coke-weather-ad
१२ वैशाख २०८१ बुधबार
image/svg+xml
समाज

नमूना युवा संसद् : सीमा समस्या समाधान गर्न माग

‘सङ्घीय नमूना युवा संसद्’मा नमूना सांसदले पनि छिमेकी मुलुकले जमीन अतिक्रमण गरेका बारे कुरा उठाएका छन् । नमूना युवा संसद्मा उनीहरुले छिमेकी मुलुकले सीमा अतिक्रमण गरिरहेको जनाउँदै समस्या समाधान गर्न सरकारको ध्यानाकर्षण गराए ।  

संसद्मा नमूना सांसद नवीना पाठकले छिमेकी मुलुक भारतले नेपालका विभिन्न ठाउँमा सीमा अतिक्रमण गरेको जनाउँदै कूटनीतिक तरिकाले समाधान गर्न माग गरे । अर्का नमूना सांसद चेतन भट्टराईले भारतसँग गरिएका असामान सन्धि खारेज गर्न माग गरे ।  

नमूना सांसदले उठाएका प्रश्नका जवाफमा नमूना प्रधानमन्त्री स्मृति बरालले सीमा अतिक्रमण र असमान सन्धिका विषयमा सरकारले कूटनीतिक प्रयासमार्फत समाधान गर्ने आश्वासन दिइन् । उनले लिम्पियाधुरा, लिपुलेक र कालापानी समेटिएको नक्शा गत वर्ष मात्र सरकारले सार्वजनिक गरेको र अब अतिक्रमण भएका क्षेत्रमा गई सीमा समस्या समाधान गरिने बताइन् ।  

नमूना गृहमन्त्री सुरेन्द्र गिरीले नेपालले आफ्नो एक इञ्च भूमि पनि अतिक्रमण गर्न नदिइने नमूना संसद्मा जानकारी गरारए ।  

यस्तै आज शून्य र विशेष समयमा उनीहरुले युवा स्वरोजगारमुखी कार्यक्रम ल्याउन माग गरेका हुन् । नमूना सांसद अमृता लम्सालले मुलुकमा रोजगारी नहुँदा लाखाैं युवा विदेश जानुपर्ने बाध्यता भएकाले मुलुकमा स्वरोजगारमुखी कार्यक्रम ल्याउन माग गरिन् । नमूना सांसद मनोज भण्डारीले दैनिक एक हजार ५०० युवा विदेश जान बाध्य भएकाले स्वदेशमा नै रोजगारी उपलब्ध गराउन माग गए ।  

नमूना सांसद मुना सुनारले युवतीमाथि बलात्कारका घटना दिनहुँ बढेकाले रोक्न माग गरिन् । अपराधीलाई कारबाही नगर्दा किशोरीमाथि बलात्कारका घटना बढिरहेको उनको भनाइ थियो  ।

नमूना सांसद खेमराज अवस्थीले मुलुकमा कोरोना भाइरसको महामारी बढेकाले रोकथाम र नियन्त्रण गर्न माग गए । उनले कोभिड–१९ का कारणले विद्यार्थीको पठनपाठन पनि हुन नसकेकाले सरकारले सबै शिक्षक र विद्यार्थीलाई खोप उपलब्ध गराउन आग्रह गरे ।  

नमूना सांसद जीवन आचार्यले कर्णाली प्रदेशका युवालाई सीप र  क्षमतानुसार सहुलियत दरमा ऋण उपलब्ध गराउन माग गरे ।  

नमूना युवा प्रधानमन्त्री बरालले सरकारले युवा स्वरोजगारीमुखी कार्यक्रम ल्याउन थालेको जानकारी दिइन् । उनले युवा सीप र क्षमताबाट दक्ष बनाएर करीब एक लाख युवालाई यस वर्ष स्वरोजगार बनाइने प्रतिबद्धता जनाइन् ।  

उनले स्थानीय, प्रदेश र सङ्घीय सरकारले युवालाई स्वरोजगार बनाउनका लागि छुट्टाछुट्टै बजेटसमेत विनियोजन गरेको बताइन् । नमूना प्रधानमन्त्री बरालले विदेश जाने युवालाई तालीम दिएर मात्र पठाइने जानकारी दिइन्।  

राष्ट्रिय युवा परिषद्ले युवालाई संसदीय गतिविधिका बारेमा सुसूचित गराई भर्चुअल माध्यमबाट १६ देखि २४ वर्ष उमेर समूहका युवाले ‘सङ्घीय नमूना युवा संसद्’ सञ्चालन गराएको हो ।  

सबै नागरिकलाई खोप माग

नमूना युवा संसद्मा खोप सबै नागरिकलाई लगाउन सांसद्ले माग गरेका छन् । कोभिड–१९ विरुद्धको खोपसम्बन्धी जरुरी सार्वजनिक प्रस्तावमाथि छलफल गर्दै नमूना सांसदले सबै नागरिकलाई खोप लगाए मात्र कोभिड–१९ बाट बचाउन सकिने धारणा राखे ।  

नमूना प्रधानमन्त्री बरालले आगामी तीन महिनाभित्र लक्षित सबैलाई खोप लगाइने बताइन् । उनले सरकारले विभिन्न मुलुकबाट सबै नागरिकलाई खोप लगाउनका लागि खोप खरीद प्रक्रिया गरिसकेको जनाउँदै अब नियमित रुपमा खोप आउने र सबै नागरिकले खोप लगाउन पाउने बताइन् ।  

नमूना स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री रुपा कठायतले चीन, अमेरिका र जापानबाट नियमित खोप आउने जानकारी दिइन् ।  

यही असार २८ गतेदेखि भएको नमूना युवा संसद् बैठकमा देशभरिका ८०  युवा सहभागी छन् । दुई दिनसम्म नेपालको संसदीय अभ्यास, व्यवस्थापिका संसद् सञ्चालन, संसदीय शब्दावली र लोकतन्त्रबारे प्रशिक्षित गराएर आज नमूना युवा संसद् सञ्चालनको अभ्यास गरेका हुन् ।  

आजको नमूना युवा संसद्मा राष्ट्रपतिका भूमिकामा  रुपन्देहीकी २२ वर्षीया प्रकृति पोखरेल, सभामुखमा सिन्धुपाल्चोकका अभिषेक तिवारी, उपसभामुखमा आरती भट्टराई, ज्येष्ठ सदस्यमा नवीन पहाडी र संसद्का प्रमुख प्रतिपक्ष दलका नेतामा रञ्जन पौडेल रहेका छन् ।  

संसद्मा उठेका प्रश्नको जवाफ आज सम्बन्धित मन्त्रीले दिएका छन् । संसद्मा कोभिड–१९ रोकथाम र नियन्त्रण, कोभिड–१९ विरुद्धको खोप, महिला हिंसा, विपद् व्यवस्थापन, सीमा अतिक्रमण, युवा स्वरोजगार जस्ता विषयमा छलफल भयो ।  

परिषद्का कार्यकारी उपाध्यक्ष माधवप्रसाद ढुङ्गेलले युवालाई संसदीय व्यवस्था, लोकतन्त्र, मुलुक सञ्चालन र नेतृत्व विकास गर्नका लागि नमूना युवा संसद् कार्यक्रम सञ्चालन गरिएको बताए । परिषद्ले युवालाई संविधान, लोकतान्त्रिक व्यवस्था, संसदीय व्यवस्थाबारे जानकारी दिनका लागि हरेक वर्ष नमूना युवा संसद् कार्यक्रम गर्दै आइरहेको छ ।

प्रकाशित: ३० असार २०७८ १२:३८ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App