भारत र मलेसियाले सेमिकन्डक्टर क्षेत्रमा साझेदारीलाई थप गहिरो बनाउने प्रतिबद्धता जनाएका छन्।
भारतका प्रधानमन्त्री नरेन्द्र मोदीको मलेसिया भ्रमणका क्रममा आइतबार यो क्षेत्रमा सहकार्य विस्तार गर्ने सम्झौता भएको छ। हिन्द महासागर क्षेत्रका यी दुई छिमेकी देशले प्रविधि र व्यापारलाई प्राथमिकता दिँदै सम्बन्ध मजबुत बनाइरहेका छन्।
मोदी शनिबार मलेसिया पुगेका थिए। यो एक दशकपछि उनको पहिलो भ्रमण हो। भ्रमणमा मलेसियाका समकक्षी अनवर इब्राहिमसँग नवीकरणीय ऊर्जा, स्वास्थ्य सेवा र कृत्रिम बौद्धिकता जस्ता क्षेत्रमा सम्झौतामा हस्ताक्षर भएका हुन्।
मोदीले भने, ‘एआई र डिजिटल प्रविधिसँगै सेमिकन्डक्टर, स्वास्थ्य र खाद्य सुरक्षामा पनि साझेदारी अगाडि बढाइनेछ।’ यी क्षेत्र दुवै देशका लागि दीर्घकालीन रणनीतिक महत्वका छन्।
अनवर इब्राहिमले यो भेटलाई ‘अत्यन्त महत्त्वपूर्ण र रणनीतिक’ बताए। पुत्रजयामा पत्रकार सम्मेलनमा उनले यो सम्बन्धलाई थप सुदृढ बनाउने विश्वास व्यक्त गरे।
मलेसिया विश्व सेमिकन्डक्टर निर्यातमा छैटौं स्थानमा छ र यस क्षेत्रले कुल घरेलु उत्पादनको करिब २५ प्रतिशत योगदान दिन्छ। मलेसियासँग ३०-४० वर्षको अनुभव छ, जसले भारतलाई ठूलो अवसर दिन्छ।
भारतीय कम्पनीहरू अनुसन्धान, निर्माण र परीक्षणमा मलेसियासँग सहकार्य गर्न इच्छुक छन्। टाटा इलेक्ट्रोनिक्स जस्ता कम्पनीले यस क्षेत्रमा प्लान्ट खरिदका लागि वार्ता गरिरहेका छन्।
दुई देशबीच व्यापार पनि बढ्दो छ। गत वर्ष भारतले मलेसियामा ७ अर्ब ३२ करोड डलरको निर्यात गरेको थियो भने मलेसियाबाट १२ अर्ब ५४ करोड डलरको आयात भएको थियो।
मलेसियामा करिब ३० लाख भारतीय मूलका नागरिक छन्, जसलाई मोदीले ‘जीवित पुल’ भनेका छन्। उनीहरूको भूमिका दुवै देशबीच सम्बन्धलाई मानवीय आधार दिने बताइएको छ। एजेन्सी
प्रकाशित: २५ माघ २०८२ १३:२५ आइतबार





