भोटेकोसी र त्रिशूली नदीमा आएको विनाशकारी बाढीबाट ६ हजार ३२० विद्यार्थी प्रभावित भएका छन्। प्रभावितमध्ये २३० विद्यार्थी, १९ शिक्षक र एक कर्मचारी सम्पर्कविहीन रहेको शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले जनाएको छ।
प्रभावित विद्यार्थीको अवस्था पत्ता लगाउन विद्यालय, शिक्षा विकास तथा समन्वय एकाइ र स्थानीय तह जुटेका छन्। बाढीका कारण सडक, सञ्चार र अन्य भौतिक संरचनामा क्षति पुगेकाले विद्यार्थीको अवस्थाबारे पूर्ण विवरण संकलन गर्न कठिनाइ भइरहेको मन्त्रालयका प्रवक्ता श्रीप्रसाद भट्टराईले बताए।
मन्त्रालयका अनुसार बाढीबाट नुवाकोट, रसुवा र धादिङका गरी २३ विद्यालयमा क्षति पुगेको छ। मन्त्रालयले विद्यार्थीको अवस्था पत्ता लगाउन तीनवटा टोली प्रभावित क्षेत्रमा पठाउने तयारी गरेको छ। ती टोलीले द्रुत सर्वेक्षणमार्फत विद्यार्थीको अवस्था, विद्यालयमा भएको क्षति र शैक्षिक गतिविधिमा परेको असरबारे विवरण संकलन गर्नेछन्। ‘अहिले विद्यार्थीको अवस्था पत्ता लगाउने र खोजी गर्ने चरणमा छौं। विद्यालय, शिक्षा विकास तथा समन्वय एकाइ र स्थानीय तहबाट प्रभावित विद्यार्थी पहिचानको काम भइरहेको छ,’ प्रवक्ता भट्टराईले भने, ‘सञ्चार र सडक सम्पर्क टुटेकाले विवरण संकलनमा कठिनाइ भएको छ। अब मन्त्रालयबाटै टोली पठाएर द्रुत सर्वेक्षण गर्दैछौं।’
प्रभावित बालबालिकाको पहिचान, पुनःस्थापना, सुरक्षा र अध्ययनलगायत व्यवस्थापन चुनौतीपूर्ण छ। मन्त्रालयका अनुसार अहिलेको मुख्य प्राथमिकता प्रभावित विद्यार्थीको खोजी, पहिचान र सुरक्षा हो। प्रवक्ता भट्टराईले भने, ‘पहिले खोज्ने र बाँच्ने कुरा हुन्छ। त्यसपछि पढाइ हुन्छ।’
बाढीमा अभिभावक गुमाएका बालबालिकाको यकिन विवरण आएपछि उनीहरूको सामाजिक सुरक्षा, पुनःस्थापना, शिक्षादीक्षा र अन्य व्यवस्थापनका लागि योजना बनाइने मन्त्रालयले जनाएको छ। ‘हाल अभिभावक गुमाएका बालबालिकाको यकिन आकडा आएको छैन। अहिले मन्त्रालयमा बढीबाट प्रभावित विद्यार्थी ६ हजार ३२० भएको प्रारम्भिक विवरण आएको छ र उनीहरूको अवस्था नाजुक छ,’ भट्टराईले भने, ‘अभिभावक गुमाएका बालबालिकालाई पहिचानपछि सामाजिक सुरक्षासँगै नजिकैका विद्यालयमा अध्ययनको व्यवस्था मिलाउनेदेखि अन्य आवश्यक सहयोगका विषयमा स्थानीय तहसँग समन्वय गर्ने तयारीमा मन्त्रालय छ।’
बाढीग्रस्त क्षेत्रमा पठनपाठन पनि पूर्ण रुपमा प्रभावित भएको मन्त्रालयले जनाएको छ। विद्यालय र विद्यार्थी दुवै प्रभावित भएकाले तत्काल नियमित शैक्षिक गतिविधि सञ्चालन गर्न कठिनाइ भएको मन्त्रालयको भनाइ छ तर छुटेको पढाइ कसरी पूरा गर्ने भन्ने विषयमा पनि मन्त्रालयले गृहकार्य गरिरहेको छ। पाठ्यक्रम परिमार्जनसम्बन्धी कामसमेत अघि बढिरहेको प्रवक्ता भट्टराईले बताए।
उनका अनुसार बाढीका कारण शैक्षिक क्षेत्रमा परेको असरबारे मन्त्रालय जानकार छ। प्रभावित विद्यार्थीको सिकाइ निरन्तरताका लागि प्राविधिक तयारी भइरहे पनि केही समय लाग्ने मन्त्रालयका अधिकारी बताउँछन्।
प्रभावित विद्यार्थीको खोजी कार्य स्थानीय तह र विद्यालयस्तरबाट भइरहेको छ। शिक्षकहरूले विद्यार्थी र अभिभावकसँग सम्पर्क गर्ने, अवस्था बुझ्ने र आवश्यक समन्वयको काम गरिरहेका छन्। प्रभावित विद्यार्थीको यकिन विवरण संकलनपछि राहत, पठनपाठन निरन्तरता, विद्यालय सञ्चालनका लागि थप योजना बनाइने छ।
तत्कालका लागि बाढीबाट विद्यालयमा पुगेको भौतिक क्षतिभन्दा पनि प्रभावित विद्यार्थीको अवस्था यकिन चुनौतीपूर्ण बनेको छ।
बाढीको चपेटामा परेका विद्यार्थीले विद्यालय छाड्ने अवस्थासम्म आउन सक्ने नुवाकोटको त्रिशुलीस्थित बाढीले बगाएको त्रिभुवन त्रिशूली माविका प्रधानाध्यापक राजेन्द्र दवाडी बताउँछन्।
विद्यालय आएका एक हजार ६४३ विद्यार्थीलाई बाढीबाट जोगाएका उनले विद्यालय छाड्ने अवस्था आउन नदिन सबै सजग हुनुपर्ने बताए। ‘परिवारको आर्थिक अवस्था बिग्रिएपछि बालबालिका पढाइबाट बाहिरिन सक्छन्,’ उनले भने, ‘त्यसैले विद्यार्थीलाई विद्यालयमै टिकाइराख्न स्थानीय र संघीय सरकारले विशेष सहयोग गर्नुपर्छ।’
प्रकाशित: १७ भाद्र २०८३ ११:४१ बुधबार




-600x400.jpg)
