राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का उपसभापति स्वर्णिम वाग्लेले नवनिर्वाचित सांसदहरूलाई अध्ययन गरेर मात्रै बोल्न सुझाव दिएका छन्।
मंगलबारबाट सुरु भएको अभिमुखीकरण कार्यक्रमको उद्घाटन सत्रलाई सम्बोधन गर्दै उनले संसदबाट कानुन बन्ने भएकाले बोल्नुअघि अध्ययन गर्न सबैलाई आग्रह गरे।
‘तपाईंहरू फेरि अध्ययनको चरणमा प्रवेश गर्नुपर्नेछ। अब फेरि ब्याक टू कलेज भनेजस्तै हो। यसमा केही आधारभूत डकुमेन्टको फ्रेमवर्क हुनेछ,’ वाग्लेले भने, ‘पार्टीकै धारणाहरू बारे पनि अध्ययन गर्नुपर्नेछ। वाचापत्र दोहोर्याएर तेहेर्याएर पढ्नुहोला।'
आ-आफ्नो निर्वाचन क्षेत्रका जनताको मुद्दालाई बुलन्द ढङ्गले उठाउनुपर्नेमा उनको जोड छ। नीति बहस, विकास निर्माण, सामाजिक, आर्थिक मुद्दालगायतमा ध्यान दिनुपर्ने वाग्लेले बताए।
‘हामी विधायक सांसदको भूमिकामा छौं। हामीले गर्ने मूल काम के हो ? सहायक काम के हो ? भन्ने बुझ्नुपर्छ। हामी कानुन बनाउन आएका हौं,’ वाग्लेले भने, ‘सरकारको कामको अनुगमन गर्ने वाचडग पनि हो। आ-आफ्ना निर्वाचन क्षेत्रका जनताका गुनासालाई बुलन्द ढंगले उठाउनुपर्ने हुन्छ।’
उनले आफूहरू व्यक्तिगत समस्या समाधान गर्न नआएको बताउँदै प्रणाली नै बदल्ने विषयमा गम्भीर रहन आग्रह गरे।
‘थिति बसाल्ने संकल्प, अब सिस्टम बसालौं, लथालिंग भएको अर्थ राजनीतिलाई अब सम्हाल्नुपर्नेछ। अब नेपाली जनताले गर्नसक्ने गरी म्यान्डेट दिएर पठाउनुभएको छ,’ उनले भने, ‘खाली ठूलो पार्टी मात्रै भएर बहुमत नआएको भए यति ठूलो भारी हुँदैन थियो। यसमा सजक हुनुहोला ।’
प्रकाशित: ३ चैत्र २०८२ १३:३१ मंगलबार





