coke-weather-ad
१२ वैशाख २०८१ बुधबार
image/svg+xml
समाज

खोरिया गाउँमा नदी कटान क्षेत्रको अस्थायी तटबन्ध निर्माण सुरु

कपिलवस्तुको यशोधरा गाउँपालिका वडा नम्बर ८ स्थित बाणगंगा नदीले कटान गरेको खोरिया क्षेत्रको मर्मत सुरु गरिएको छ। नदीले १० दिनअघिनै सय मिटर बढी क्षेत्र कटान गरेको थियो। अहिले कटान गरेको क्षेत्र तटबन्ध तथा बाटोको रुपमा प्रयोग हुँदै आएको छ। 

नदीले काटन गरेपछि नदी गाउँमा पस्न पाँच/सात मिटर मात्र बाँकी छ। स्थानीय प्रशासन, प्रशासन कार्यालय गाउँपालिकाले पहल गरेपछि जनताको तटबन्ध बुटवलले कटान क्षेत्रमा माटो र टुक्रा ईटा राखेर पुरेको छ। ५ दिनअघिदेखि कटान क्षेत्रमा मर्मतको काम सुरु गरिएको ईन्जिनियर समृतलाल चाैधरीले बताए। तत्कालका लागि कटान क्षेत्रमा ईटा र माटो राखेर सय मिटर जतिको भाग पुरेको उनले बताए। आईतबार भने बाढी आएकाले काम गर्न गाह्रो परेको उनले बताए। 

कटान क्षेत्रको पश्चिम पट्टी ३ लेयरमा काम गर्ने उनले बताए। पानी परीरहेकोले बोरामा ईटाको टुक्रा र बालुवा राखेर बाँसको प्रयोग गरी अस्थायी तटबन्ध बनाउने उनले बताए। कटान जोखिम क्षेत्र भने ८ सय मिटर रहेको स्थानीयहरु बताउँछन्। नदी कटान भएपछि स्थानीयहरु निकै त्रसित बनेका छन्।  

प्रदेशका भौतिक पूर्वाधार विकास मन्त्री यादवको टोलीद्वारा स्थलगत अनुगमन  

उता लुम्बिनी प्रदेशका भौतिक पूर्वाधार बिकास मन्त्री सहसराम यादवको नेतृत्वमा आईतबार खोरिया गाउँको काटन क्षेत्रकाे निरीक्षण गरिएको छ। टोलीमा पूर्व प्रदेश मन्त्री धरमबहादुर लाल श्रीवास्तव, प्रदेश सदस्य रिना नेपाल, गाउँपालिका प्रमुख गिरीजेश पाण्डेय, प्रअिज चक्रपाणी खनाल, नेता सुधाकर पाण्डेय लगायतका टोलीले स्थलगत अनुमगन गरेका हुन्। सो अवसरमा मन्त्री यादवले खोरिया गाउँको कटान क्षेत्रमा तत्कालीन आवश्यक्ता अनुसार काम अघि बढाउन तालुक निकायमा निर्देशन दिएको बताए। 

मुख्यमन्त्री कुलप्रसाद केसीको आदेशमा आफू कटान क्षेत्रमा आएको भन्दै उनले आफूले यस बारमा संघीय सरकारलाई समेत जानकारी गराएको बताए। ‘अहिलेलाई जे गर्न सकिन्छ त्यही गर्न निर्देशन दिएको छु,’ उनले भने। बाणगांग नदीले काटन गर्ने अकबरपुर, कजराहवा, हदौना खारिया लगायतका क्षेत्रमा कटान क्षेत्रको स्थायी समाधानका लागि डिपिआर तयार गर्नुपर्ने मन्त्री यादवले बताए। उनले काटन क्षेत्रको स्थायी समाधान हुनुपर्ने बताए। गाउँपालिका प्रमुख पाण्डेयले आफूले खोरिया क्षेत्रको काटन रोक्न १० लाख रकम लगानी गर्ने बताए। ‘खोरिया गाउँ नै बगाउने खतरा बढेको छ यसलाई बचाउन सक्दो प्रयास गर्ने छु‘, उनले भने।  

नदी कटान भएपछि गाउँलेहरु रातभरी जाग्राम  

ठूलो बाढी आए भने खोरिया गाउँलाई नै बगाउनले ठूलो खतरा रहेको गाउँलेहरु बताउँछन्। नदी कटानको समस्याले गर्दा खोरियामा गाउँलेहरुले रातिको समयमा पालैपालो पहरेदारी गर्ने गरेका छन्। ‘आकाशमा बादल मडारिँदा, बर्षा हुने जस्तो देखेपछि पालौपलो पहरेदारी गर्दै आएका छौ,' स्थानीय खजान्ची दर्जीले भने। बाढीले कटान गर्दा गाउँ नै बगाउने खतरा बढेको छ। 

बाणगंगा नदीको बहाव बस्तीतर्फ सर्दै गएपछि गाउँ नै बगाउने खतरा बढेको हो। २ सय ४० घरधुरी रहेको गाउँमा नदी कटान ठूलो समस्याको रुपमा देखा परेको छ। ४० वर्ष अघिसम्म पश्चिमतर्फ रहेको नदीको बहाव अहिले गाउँको एकदमै नजिक पुगेको छ। नदीले गाउँलाई छुन १५ देखि ७ मिटरभन्दा कम छ। कटानलाई रोक्न कच्ची बाँध छ। त्यसभन्दा तल कटान रोक्न नदीको पूर्वपट्टी तटबन्ध निर्माण गरिएको छ। 

वर्षोदेखि स–सानो प्याकेजमा तटबन्ध निर्माण गरिएको छ। तत्कालीन जल उत्पन्न प्रकोप कार्यालय लगातयका निकायले स–सानो प्याकेजका नाममा खोरिया लागि लक्षित गरी ८ करोड बढी रकम खर्च गरि सकिएको तत्कालीन शिहोखोर गाबिसका अध्यक्ष तथा गाउँका अगुवा मानुल्लाह मुसलमानले बताए। ‘पटक पकट गरी ५ सय मिटर तटबन्ध निर्माण गरिसकिएको छ तर कटानको समस्या भने समाधान हुन सकेको छैन,’ उनले कटान भएको क्षेत्र देखाउँदै भने, ‘ठोस योजनासहित छिट्टै नदी नियन्त्रको काम गरिएन भने खोरिया गाउँलाई अब बचाउन मुस्किल छ।’ 

नदीले बहाव परिवर्तन गर्दै पूर्वतर्फ गएपछि ४० वर्षको अवधिमा २ हजार बिघा खेतीयोग्य जमिन पनि नदीले खाएको उनले बताए। नदीको बहाव बस्तीतर्फ च्याप्दै गएपछि गाउँलेहरु डराएका छन्। तटबन्ध नरहेको दक्षिणतर्फ नदीले धमाधम कटान गर्न थालेको छ। 

‘तटबन्ध नभएको ठाउँमा नदीले कटान गर्दै गाउँतिर धकेल्न थालेको छ,’ स्थानीय राम मिलन कोरीले भने, ‘चाँडै तटबन्ध निर्माण नगरिए नदी गाउँमा पस्नबाट अब कसैले रोक्न सक्दैन।’ ४ वर्षअघि नदी गाउँमा पसेर गाउँ नै डुबानमा परेको थियो।

प्रकाशित: १३ भाद्र २०७८ ११:१२ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App