८ वैशाख २०८१ शनिबार
समाज

प्रअको हत्या गरी म्याग्दी नदीमा बगाइएको आशंका

बेनी नगरपालिका–५,बगुवाखोलास्थित बालजागृति आधारभूत विद्यालयका प्रअ भक्तबहादुर कार्की तीनदिनदेखि सम्पर्कविहिन भएका छन्।

आइतबार विहान ९ बजे विद्यलायबाट पश्चिमतर्फ करिब डेढसय मिटर आसपासमा म्याग्दी नदीमा लुगा, मोबाइलका साथै घटनास्थल आसपासमा रगतको थोपा भेटिएपछि हत्याको आशंका गरिएको छ। आइतबार विहानै घरबाट विद्यालयमा आएका प्रअ कार्की रातीसम्म घर नफर्किएपछि परिवारले खोजी कार्य गर्दा सोमबार विहान विद्यालय नजिकै म्याग्दी नदीमा लुगा, मोवाइलका साथै घटनास्थल आसपासमा रगतको थोपा भेटिएपछि हत्याको आशंका गरी अनुसन्धानमा जुटेको प्रहरीले एक यूवालाई कुस्माबाट नियन्त्रणमा लिएर अनुसन्धान सुरू गरेको छ। 

गाउँमा हत्यामा संलग्न भएको आशंका गरिएका युवा भाग्दै गरेको अवस्थामा कुस्माबाट नियन्त्रणमा लिएर अनुसन्धानको क्रममा कुटपिटमा संलग्न भएको अपुरो बयान दिएपछि थप प्रमाण जुटाउन विभिन्न मोडबाट अनुसन्धानलाई अगाडी बढाएको प्रहरीले जनाएको छ।

स्रोतका अनुसार प्रारम्भिक अनुसन्धानले आइतबार विहान साढे ८ देखि ९ बजेसम्मको बिचमा घटना घटेको देखिन्छ। बेपत्ता प्रअ कार्कीसँग निरन्तर झगडा गर्ने, लागूपर्दाथ सेवनकर्तासमेत रहेका आरोपीले बेपत्ता हुनुभन्दा केहीघण्टा अगाडिसमेत विवाद गरेको देखिएकाले विद्यालयको बैद्धिक अपाङ् बसोबास गर्ने आवास हुदै र्पैदलमार्गबाट जाँदै गर्दा बाटोमा प्रहार गरेको घटनामा संलग्न रहेका आरोपीले स्वीकार गरेको प्रनाउ श्यामकुमार राईले बताए। ‘अनुसन्धानमै जुटेका छौ, धेरै प्रमाणहरु जुटिसकेको छ’ प्रनाउ राईले भने।

विद्यालय नजिकै भएको साङ्घातिक आक्रमण पश्चात् हत्या गरी शवलाई म्याग्दी नदीमा फालेर बगाइएको घटनास्थलको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ। घटनामा संलग्न युवा लामो समयसम्म मलेसियामा बसेर फर्किएपछि भारतमा गएका थिए। बेनी–दरबाङ सडकखण्ड नजिकै रहेको घटनास्थलदेखि म्याग्दी नदीसम्म रगत देखिए पनि हत्यामा संलग्नले आत्महत्याको रुपमा देखाउने प्रयास समेत गरेको देखिन्छ।

घटनास्थलको अवलोकन गर्दा रगतको टाटा मात्रै भेटिएकाले अन्य ठाउँमा हत्या गरी उक्त स्थानमा ल्याएर फालेको हुनसक्ने तर्फ समेत अनुसन्धान मोडिएको छ। बेपत्ता कार्कीको म्याग्दी नदीको नजिक मोवाइल भेटिएको छ। उक्त मोवाइलले समेत प्रहरीलाई अनुसन्धानमा सघाएको छ।  

बेपत्ता भएपछि फोन गरिएको डिटेलसहित उक्त घटना घटाइएको ठाउँको मोबाइल लोकेसन समेत पत्ता लगाउन सहज हुने छ। प्रहरीले मोवाइलको लोकेसनकै आधारमा समेत हत्या भएको स्थानको तथ्यले पत्ता लगाउने र मोबाइलमा कुराकानीका आधारमा नम्बरबाट लोकेसन हेरिरहेको प्रहरीको भनाइ छ। सदरमुकाम बेनीबजारबाट करिब ३ किलोमिटरमा रहेको विद्यालयमा भएको घटना लगत्तै नदीमा बगाइएकाले खोजीकार्यका लागि गोताखोरको टोली समेत झिकाउन समेत स्थानीयले माग गरेका छन्।

पेशागत संघसंस्थाले अपराधी सार्वजनिक गर्न माग

नेपाल राष्ट्रिय शिक्षक संगठनका पुर्व अध्यक्ष भक्त कार्कीको हत्यामा संलग्नलाई कडा कारवाही गर्न पेशागत संघसंस्थाले माग गरेका छन्। नेपाल शिक्षक महासंघ म्याग्दीका अध्यक्ष जयराम सुबेदी, नेपाल राष्ट्रिय शिक्षक संगठनका अध्यक्ष लेकबहादुर हमाल, नेपाल शिक्षक संघका अध्यक्ष नगेन्द्र खत्री र एकिकृत नेपाल शिक्षक संगठनका अध्यक्ष होमनाथ पाण्डेले प्रजिअ गणेशबहादुर अधिकारीलाई ज्ञापनपत्र बुझाउँदै जुनसुकै कारणले घटना घटाइएको भएपनि निस्पक्ष रुपमा अनुसन्धान गर्न माग गरिएको छ ।  

त्यस्तै  म्याग्दीका साहित्यिक संस्थाले समेत शैक्षिक एवम् सामाजिक अभियन्ता भक्त कार्कीको हत्याले समाजले एक असल व्यक्तित्व गुमाएको भन्दै हत्याकाण्डको यथाशीघ्र अनुसन्धान र छानविन गरी दोषीलाई कानूनी कारवाहीको दायरामा ल्याउन प्रहरी प्रशासन समक्ष माग गरिएको छ।

म्याग्दी साहित्यिक समाजका अध्यक्ष धुब्रलाल शर्मा, पुलस्त्य साहित्य प्रतिष्ठानका सचिव अजयमिलन श्रेष्ठ र सूर्यनारायण पुरस्कार संस्थाका अध्यक्ष कृष्ण बानियाँद्धारा जारी विज्ञत्तीमा शैक्षिक एवम् सामाजिक क्षेत्रले अपुरणीय क्षति व्यहोरेको यस दुःखदायी परिस्थितिमा दोषीको पहिचानसँग बेपत्ता कार्कीको खोजीमा समेत सक्रिय हुन अपिल गरिएको छ।

प्रकाशित: ८ असार २०७८ १३:०५ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App