लागुऔषधसहित पक्राउ परेका विराटनगरका एक जना युवाले आफ्नै घरमा आत्महत्या गरेका छन् । विराटनगर महानगरपालिका–१३ का २८ वर्षीय वीरनारायण यादवले घरको पंखामा झुण्डिएर आत्महत्या गरेको मोरङ प्रहरीका प्रवक्ता डिएसपी मानबहादुर राईले जानकारी दिए । यादव लागुऔषध मुद्दाका अभियुक्तले हुन् भने पक्राउपछि गरिएको पिसिआर परीक्षणबाट कोरोना पोजेटिभ देखिएपछि घर परिवारलाई जिम्मा दिइएको प्रहरीले जनाएको छ ।
भारतबाट लागुऔषध लिएर आउँदै गर्दा गत वैशाख २७ गते राति पक्राउ परेका र उनको साथबाट लागुऔषध स्पास्कोर भोन–प्लस ४८ चक्की, नाइट्राभेट ५८ चक्की र डाइलेक्स डिसी १० बोतल फेला परेको डिएसपी राईले जानकारी दिए । अदालतबाट म्याद थप गरी मुद्दाको अनुसन्धानका क्रममा कोरोना पुष्टि भएसँगै यादवलाई अदालतको आदेश अनुसार प्रहरीले जेठ ८ गते परिवारका सदस्यको जिम्मा दिएको जनाएको छ ।
होम आइसोलेसनमा राख्ने र संक्रमणमुक्त भएपछि प्रहरीमा उपस्थित गराउने शर्तमा परिवारले जिम्मा बुझेर यादवलाई लगेको बताउँदै, डिएसपी राईले भने, ‘घरको कोठाभित्र रहेको पंखामा झुण्डिएको अवस्थामा देखेपछि परिवारका सदस्यले डोरी काटेर उनलाई कोसी अस्पताल ल्याइएको र ल्याउनसाथ चिकित्सकले मृत घोषित गरेका थिए ।’
यादव हालसम्म संक्रमणमुक्त भएको कुनै जानकारी वा प्रमाण प्रहरीलाई प्राप्त नभएको जनाएको छ ।
प्रकाशित: ७ असार २०७८ ०९:१६ सोमबार




-600x400.jpg)
