११ करोड ३५ लाख, पशुपन्छीमा २ करोड ३० लाख, सिंचाइमा १९ लाख, नदी कटानमा ८० लाख, विद्युतमा ९१ लाख, खेलमैदान ५ लाख र टेलिफोनमा ४ लाख रुपैयाँ बराबरको क्षति भएको प्रशासन कार्यालयको विवरणमा उल्लेख छ।  

मेची राजमार्गका ९० ठाउँमा पहिरो झरेको थियो। यीमध्ये इलाम सदरमुकामको धोबिधाराछेउमा बगेको मेची राजमार्ग पुनर्निर्माण प्रक्रियामा छ। यहाँ पहिरोले राजमार्ग नै चुुँडिएपछि सवारीका साधन गुड्न सकेका छैनन्। अहिले ताप्लेजुङ र पाँचथरबाट झापासम्म आउ–जाउ गर्ने सवारी साधन इलाम बजारको बाटो भएर गुडिरहेका छन्।  

प्रकाशित: १३ कार्तिक २०७८ १०:५२ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App