७ जेष्ठ २०८१ सोमबार
image/svg+xml
समाज

बैंकमा चोरी: लकरको पैसा जोगियो, सामान गायब

पर्साको धोबीनी गाउँपालिका–४ लंगडी बजारमा रहेको एनआइसी एसिया बैंकको शाखा कार्यालयमा चोरी भएको छ। बिहीबार राति बैंकको शाखा कार्यालय मुल गेटको ताल्चा फोडेर चोरी गरेको पाईएको प्रहरीको भनाई छ। बैंकबाट एक थान ल्यापटप र कम्प्युटरका केही सामान मात्र चोरी भएको बैंकका शाखा प्रबन्धक सचितानन्द चौहानले बताएका छन्।  

चोरहरुको समूहले पैसा राख्ने ‘लकर’ फुटाउने कोसिस गरे पनि असफल भएको बैंकका कर्मचारी र प्रहरी दुबैको भनाई छ। ‘ससिटिभी क्यामेरामा देखिए अनुसार शुक्रबार बिहान १ बजेर ५० मिनेटको समयमा ‘रेनकोट’ र हातमा पन्जा लगाएका दुई जना व्यक्तिहरुले अक्सिजन सिलिण्डरसहितको ग्यास कटर मेसिनले मुख्य सटरको ताल्चा काटेर भित्र पसेको देखिन्छ। त्यसपछि उनीहरू भित्र पसेर बैंकमा जडान गरिएका ५ वटा सिसिटिभी क्यामेराको तार चुडोलेको देखिन्छ,’ शुक्रबार बिहान घट्नास्थल पुगेका पर्साका प्रहरी उपरीक्षक बेलबहादुर पाण्डेले नागरिकलाई भने, ‘पहिलेदेखि त्यस ठाउँलाई राम्ररी देखेका चिनेका व्यक्तिहरु यसमा संलग्न रहेको बुझिन्छ, ‘सिसिटिभी क्यामरा छ’ भन्ने थाहा पाएकाले उनीहरुले अनुहार तलतिर मात्र पारेर घट्ना गराएको देखिन्छ।’  

उनका अनुसार चोर समुहले घट्नामा प्रयोग भएको ग्यास सिलिण्टर र अन्य औजार घट्नास्थलमा छोडेर भागेको भेटिएको छ। स्थानीय प्रहरी चौकीको गस्ती टोली उक्त ठाउँमा तीन बजे गस्ती गर्न पुगेको जनाएको छ। ‘प्रहरी गस्ती आएको भन्ने थाहा पाएपछि उनीहरु चोरीमा प्रयोग गर्न ल्याएका समानहरु छोडेर भागेको हुन सक्ने अनुमान छ।  भारी सिलिण्डर बोकेर आएको हिसाबले यसमा क्यामरामा देखिएका २ भन्दा बढी व्यक्तिहरू संलग्न भएको हुन सक्ने देखिन्छ,’ प्रहरी उपरीक्षक पाण्डेले भने, ‘बाहिर निगरानी गरेर बसेको ब्यक्तिले भित्रका लाई संकेत गरेपछि उनीहरु समान छोडेर भागेको हुन सक्छ।’  

घट्नाको थप अनुसन्धान भइरहेको उनले जनाए। त्यस ठाउँमा बजारभन्दा बाहिर प्रहरी चौकी रहेको छ। बजारमै प्रहरी चौकी राख्ने ठाउँ पहिले पनि माग गरेको र यसपटक यो घट्नापछि पनि गाउँपालिका प्रमुखसंग भनेको पाण्डेले बताए। उनले उक्त ठाउँमा थप सुरक्षा जनशक्ति दिने समेत जनाएका छन्। बैंकमा दिनको समयमा मात्र सुरक्षागार्ड राख्ने गरिएको र रातिको समयमा भने सुरक्षागार्ड नराखिने कुरा थाहा पाएका चोर समुहले त्यसको फाइदा उठाउन खोजेको भन्दै स्थानीयले यसमा बैंककै पनि लापरवाही देखिएको प्रतिक्रिया दिए।  

प्रकाशित: १८ भाद्र २०७८ १२:४४ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App