१५ चैत्र २०८० बिहीबार
समाज

ट्रकभित्रै १३ वर्षीया बालिकामाथि बलात्कार

ट्रकभित्र १३ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको आरोपमा काभ्रे प्रहरीले मंगलबार दुईजनालाई पक्राउ गरेको छ। झापा हल्दीबारी गाउँपालिका वडा नं. ०५ बस्ने वर्ष ३२ को चालक हर्कबहादुर बिश्वकर्मा र सह–चालक मोरङ्ग उर्लाबारी नगरपालिका वडा नं. ०१ बस्ने वर्ष १८ को निदिप धिमाललाई मंगलबार धुलिखेलबाट नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय काभ्रेले जनाएको छ।  

प्रहरीका अनुसार केही दिन अगाडि भक्तपुर नगरपालिका वडा नं. १ श्रृजनानगरस्थित सडक खण्डमा पूर्वतर्फ जानको लागी भनी गाडी कुरिरहेकी अन्दाजी वर्ष १३ की बालिकालाई एकिन नम्बर नखुलेको ट्रकले गन्तव्यसम्म पुर्याइदिने भनी ट्रकमा लगेका थिए। तर उनीहरुले गाडीमा राखी ल्याएकोमा काभ्रेपलाञ्चोक जिल्ला बनेपा नगरपालिका वडा नं. १२ साझा पेट्रोल पम्प अगाडि गाडी रोकेर बालिकामाथि जबरजस्ती गरेको थियो। गाडीभित्रै चालक र सह–चालक दुवैजना मिली पालैपालो जबरजस्ती करणी गरी बालिकालाई गन्तव्यसम्म नपुर्याइ सोही स्थानमा छाडी गाडी लिई भागी फरार भएको प्रारम्भिक अनुसन्धानबाट देखिएको प्रहरीले जनाएको छ।  

पीडित बालिका आफूलाई जबरजस्ती करणी भएपश्चात गन्तव्यतर्फ नगई  पुनः भक्तपुरतर्फ साँझको समयमा एक्लै विक्षिप्त रुपमा हिँडिरहेको अवस्थामा प्रहरी टोलीले फेला पारेको जिल्ला प्रहरी कार्यालय काभ्रेका प्रहरी नायब उपरीक्षक हरि खड्काले बताए।

बालिकालाई सोधपुछ गर्दा आफूलाई नम्बर नखुलेको ट्रक चालकले भक्तपुर नगरपालिका वडा नं. ०१ श्रृजनानगरबाट आफ्नो गन्तव्यसम्म पुर्याइ दिन्छु भनी ट्रकमा राखी लगेकोमा काभ्रेको बनेपा नगरपालिका १२ जनागालस्थित साझा पेट्रोल पम्प अगाडि गाडी रोकी सोही गाडीभित्र चालक र सह–चालक दुवै जना मिली पालैपालो जबरजस्ती करणी गरेको भनी बालिकाले बताएको उनले जनाए। त्यसपछि तत्काल पीडितलाई आफन्तको जिम्मा लगाई अनुसन्धान प्रारम्भ गरिएको उनले जनाए।  

तत्काल वारदात भएको भनिएको स्थानमा प्रहरी टोली खटी जाँदा सोही स्थानमा पीडितको कपडाहरुसहितको झोला र चप्पल फेला परेको प्रहरीले जनाएको छ। जिल्ला प्रहरी कार्यालय काभ्रेपलाञ्चोकको विशेष अनुसन्धान टोलीले ईलाका प्रहरी कार्यालय बनेपाको सहयोगमा अनुसन्धान कार्य प्रारम्भ गरिएको जनाइएको छ। घटना घटाई वारदात स्थलबाट गाडी लिई चालक र सह–चालक सिन्धुली हुँदै झापासम्म पुगेको जनाइएकोमा नम्बर नखुलेको सवारी साधन पत्ता लगाउने उद्देश्यले प्रविधिक विश्लेषण गर्ने क्रममा प्रदेश २–०३–००१ ख १४८५ नम्बरको भाडाको ट्रक साँगाबाट बनेपा चोक आइपुग्न अत्यधिक समय लागेको देखिएकाले सो ट्रक उपर शंका लागी उक्त ट्रकलाई निगरानीमा राखी पक्राउ गरिएको प्रहरीले जनाएको छ।

प्रदेश २–०३–००१ ख १४८५ नम्बरको भाडाको ट्रकमोरङ्गबाट वि.पि. राजमार्गको बाटो हुँदै काठमाडौ्तर्फ आउँदै छ भन्ने सूचनाको आधारमा मंगलबार काभ्रे धुलिखेल नगरपालिका ०७ धुलिखेल चोकबाट ट्रकसहित उनीहरुलाई पक्राउ गरिएको जनाइएको छ।

प्रारम्भिक अनुसन्धानको क्रममा वारदातमा निज प्रतिवादीहरूको संलग्नता रहेको कुरा खुल्न आएको जनाइएको छ। पीडितको परिवारबाट जबरजस्ती करणी सम्बन्धी कसूरमा किटानी जाहेरी लिई काभ्रेपलाञ्चोक जिल्ला अदालतबाट म्याद थप अनुमति लिई आवश्यक अनुसन्धान भइरहेको जनाइएको छ।

प्रकाशित: २९ भाद्र २०७८ १५:५१ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App