४ आश्विन २०८१ शुक्रबार
image/svg+xml
समाज

ट्रायल सेन्टर हुँदाहुँदै जुम्लाका सवारी चालक लाइसेन्सविहिन

जुम्लामा पाँच वर्ष अघिसम्म ट्रायल सेन्टर सञ्चालनमा थियो। यहाँका सवारीचालकले सवारीचालक अनुमति पत्र सहजै रुपमा पाउँथे। हरेक सवारी चालकसँग सवारी चालक अनुमति पत्र(लाइन्सेन्स) भेटिन्थ्यो। संघीयतापछि यहाँको ट्रायल सेन्टर कामविहिन बनेको छ। न यहाँ सवारी चालक अनुमति पत्रका लागि ट्रायल हुन्छ, नत यो बन्द नै गरिएको छ। अहिले कामविहिन छ।  

स्थानीय चालक खगेन्द्रप्रसाद खत्रीले भने, ‘ट्रायल सेन्टर प्रयोगमा नआउँदा लाइसेन्स पाइराखेका छैनौँ। लाइसेन्स नपाउँदा दर्जनौँपटक ट्राफिकको कार्बाही भोगिरहेका छौँ। यो कदापि राम्रो भएन।’ उनले छिट्टै ट्रायल सेन्टर प्रयोगमा ल्याएर लाइसेन्स वितरण गर्न माग गरे। नत्र जरिवाना तिर्दै सवारीचालक टाट पल्टिने सम्भावना बढ्यो।’

संघीयताले जुम्लामा रहेको यातायात व्यवस्था कार्यालय खारेज गरेपछि लाइसेन्स वितरण रोकिएको हो। जुम्लासहित साविक कर्णालीका अधिकांश चालक लाइसेन्सविहीन रहेको जिल्ला ट्राफिक कार्यालय जुम्लाका प्रहरी सहायक निरीक्षक विमलकुमार रावत बताउँछन्।  

सुर्खेत गएर लाइसेन्स बनाउन आर्थिक तथा भौगोलिक रूपले समस्या छ। उनले भने, ‘जुम्लाका सवारीचालक कमाइभन्दा बढी जरिवाना तिरेर सवारी चलाउनु परिरहेको छ। यो विडम्बना हो।’ पहिले सवारी लाइसेन्स लिन कर्णालीका पाँच लगायतका बाहिरका जिल्लाबाट जुम्ला आउँथे। अहिले जुम्लाका सवारी चालकले लाइसेन्स पाउने वातावरण छैन।  

जिल्ला ट्राफिक कार्यालय जुम्लाका अनुसार लाइसेन्सबिना सवारी चलाउने ३ सय १९ जना चालक कार्वाहीमा परेका छन्। उनले भने, ‘एक सवारी चालकलाई आवश्यक पर्ने कागजात नहुँदा कार्वाही गर्नुपर्ने हुन्छ। तर यहाँ ट्रायल सेन्टर हुँदाहँुदै पनि यो अवस्था आउनु दुःखद् हो।’  

गत आर्थिक वर्ष २०७७/०७८ को असार मसान्तसम्मको तथ्याङ्कअनुसार लाइसेन्सबिना नै सवारी चलाउने जुम्लाका तीन सय १९ जना चालक कारबाहीमा परेका हुन्।  

लाइसेन्सबिना नै सवारी चलाउनेमा सबैभन्दा बढी अटो चालक, त्यसपछि मोटरसाइकल र ट्याक्टर,जीप चालकहरू रहेका छन्।  

जुम्लामा सवारी कारबाहीबाट मात्र १३ लाख बढी राजश्व सङ्कलन भएको छ। जिल्ला ट्राफिक कार्यालय जुम्लाले गएको आर्थिक वर्षमा विभिन्न शीर्षकमार्फत् १३ लाख २२ हजार ५० रुपैयाँ राजश्व सङ्कलन भएको जनाएको छ।  

ट्राफिक कार्यालय जुम्लाका प्रहरी हवलदार कुशराज शाहीका अनुसार आर्थिक वर्ष २०७६/०७७ एक हजार १ सय १३ सवारी कारबाहीबाट १० लाख ४० हजार राजश्व सङ्कलन भएको थियो। आव २०७७/०७८ मा एक हजार ३ सय २८ सवारी कारबाहीबाट १३ लाख २२ हजार राजश्व सङ्कलन भएको छ।  

लाइसेन्सबिनै सवारी चलाउने चालकहरूको कारबाहीबाट ३ लाख २२ हजार जरिवाना असुली भएको छ। क्षमताभन्दा बढी यात्रु राख्ने २ सय ५९ सवारीलाई कारबाहीबाट २ लाख ५९ हजार जरिवानालगायत अन्य विभिन्न शीर्षकबाट गरी १३ लाख बढी राजस्व सङ्कलन भएको हबलदार कुशराज शाहीले बताउँछन्।

तथ्याङ्कले जुम्लामा सवारीको चापसँगै ट्राफिक नियम उल्लङ्घन पनि उत्तिकै बढेको प्रष्ट भएको देखिएको छ। गत आर्थिक वर्ष जुम्लामा २६ वटा सवारी दुर्घटना भएका छन्। जसमा ४ जनाको मृत्यु भएको छ।  १३ जना गम्भीर घाइते र ३७ जना सामान्य घाइते भएका छन्।

प्रकाशित: २४ श्रावण २०७८ १२:२२ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App