३ चैत्र २०८२ मंगलबार
image/svg+xml
कला/साहित्य

दाङमा मुक्तकसंग्रह ‘स्वतन्त्रताको श्वास’ काे समीक्षा कार्यक्रम

राप्ती साहित्य परिषद् दाङ शाखाले नियमित कृति समीक्षा कार्यक्रमकाे १९८औं शृङ्खलामा साहित्यकार दीपबहादुर खत्रीको मुक्तकसङ्ग्रह ‘स्वतन्त्रताको श्वास’ काे समीक्षा कार्यक्रम गरेको छ।

राप्ती साहित्य परिषद् दाङको सभाहलमा सम्पन्न उक्त कार्यक्रम परिषद् जिल्ला शाखा, दाङका अध्यक्ष यम रेग्मीको अध्यक्षता, संस्कृतिविद् डा. गोविन्द आचार्यको प्रमुख आतिथ्य र पुरुषोत्तम खनालको विशिष्ट आतिथ्यमा भएको थियो।

संस्थाका सचिव घनश्याम केसीले सहजीकरण गरेकाे कार्यक्रममा परिषद्का उपाध्यक्ष सुरेशकुमार पाण्डेले उपस्थित जनलाई शब्दमार्फत स्वागत गरेका थिए।

डा. लोकराज पराजुलीले ‘स्वतन्त्रताको श्वास’ मुक्तकसङ्ग्रहको समीक्षात्मक टिप्पणी गरेका थिए। समीक्षक पराजुलीले सङ्ग्रहमा समाजको यथार्थ, बदलिँदो मूल्यमान्यता, आत्मसङ्घर्षका साथै व्यङ्ग्यात्मक भाव, करुणाका तरङ्ग, विद्रोही स्वर र श्रद्धा जस्ता अनुभूति अभिव्यक्त भएको उल्लेख गरे।

उनले मुक्तकसङ्ग्रह हरेक दृष्टिकोणबाट उत्कृष्ट रहेको बताउँदै लेखकलाई निरन्तर सिर्जनामा लागिरहन सुझावसमेत दिए।

कार्यक्रममा राप्ती साहित्य परिषद् केन्द्रका वरिष्ठ उपाध्यक्ष दीपक शर्मा (समीर), लेखक सङ्घ दाङका अध्यक्ष खगराज न्यौपाने, प्रलेस दाङका अध्यक्ष चन्द्रबहादुर थापा, राप्ती साहित्य परिषद्का केन्द्रीय सल्लाहकार पदमप्रसाद शर्मा, वरिष्ठ साहित्यकार गणेश विषम लगायत साहित्यप्रेमी, पत्रकार तथा विभिन्न सङ्घसंस्थाका प्रतिनिधिको उपस्थिति थियो।

प्रकाशित: २५ माघ २०८२ १३:०० आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App