११ आश्विन २०८१ शुक्रबार
image/svg+xml
समाज

अवरुद्ध सडक खुलेपछि मनाङको जनजीवन सहज बन्दै

फाइल तस्बिर

यस वर्षको वर्षायामको सुरुदेखि अवरुद्ध सडक तीन महिनापछि सञ्चालन भएपछि मनाङको जनजीवन सहज बन्दैछ। विगत तीन महिनादेखि अवरुद्ध बेसीशहर–चामे सडकखण्डको धारापानी माथिसम्म सडक पुगेपछि औपचारिकरुपमा सञ्चालनमा आएको छ।  

लामो समयदेखि सडक सञ्जालबाट टाढा रहेका मनाङवासीलाई सडक सञ्चालनमा आएपछि सहज भएको प्रमुख जिल्ला अधिकारी विष्णु लामिछानेले बताए। धारापानीबाट माथिल्लो पाँच किलोमिटर बाँकी सडक निर्माण भएपछि सडक पुनःसञ्चालनमा आएको हो।  

'दसैँ अगाडि सदरमुकाम चामेसम्म सडक पुनःसञ्चालमा ल्याउने लक्ष्य पूरा भएको छ, अब तलेखु–भ्राताङ भिरमा सडक बनेपछि खाङ्सार हुनेछ', प्रजिअ लामिछानेले भने। भ्राताङ–पिसाङबीचमा सडकखण्ड खुलेपछि मनाङवासी र पर्यटकलाई सहज हुने उनले बताए। अवरुद्ध रहेको एक्लोभट्टी र तलेखुँको सडकखण्ड छिटै खुलाउने गरी काम भइरहेको उनले बताए।  

उनका अनुसार उक्त सडकखण्ड सञ्चालन भएपछि मनाङ जिल्लाको सडकखण्ड लगभग पूर्णरुपमा खुल्नेछ। मनाङ सडकखण्डअन्तर्गत कार्यक्रमसहित आयोजना गर्दै खुला भएको सन्देश दिन मनाङवासीले पर्यटकलाई निम्तो दिने गरेका छन्। असार १ मा परेको अविरल वर्षापछि आएको बाढीपहिराका कारण भ्राताङ भिरमा सडक अवरुद्ध भएको थियो, ङिस्याङ गाउँपालिकाका प्रमुख कान्छा घलेले भने। ङिस्याङ गाउँपालिका र पेमा छिरिङ एण्ड छुन्ता गुरुङ फाउण्डेशनको आर्थिक व्यवस्थापनमा सडक निर्माण गरिएको उनले बताए।  

जिल्लामा सडक अवरुद्ध भएपछि सहज बनाउन प्रतिनिधिसभा सदस्य पोल्देन छोपाङ गुरुङ मनाङमै बसेर लागिपरेको प्रजिअ लामिछानेले बताए। बन्द रहेको सडक प्रतिनिधिसभा सदस्य गुरुङको नेतृत्वमा ४५ दिनमै खुलाइएको उनले बताए।  

सो सडकखण्ड अवरुद्ध हुँदा दैनिक उपभोग्य सामग्रीको ढुवानीमा कठिनाइ भएको उन बताए। 'खाद्यान्न र औषधिजन्य सामग्रीको आपूर्तिमा नै समस्या थियो। हेली चार्टर गर्नसक्ने सबैको अवस्था छैन', अध्यक्ष घलेले भने, 'जिल्ला प्रशासन कार्यालय मनाङ, नेपाली सेना, सशस्त्र प्रहरी बल र नेपाल पुलिस तथा स्थानीयको साथ र सहयोगमा सडक खुलाइएको छ। सडक चलेपछि अहिले स्थानीयबासीमा खुसियाली छाएको छ।'

विगतमा लामो समय लगाएर सडक सञ्चालनमा ल्याउने गरेको भए पनि यसपटक छिटो गरी सडक सञ्चालनमा आएको छ। विगतमा लामो समय लागे पनि यसपटक ४५ दिनमा सडक सञ्चालन भएको छ। बेँसीशहर–चामे–खाङ्सार सडकखण्ड १०७ किलोमिटर छ। अब उक्त सडकखण्डअन्तर्गतको तलेखु–भ्राताङ भिरमा सडक सञ्चालन हुन बाँकी छ। रासस

प्रकाशित: १८ आश्विन २०७८ ०७:१० सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App