८ वैशाख २०८१ शनिबार
समाज

सिन्धुलीमा ३५ प्रतिशत मात्रै मुद्दा फर्स्योट

जिल्ला अदालत सिन्धुलीले आर्थिक वर्ष २०७७/७८ मा ३५.२८ प्रतिशत मात्रै मुद्दा फस्र्योट गरेको छ। ९ सय ५८ थानमध्ये ३ सय ३८ थान मात्रै मुद्दा फस्र्योट भएको जिल्ला अदालत सिन्धुलीका स्रेस्तेदार भरत दाहालले जानकारी दिए। उनका अनुसार ६ सय २० थान मुद्दा फस्र्योट हुन बाँकी छ। न्यायपालिकाको पञ्चवर्षीय योजनाअनुसार वार्षिक कार्ययोजनामा फैसला गर्नुपर्ने लक्ष्य ६ सय २६ रहेकोमा झन्डै आधा कम मुद्दा मात्रै फस्र्योट भएको जिल्ला अदालत सिन्धुलीले जनाएको छ।

‘हामीले ७० प्रतिशत मुद्दा फस्र्योट गर्नुपर्नेमा कोभिडका कारण सकेनाैँ,’ उनले भने। २०७६/७७ बाट जिम्मेवारीमा सरिआएका ३ सय ५८ ओटा मुद्दा र चारवटा रिट गरी ३ सय ६२ थान पुरानो र २०७८ असार मसान्तसम्म ५ सय ९३ थान मुद्दा र तीन थान रिट गरी ५ सय ९६ नयाँ मुद्दा थप भई जम्मा ९ सय ५८ थान लगत कायम हुन आएको जिल्ला न्यायाधीश महेन्द्रबहादुर कार्कीले जानकारी दिए। यसैगरी दुई वर्ष नाघेका मुद्दा ५५ थान रहेको र थुनुवा मुद्दा संख्या ८४ थान रहेको अदालतले जनाएको छ। बालबालिकाको पक्षमा २३ थान मुद्दा भएकोमा चार थान मात्रै फस्र्योट भएको र १९ थान बाँकी रहेको स्रेस्तेदार कार्कीले जानकारी दिए। यसैगरी महिला पीडित भएको मुद्दा २ सय ३९ थान रहेकोमा १ सय २ थान फस्र्योट भई १ सय ३७ थान बाँकी रहेको छ। यस्तै ज्येष्ठ नागरिक पक्षमा भएको मुद्दा १६ थान रहेकोमा सात थान फस्र्योट भएको र नौ थान बाँकी रहेको अदालतले जनाएको छ।

कोरोनाको समयमा समेत मुद्दा दर्ता भएको जानकारी स्रेस्तेदार दाहालले दिए। शून्य समयमा २८ वटा फैसला तथा मिलापत्र, अभियोग दर्ता ३८ वटा, थुनछेक ३४ वटा, म्याद थप पटकपटक गरी १ सय ९२ रहेको र पक्राउ पुर्जी तथा समर्थन ४६ ओटामा भएको अदालतले जनाएको छ। 

प्रकाशित: २१ श्रावण २०७८ ०४:२६ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App