३ जेष्ठ २०८१ बिहीबार
image/svg+xml
समाज

२० वर्ष नपुग्दै सुत्केरी

विहेवारी २० वर्ष पारी भनिन्छ । कानुनले पनि २० वर्ष अगावै बिहे गर्न वर्जित गरेको छ । उमेर नपुग्दै बिहे गरेका बेहुलाबेहुली, परिवारका सदस्यले कतिपय ठाउँमा कानुनी झन्झट पनि भोगेका छन् । तर गोरखाको अजिरकोट गाउँपालिकामा २० वर्ष नपुग्दै विवाह गरेर बच्चा जन्माउने क्रम रोकिएको छैन ।

गत साउन देखि जेठमसान्त सम्म २६ जना सुत्केरी भएको भच्चेक स्वास्थ्य चौकीमा ७ जना २० वर्ष मुनिका छन् । ‘१६ देखि २० वर्षका यो वर्ष मात्रै होईन गत वर्षमा पनि धेरै जना छन्’ स्वास्थ्यकर्मी प्रमिला दाहालले भनिन् । १६ वर्षका दुई जना, १७ वर्षका एकजना, १८ वर्षका तीनजना, १९ वर्षका एक जनाले बच्चा जन्माएको उनले बताईन । ‘स्वास्थ्य संस्था आएपछि हामीले उपचार सेवा दिएर पठाउँछौँ,’ उनले भनिन् ।

२०७५ मा ४० जना मध्ये १३ जना २० वर्ष भित्रै सुत्केरी भएका छन् ।  २०७६ मा स्वास्थ्य चौकीमा प्रसुती सेवा लिएका ४६ जना मध्ये १८ जना २० वर्ष उमेर भित्रका छन् । ‘यो अस्पतालमा सुत्केरी हुन आउनेको तथ्यांक हो’ अजिरकोट गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत शुरेश दवाडीले भने ‘घरमै सुत्केरी हुने क्रम धेरै कम भएपनि स्वास्थ्यमा समस्या नआउँदा सम्म स्वास्थ्य संस्था आउँदैनन् ।’ लामो समय भच्चेक स्वास्थ्य चौकीको इन्चार्जको रुपमा काम समेत गरेका उनले भने ‘यहाँ चेतनाको स्तर कम छ, कम उमेरमा बिहे हुने कारणले बच्चा पनि कम उमेरमै जन्माउने गरेको पाईन्छ ।’

कम उमेरमा बच्चा जन्माउनेमा दलित र जनजाती समुदायका महिला बढि छन् । ‘हामीले बालविवाह न्यूनिकरण गर्ने खालका कार्यक्रम संचालन गरेका छौँ’ अजिरकोट गाउँपालिका उपाध्यक्ष चन्द्रमाया गुरुङले भनिन्, ‘तरपनि रोक्न सकिएको छैन ।’ महिला जनप्रतिनिधि मार्फत पनि गाउँगाउँमा कम उमेरमा विहेवारी नगर्न परिवारका सदस्यलाई अनुरोध गर्ने, संचार माध्यमबाट जानकारी गराउने गरेको र अहिले केही न्यूनिकरण हुँदै गएको उनले बताईन ।

गाउँपालिकाले स्वास्थ्य संस्थामा सुत्केरी हुन आउनेलाई ‘माईतीको कोसेली’ दिने गरेको छ । यातायात खर्च दुईहजार, प्रोत्साहन रकम आठसय सहित चारपटक गर्भजाँच गराउनेलाई करिब चारहजार रुपैयाँ बरावरको कोसेली दिने गरिएको उपाध्यक्ष चन्द्रा गुरुङले बताईन । कोसेलीमा एकसय ५० वटा अण्डा, चना, सरसफाईका लागि सामान, साबुन, ढाकाको पछ्यौरा दिईन्छ । सिजन अनुसार सागसब्जीको बिउ पनि दिने गरिएको र गर्भावस्था र सुत्केरी अवस्थामा हरियो सागसब्जी आफैँ लगाएर खान प्रोत्साहन गर्ने गरिएको उपाध्यक्ष गुरुङले बताईन ।  

स्वास्थ्य संस्थामा सुत्केरी गराउन वा  गर्भ जाँच गराउन आउँदा उनीहरुलाई स्वास्थ्यकर्मीले २० वर्ष उमेर नपुग्दासम्म बिहे गर्न नहुने र बच्चा जन्माउन नहुने भन्ने सिकाउने समय नै नहुने स्वास्थ्य शाखा प्रमुख दवाडी बताउँछन् । ‘कम उमेरमा बच्चा जन्माउँदा धेरैले बच्चा जन्माउन नसक्ने, आमा र बच्चाको स्वास्थ्य तन्दुरुस्ती नहुने खतरा हुन्छ’ दवाडीले भने । पोषण तत्वको अभावमा शिशु र कम उमेरमा सुत्केरी हुँदा आमाको स्वास्थ्यमा पनि दीर्घकालीन रोग देखिन सक्ने उनले बताए । 

प्रकाशित: १० असार २०७८ १२:०५ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App