१६ चैत्र २०८० शुक्रबार
समाज

उपत्यकामा हट्यो निषेधाज्ञा व्यवसाय चलाउन पाइने

काठमाडौं उपत्यकामा तीनवटै जिल्ला प्रशासन कार्यालयले झन्डै पाँच महिनादेखि जारी निषेधाज्ञा हटाउँदै फिल्म हल पनि खोल्ने  आदेश जारी गरेका छन्।बुधबार काठमाडौं, ललितपुर र भक्तपुरका प्रमुख जिल्ला अधिकारीको संयुक्त बैठकले निषेधाज्ञाको स्वरूप परिवर्तन गर्दै भदौ १७ गतेदेखि लागू हुने गरी उपत्यकाका फिल्म हल पुनः सञ्चालन गर्न दिने निर्णय गरेको थियो।

कोरोना भाइरस संक्रमणको जोखिम कायमै रहेको अवस्थामा सचेतना बढाएर क्रियाकलाप सञ्चालन गर्न निषेधाज्ञाको शैली परिवर्तन गर्दै भदौ मसान्तसम्मको लागि अवधि थप गरिएर आदेश जारी गरेको जानकारी काठमाडौंका प्रमुख जिल्ला अधिकारी (प्रजिअ) कालीप्रसाद पराजुलीले दिएका थिए। ‘कोरोना भाइरस संक्रमणको जोखिम कायम रहेको हुँदा निषेधाज्ञा हटाएर आदेश जारी गरेका छौं,’ काठमाडौंका प्रजिअ पराजुलीले भने, ‘सर्वसाधारणदेखि संस्थालगायतले आर्थिक, सामाजिक र व्यवसायिक गतिविधि गर्दा अनिवार्य स्वास्थ्य मापदण्ड पालना गर्नुपर्छ। जनस्वास्थ्य मापदण्ड पालना गरिएको वा नगरिएको विषयमा अनुगमन गरिन्छ। व्यवसाय खुल्न दिने निर्णय भएको हुँदा फिल्म हल रात्रिकालीन व्यवसाय पुनः सञ्चालन गर्न पाइने भएको हो।’

उनका अनुसार बिहीबारदेखि भदौ मसान्तसम्म लागु हुनेगरी अनावश्यक रूपमा मानिस जम्मा हुने, भीडभाड हुने, सभा जुलुस गर्ने, जात्रा र महोत्सवलगायतमा प्रतिबन्ध लगाउने निर्णय भएको थियो। यस अवधिमा चाडपर्वहरू स्वास्थ्य मापदण्डको पूर्ण पालना गरी न्यूनतम सहभागितामा सांकेतिक रूपमा मात्र मनाउन पाइनेछ।

त्यस्तै शैक्षिक संस्थाले भौतिक उपस्थितिमा पठनपाठन गर्न नपाउने र गर्नुपर्ने अवस्थामा नेपाल सरकारको स्मार्ट लकडाउनको मापदण्डअनुसार जिल्ला कोभिड–१९ संकट व्यवस्थापन केन्द्रसँग समन्वय गरी पठन पाठन गर्नुपर्ने व्यवस्था गरिएको छ। ‘अनलाइनको पहुँच नभएको र गाउँघरमा कोरोना भाइरस संक्रमण नभएको अवस्थामा स्मार्ट लकडाउनअनुसार विद्यालय सञ्चालन गर्न पाइन्छ,’ उनले भने, ‘स्वास्थ्य मापदण्डको पूर्ण पालना गरेर स्थानीय तहसँग समन्वय गरी विद्यालय सञ्चालन गर्नुपर्नेछ।’

स्थानीय ढुवानी बिहान ९ बजेदेखि ११ बजेसम्म र अपरान्ह ४ बजेदेखि ७ बजेसम्म सञ्चालन गर्न पाइनेछ।सार्वजनिक तथा निजी निर्माण सामग्री ढुवानी बेलुका ९ बजेदेखि बिहान ५ बजेसम्म सञ्चालन गर्न पाइने छन्। औषधि तथा स्वास्थ्य सामग्री पसल जुनसुकै समयमा निर्वाध रूपमा सञ्चालन गर्न पाइनेछ।

पसल, रेष्टुरेन्ट तथा होटल व्यवसाय सञ्चालन गर्दा स्वास्थ्य मापदण्डको पालना गर्नुपर्नेछ। तोकेबमोजिम स्वास्थ्य मापदण्ड परिपालना नगरेको अनुगमनको क्रममा पाइएमा पसल तथा व्यवसाय तत्काल बन्द गर्न सकिनेछ।

कोरोना भाइरस संक्रमणको लक्षण देखिएका तथा संक्रमितको सम्पर्कमा रहेका व्यक्तिलाई नेपाल सरकारले निःशुल्क व्यवस्था गरेको एन्टिजेन तथा पिसिआर परीक्षणका लागि सम्बन्धित स्थानीय तह, जिल्ला अस्पतालसँग सम्पर्क गरी परीक्षण गराउन र भीडभाडबाट बच्न अनुरोध गरिएको छ। स्वास्थ्यको मापदण्ड पूर्ण पालना गर्न पनि अनुरोध गरिएको छ।त्यसका लागि सुरक्षा निकायबाट अनुगमन गरिने र अनुगमनका क्रममा अवज्ञा गरेको पाइएमा कोभिड–१९ संकट व्यवस्थापन अध्यादेश २०७८ अनुसार कारबाही हुने चेतावनी दिइएको छ।

प्रकाशित: १७ भाद्र २०७८ ०३:२६ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App