१२ श्रावण २०८१ शनिबार
image/svg+xml
समाज

खलबलिँदै नाता सम्बन्ध : पतिको हत्या आरोपमा पक्राउ

प्रदेश १ अन्तर्गत संखुवासभा जिल्लाको मादी नगरपालिका–१ खोलागाउँमा नातेदारबाटै भएको सामूहिक हत्या र प्रदेश २ मा पर्ने सिरहा जिल्लाको गोलबजार नगरपालिका–४ निपनियाकी महिलाले पैसा दिएर पतिको हत्या गराएको घटनाले नाता–सम्बन्धको जग खलबल्याइदिएका छन्। दुई फरक सामाजिक परिवेशमा भएका यी दुई घटनाले सामाजिक गठजोरलाई हल्लाइदिएका छन्।

घटना १ : भदौ १८

सिरहाको गोलबजार नगरपालिका–४ निपनियाकी ३८ वर्षीया हरिहरदेवी महराले पति ३९ वर्षीय दुखरन मोचीको पैसा दिएर हत्या गराएको प्रहरी अनुसन्धानबाट खुलेको छ। 

धारिलो हतियारबाट घाँटी रेटेको अवस्थामा भारतीय प्रहरीले मोचीको शव भारत, विहार राज्यको जयनगरस्थित बरही गाउँको नहरमा फेला पारेको थियो। ‘मोचीको हत्या पत्नी हरिहरदेवीको योजनामा भएको प्रहरी अनुसन्धानबाट खुलेको छ,’ सिरहाका प्रहरी प्रमुख एसपी हीरा पाण्डेले भने, ‘हत्या आरोपमा हरिहरदेवीलाई पक्राउ गरिएको छ।’

मोचीको हत्यामा संलग्न भारतका २६ वर्षीय मुकेश यादवलाई पनि त्यहाँको प्रहरीले पक्राउ गरी जयनगर थानामा न्यायिक हिरासतमा राखेर अनुसन्धान गरिरहेको जानकारी एसपी पाण्डेले दिए। हरिहरदेवीको प्रेमी भनिएका यादव मधुवनी देउधा गाउँका हुन्। उनी एम्बुलेन्स चालक हुन्। हरिहरदेवीले पतिको हत्या गर्न यादवलाई ६० हजार रुपैयाँ दिएको अनुसन्धानबाट खुलेको एसपी पाण्डेले बताए। हरिहरदेवीले यो रकम गोलबजारकै एक लघुवित्त संस्थाबाट ऋणमा लिएको प्रहरीले जनाएको छ।

एसपी पाण्डेका अनुसार हरिहरदेवीलाई अपहरण तथा हत्या योजनामा मुद्दा चलाइएको छ भने यादवलाई भारतको जयनगर प्रहरीले ज्यान मुद्दामा कारबाही चलाएको छ। हत्याको कारण अवैध प्रेम सम्बन्ध देखिएको प्रहरीले जनाएको छ। लामो समय वैदेशिक रोजगारीमा बिताएका मोचीले घर फर्केपछि गाउँमै फर्निचर र किराना पसल सञ्चालन गर्दै आएका थिए। उनका चार छोराछोरी छन्।

छिमेकीका अनुसार मोचीले आफूले विदेशमा कमाएर पठाएको पैसाको हिसाब माग्दा हरिहरदेवीले नदिएपछि उनीहरूबीच झगडा भइरहन्थ्यो। हरिहरदेवीको यादवसँगको सम्बन्धका कारण पनि उनीहरूबीच झगडा हुन्थ्यो। 

प्रहरीका अनुसार हरिहरदेवीले दुईपटक आत्महत्या प्रयाससमेत गरेकी थिइन्। आत्महत्याको प्रयास सफल नभएपछि उनले आफू मर्नुभन्दा पतिलाई नै खतम गर्ने योजना बनाएर हत्या गर्न लगाएको प्रहरी बताउँछ।

उनले पतिलाई मार्ने सोच त बनाइन् तर कसरी ? यसका लागि उनले प्रेमी भनिएका एम्बुलेन्स चालक यादवको साथ लिने योजना बनाइन्। त्यसमा यादवले साथ दिए। यादव र हरिहरदेवीबीच दुई वर्षदेखि प्रेम सम्बन्ध रहेको अनुसन्धानबाट खुलेको छ। 

जयनगरस्थित एपी सिंह अस्पतालमा पाठेघरको अप्रेसन गराउन पतिसँगै गएका बेला हरिहरदेवीको यादवसँग चिनजान भएको थियो। उपचारका क्रममा सोही अस्पतालका एम्बुलेन्स चालक यादवसँग उनी नजिक भएकी थिइन्। उनका पति मोचीसँग पनि त्यही बेला यादवको चिनजान भएको थियो।

हरिहरदेवीले पतिलाई मार्ने प्रस्ताव राखेपछि यादवले एक लाख भारतीय रुपैयाँ मागेका थिए। उनले त्यति रकम दिन नसक्ने भन्दै ५० हजारमा काम गरिदिन आग्रह गरिन्। ६० हजारमा कुरा मिल्यो। यो रकम जुटाउन उनले पति मोचीकै सल्लाहमा भदौ १७ गते गोलबजारस्थित छिमेक लघुवित्तबाट ६० हजार रुपैयाँ ऋण लिइन्। त्यसपछि उनी बिरामी भएको भन्दै उपचारका लागि पतिलाई लिएर जयनगर पुगिन्।

घटना विवरणअनुसार सीमावर्ती बजार माडर पुगेर उनले यादवलाई फोन गरेर आफू पतिसँगै जयनगर आइरहेको बताइन्। हत्याका लागि कबोल गरेको रकम पनि पतिसँगै रहेको उनले बताइन्। जयनगर पुगेपछि उनीहरूले रेल्वे स्टेसनमा चिया पिउन थाले।

त्यसैबेला यादवसहित तीनजना त्यहाँ आए। यादवले मोचीलाई खाजा खान जाने भन्दै बाइकमा चढाएर लगे। पूर्वयोजनाअनुसार उनले मोचीको हत्या गरी शव नहरमा फालिदिए।

जयनगरबाट एक्लै फर्किएकी हरिहरदेवीले पतिको भारतमा आपराधिक समूहले हत्या गरेको र शवसमेत नपाएको गाउँलेलाई सुनाइन्। यो कुरा प्रहरीमा पनि पुग्यो। प्रहरीले घटनाको सूक्ष्म अनुसन्धान थाल्यो।

‘मोबाइलको कल डिटेल्सबाट झस्काउने खालको तथ्य बाहिर आयो,’ एसपी पाण्डेले भने, ‘यो घटनाले मानिसको आपराधिक मनोविज्ञानलाई मात्र दर्साएको छैन, नाता–सम्बन्धको विश्वास र सुरक्षामा समेत प्रश्न खडा गरिदिएको छ।’ एसपी पाण्डेका अनुसार यो घटनाले अन्तरसीमा अपराधको अवस्थालाई पनि छताछुल्ल पारिदिएको छ। वारिका मानिसलाई पारि लगी मारेर फालिदिएपछि घटना गुमनाम हुने सोचका साथ यो घटना गराइए पनि नेपाल प्रहरीको सक्रियता र सुझबुझपूर्ण अनुसन्धानबाट यथार्थ बाहिर आएको हो।

घटना २: भदौ २१

प्रदेश १ अन्तर्गत संखुवासभा जिल्लाको मादी नगरपालिका–१ खोलागाउँमा नातामा भाइ पर्नेबाटै दाजुको परिवारका ६ जनाको हत्या गरियो। तेजबहादुर कार्की र उनको परिवारका अन्य पाँचजनाको हत्यामा भाइ नाता पर्नेहरूकै संलग्नता प्रहरी अनुसन्धानबाट खुलेको छ। 

हत्यामा संलग्न भएको आरोपमा घटनाको सातौं दिन भदौ २७ गते पक्राउ परेका २५ वर्षीय लोकबहादुर कार्कीसँग सोधपुछपछि प्रहरीले उनका भाइ नरेश, बुवा ४९ वर्षीय रणबहादुर, काका नाता पर्ने ४७ वर्षीय खड्गबहादुर र खड्गका छोरा २८ वर्षीय हस्तबहादुरलाई पनि पक्राउ गरेको छ। प्रहरीले प्रारम्भमा सामूहिक हत्यामा लोकबहादुरको मात्र संलग्नता भनेको थियो। लोकबहादुरको बयानपछि बल्ल प्रहरीले यो घटना योजनाबद्ध रूपमै भएको र हत्यामा सामूहिक संलग्नता रहेको पत्तो पाएको हो।

घटनाबारे थप प्रमाण फेला परेपछि संघीय एकाइ प्रहरी कार्यालय धरानका एसपी भीम दाहालको नेतृत्वमा प्रदेश १ प्रहरी कार्यालयबाट ६ जनाको टोलीले घटनास्थल पुगेर पुनः अनुसन्धान थालेको छ। 

हत्या गरिएकी रञ्जना कार्कीको मोबाइल प्रहरीले फेला पारेपछि अनुसन्धान टोली पुनः घटनास्थल केन्द्रित बनेको जिल्ला प्रहरी कार्यालय संखुवासभाका डिएसपी लालध्वज सुवेदीले बताए। हत्या आरोपमा पक्राउ परेका लोकबहादुरको घरबाट रञ्जनाको मोबाइल भेटिएको थियो। भदौ २१ गते बिहान तेजबहादुर, उनकी आमा पार्वता, पत्नी मनमाया, बुहारी रञ्जना, नाति दीपक र नातिनी गोमाको सामूहिक हत्या गरिएको थियो।

अनुसन्धानमा खटिएका डिएसपी सुवेदीका अनुसार यस घटनाले त्यहाँको सामाजिक मिलापलाई खलबल्याइदिएको छ। ‘पहाडी समाजमा यस किसिमका अपराधका घटना बिरलै घट्छन्,’ उनले भने, ‘सामान्य कुरामा यस किसिमको क्रोध पहाडी समाजमा अस्वाभाविक हो। पछिल्लो समय समाजमा क्रुरताको पराकाष्ठा नाघ्नेगरी भएका आपराधिक घटनाले सामाजिक सद्भाव, सौहार्दता, मानवतालाई खलबल्याइदिएको छ।’

प्रकाशित: ११ आश्विन २०७८ ०३:०४ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App