coke-weather-ad
११ वैशाख २०८१ मंगलबार
image/svg+xml
समाज

प्रहरी हिरासत नै असुरक्षित

भैसि चोरेको आरोपमा प्रहरीले सुर्खेत चौकुने गाउँपालिका–३ बेतानका ३५ वर्षीय युवक धनबहादुर रानालाई आइतबार कैलाली लम्की चुहा–५ बाट पक्राउ गरेर इलाका प्रहरी कार्यालय टीकापुरको हिरासतमा राख्यो। राना सोमबार बिहान हिरासतको शौचालयमा मृत फेला परे।

राना शौचालयको भेन्टिलेसनमा झुण्डिएको अवस्थामा फेला परेको कैलालीका प्रहरी उपरीक्षक विश्व अधिकारीले बताएका छन्। बिहान ६ बजेतिर अर्को एक थुनवाले शौचालयको भेन्टिलेसनको जाली च्यातिएको र झ्यालको फलामे डण्डामा झुण्डिएको अवस्थामा उनलाई देखेको उनले बताए। ‘सिसी क्यामेरामा हेर्दा राना रातमा धेरैपटक शौचालय जाने–आउने गरेको देखिन्छ, बिहान ५.३२ मिनेटमा शौचालयमा उनी प्रवेश गरेपछि फर्केनन्, ६ बजेतिर अर्का थुनुवा शौचालय जाँदा उनले झुण्डिएको अवस्थामा देखेर प्रहरीलाई खबर गरे,’ प्रहरी उपरीक्षक अधिकारीले भने। उनी आफ्नै सेती गन्जीले झुण्डिएको उनले बताए। बिहान ड्युटीमा रहेका प्रहरी पनि झण्डा उठाउने प्रक्रियामा सहभागी हुन गएका बेला घटना घटेको उनको भनाइ छ।

प्रहरीको हिरासत भित्रै थुनुवाको मृत्यु हुनुमा केही कमजोरी रहेको उनले स्वीकारे। प्रहरीको हिरासतभित्रै युवकको मृत्यु भएको घटनाको छानबिन गर्न प्रहरी नायब उपरीक्षक सागर बोहराको नेतृत्वमा ५ सदस्यीय छानबिन समिति गठन गरिएको उनले बताएका छन्। विस्तृत कुरा छानबिन समितिले बाहिर ल्याउँला। तर कैलालीमा प्रहरी हिरासतमा पटकपटक मृत्यु हुने गरेकोमा स्थानीयको, मानवअधिकारकर्मी र नागरिक समाजले हिरासत असुरक्षित भएको भन्दै चिन्ता व्यक्त गरेका छन्।

विसं. २०७७ भदौ २१ गते पसलवाट मोबाइल चोरीको आरोपमा धनगढी उपमहानगरपालिका–५ का १९ वर्षीय रोशन विकलाई प्रहरीले पक्राउ गरेर जिल्ला प्रहरी कार्यालयको थुनुवा कक्षमा राख्यो। भदौ २६ गते बिहान अट्याच बाथरुम रहेको थुनुवा कक्षभित्रै उनको मृत्यु भयो। बिहान वाथरुमामा आफूले लगाएको सर्ट फुकालेर झुण्डिँदा ती युवकको ज्यान गएको प्रहरीको भनाइ थियो। युवकको शव हेर्दा नाकबाट रगत बगेको, निधारमा, आँखामा र मुखमा पनि चोट लागेकोले आफन्तले हत्या भएको भन्दै विरोध प्रदर्शनसमेत गरेका थिए।

यसैगरी विसं २०७७ साउन २९ मा धनगढी उपमहानगरपालिका १४ फुलबारीका अमरबहादुर चन्द प्रहरी चौकीको हिरासतमा रहेका बेला शौचालयमा घाँटी रेटिएको अवस्थामा मृत फेला परेका थिए। प्रहरीले छेउमा ब्लेड पनि फेला परेकोले ब्लेडले घाटी आफैं रेटेर आत्महत्या गरेको दाबी गरेको थियो। यसरी पटकपटक एकपछि अर्को हिरासतभित्र हुने मृत्युका घटनाले प्रहरी हिरासत नै असुरक्षित देखिएका छन्।

जनताको जिउधनको सुरक्षाको जिम्मा लिएको प्रहरीकै नियन्त्रणमा रहेका बेला हिरासतमा युवकको ज्यान जानु दुःखद् र चिन्ताजनक रहेको इन्सेकका प्रदेश संयोजक खड्कराज जोशीले बताएका छन्। ‘मान्छेलाई सुरक्षाको लागी र अप्रिय घटना नघटाओस् भनेर हिरासतमा राखिने हो, हिरासतभित्रै मृत्यु हुनुले प्रहरी हिरासत सुरक्षा प्रबन्धमाथि प्रश्न उब्जेको छ,’ उनले भने, ‘यो गम्भीर लापरबाही हो, राज्य जिम्मेवार र जवाफदेही बन्नुपर्छ।’

राष्ट्रिय मानव अधिकार आयोग सुदूरपश्चिम प्रदेश प्रमुख मोहन जोशीले प्रहरीको नियन्त्रणमा रहेको व्यक्ति सुरक्षित हुनुपर्नेमा हिरासतमै मृत्यु हुने अवस्था गम्भीर रहेको बताए। ‘प्रहरीको नियन्त्रणमा रहेको व्यक्ति नै बेला बेलामा मृत्यु हुने घटना भइरहेका छन्। प्रहरीको नियन्त्रणमा रहेका बेला नै मृत्यु भएर प्रहरी हिरासतभित्रै असुरक्षित हुने अवस्थाको सुधार गर्न ध्यान दिइनुपर्छ,’ उनले भने, ‘राष्ट्रिय मानव अधिकार आयोगले पटकपटक हिरासतको सुरक्षाका लागि नीतिगत रूपमै सुधार गर्न भनेको छ।’

प्रकाशित: २६ आश्विन २०७८ ०२:०६ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App